images

सोमवार, बैशाख २४ गते २०८१

वर्षेनी रासायनिक मलको अभाव झेल्दै किसान

वर्षेनी रासायनिक मलको अभाव झेल्दै किसान

सरकारले व्यवस्थापन गर्दैन, जसोतसो ल्याए प्रहरीले समात्छ : किसान

images
images
images
आइतवार, भाद्र ७ २०७७
आइतवार, भाद्र ७ २०७७
  • वर्षेनी रासायनिक मलको अभाव झेल्दै किसान

    भैरहवा, ७ भदौ । धान रोपाइँको समयमा होस् या धान पसाउने बेला वर्षेनी रासायनिक मलको अभाव हुने गरेको छ । प्रत्येक वर्ष रसायनिक मल अभावको समस्या झेलिरहेका किसानहरुको लागि यो वर्ष पनि समस्या हुनु कुनै नौलो कुरा भएन । सरकारले समयमा किसानहरुलाई युरिया र डिएपी मल उपलब्ध गराउन नसक्दा धान रोप्ने बेला समस्या झेलेका किसानले धान पसाउने बेलामा पनि मल राख्न पाएनन् । विगतका वर्षमा सहज अवस्था हँुदा त मलको समस्या झेलेका किसानलाई यस वर्ष कोभिड–१९ का कारण सरकारले जारी गरेको लकडाउनले झनै समस्या थपिदिएको किसानहरुको गुनासो छ ।

    images
    images
    images

    कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणको लागि भन्दै सरकारले गत चैत ११ गतेदेखि देशव्यापी बन्दाबन्दी (लकडाउन) घोषणा गरेको थियो । जसका कारण चैत्र ११ पछि मुलुक नै ठप्प भएको थियो । अहिले पनि विभिन्न जिल्लामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासन र पालिकाहरुले लकडाउन गरेका छन् । विगतका वर्षझै यो वर्ष रोपाइँको बेला मलको अभाव भयो । तर विगतका वर्षझैं किसानले भारतबाट मल ल्याउन पाएनन् । सीमा नाकामा आवातजावतमा कडाइ हुँदा सहज रुपमा मल ल्याउने अवस्था नै नरहेको किसानहरुको भनाइ छ । किसानहरुले समयमा मल नपाउँदा धान रोप्दा जस्तै धान पसाउने बेलामा पनि मल नपाएर समस्या भोग्नु परेको बताउछन् ।

    IMG_6417.JPG

    सरकारले प्रयाप्त मल उपलब्ध नगराएर आफ्नै तरिकाले जोहो गर्ने किसानलाई प्रहरीले दुःख दिने गर्दा किसानहरु ठुलो झमेलामा परेको बताउँछन् । यसका केही दृष्टान्तहरु यस्ता छन् । यही भदौ ४ गते रुपन्देहीको रोहिणी गाउँपालिका–७ अमुवाबाट प्रहरीले ७६ बोरा बरामद गरी भैरहवा भन्सार कार्यालय पठायो । प्रहरीले मल बरामद गरेपछि लकडाउनको समयमा मलको अभावका कारण मल बिना नै रोपाइँ गर्न बाध्य किसानहरुले धान पसाउने बेलामा पनि मल राख्न नपाएको भन्दै आक्रोशित भए । भन्सार बिना भारतबाट मालसामान आयात गर्न नपाउने कानूनी प्रावधान भए पनि उनीहरु भने सरकारले मल उपलब्ध गराउन नसक्दा रहरले नभइ बाध्यताले भारतबाट रासायनिक मल भित्र्याएको बताउँछन् । 

    सरकारले समयमै मल उपलब्ध गराउन नसक्दा किसान मर्कामा परेका छन, झन पारीबाट ल्याउँदा बरामद गरेर भन्सार पठाइन्छ भने, ‘अब किसानले खेती कसरी गर्ने, राष्ट्रिय कृषक महासंघका केन्द्रीय अध्यक्ष समेत रहेका ओमसतियाका अगुवा किसान देव धवल प्रश्न गर्छन, के अब किसानले खेती नै नगर्ने ? सरकारले मलको उचित व्यवस्थापन गर्न नसक्दा युरिया र डीएपीको मल उपलब्ध हुन नसकेको बताउदै उनले यसकै कारण धान उत्पादनमा ह्रास आउने उल्लेख गरे । ‘एकातिर सिंचाईको समस्या छ, यो वर्ष त झन लकडाउनका कारण समयमै बीउ पाइएन, धेरै क्षेत्रफलमा खेती हुने स्थानमा मजदूर पाइएन, त्यसमाथि भारतबाट सहज रुपमा किसानले मल ल्याउन सकेनन्, अन्नको उत्पादन गर्ने किसानप्रति सरकार किन यति गैरजिम्मेवार छ, धवलले खबरपात्रोसंग भने ।  एउटै मान्छेले मल थुपारेको नभइ धेरै किसानका लागि आवश्यक पर्ने मलका लागि सीमा नजिक रहेका बासिन्दाले सहजीकरण गरिदिएको उनले बताए ।

