
बिहिवार , जेठ २०, २०७८
भैरहवा, २० जेठ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा कार्यरत ९ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई बिहीबार सम्मान तथा बिदाइ गरिएको छ । कार्यविधिले तोकेको मापदण्ड अनुसार ९ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मानपत्र र दोसल्लाले सम्मान तथा बिदाइ गरिएको हो ।
वडा नम्बर ८ की इश्वरा देवी नापित र चन्द्रकला खनाल, ९ की लक्ष्मीदेवी पाण्डे, २ की इन्दिरादेवी क्षेत्री, ७ की विन्दीकुमारी जैसी, ६ की सुमित्रा दास, ३ की सहिबुन निशा र घनदेवी ढकाल र वडा नम्बर १३ की शिवा श्रेष्ठलाई नगरपालिकाले सम्मान तथा बिदाइ गरेको हो । २०५२ सालदेखि