    यस वर्ष समयमै पानी परेको र मानिसहरु घरमै रहेकोले खेती गर्न केही सहजता भए पनि मलको अभावले भने किसान मर्कामा परेको उनको भनाइ छ । सरकारले समस्या समाधानका लागि किसानले ल्याएको मल भन्सार पठाउनु भन्दा दीर्घकालिन उपायको खोजी गर्नुपर्ने र सहज रुपमा मल उपलब्ध गराउनुपर्ने उनको माग छ ।

    त्यस्तै जनता समाजवादी पार्टी नेपाल (जसपा)का केन्द्रीय सदस्य रहेका ओमसतियाका किसान देवेन्द्र पाण्डे ‘सागर’ पनि सरकारले रासायिनक मलको उचित व्यवस्थापन गर्न नसकेको बताउँछन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन, सक्छौ अनुदानसहितको समयमा सस्तो मल देउ, पानी देउ, बिउ देउ, विषादी र उन्नत कृषि औजार देउ । मलाई.....पानीजहाज, रेलमार्ग र ग्यास पाईपको नि खांचो छ, तर हाल सबै दिन नसकेनी चोरी–लुकी, गाली–बेइज्जती र अपमान सहेर ल्याएको युरिया नलुट, यो नेपाली माटो, मेरो पसिना र त्यो युरिया मिसिन देउ, तिमीले सोचेको भन्दा हाम्रो, राम्रो र समृद्ध नेपाल हामी दिन्छौं ।
    साढे ३ विगाह क्षेत्रफलमा धानखेती गर्दैै आएका रुपन्देहीको ओमसतिया गाउँपालिका–५ का कृषक पशुपति यादव पनि समयमै मल नपाएकोमा निराश छन् । उनले वर्षेनी मलको अभाव झेल्नुपरेका किसानलाई यस वर्ष लकडाउनले झनै समस्या थपिदिएको बताए ।

    received_2777193595943351.jpeg

    ‘कृषिप्रधान देशमा धानखेती गर्ने बेला मलको अभाव भइरहन्छ, कुनै पनि सरकार कृषकप्रति जिम्मेवार भएको देखिएन, यो त ‘जुन जोगी आए पनि कानै चिरेका जस्तै भयो,’ उनले भने । अझै पनि कतिपय किसानहरुले धानमा मल राख्न नपाएकोले धान उत्पादन घट्ने चिन्ता रहेको बताए । ‘स्थानीय प्रहरी र प्रशासनले किसानको समस्या बुझ्नुपर्छ, तर यहाँ त किसानलाई नै मर्कामा पारिन्छ, कृषि पेशातर्फ प्रोत्साहन गर्नुपर्ने ठाउँमा निरुत्साहित पार्ने काम भएको छ, उनले भने ।’

    रोहिणी गाउँपालिका–३ परासीझुंगाका कृषक रामअचल गौड पनि समयमै मल उपलब्ध नहुँदा धानखेती गर्न समस्या भएको बताए । मल बिना नै धान खेती गरेपनि धान पसाउने बेला सम्म पनि मल राख्न नपाएको गुनासो उनको छ । उनले किसानको मर्काको बारेमा शब्दमा भन्न नसकिने बताए ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक खड्क बहादुर खत्रीले अधिक नाफा कमाउने उद्देश्यले स्टोर गरेर राख्ने व्यापारीको मल मात्र बरामद गरिएको बताए । उनले वास्तविक किसानले साइकलमा राखेर ल्याएको २÷४ बोरा मल बरामद नगरिएको बताए । ‘सूचनाका आधारमा ठुलो परिमाणमा भित्रिएको मललाई मात्रै हामीले बरामद गरी भन्सार पठाएका छौं, उनले भने बास्तविक किसानलाई प्रहरीले दुःख दिएको छैन् ।’

    कृषि सामाग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय भैरहवाका सहायक प्रबन्धक तथा सूचना अधिकारी गणेश प्रसाद घिमिरेले यस वर्ष लकडाउनको कारण समयमा मल आयात हुन नसकेको बताए । उनले डिएपी मल समयमा आए पनि युरिया भने आउन नसकेको बताए । समयमै मल आउन नसक्दा धानखेतीमा कठिनाइ भएको उनको भनाइ छ ।

     

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij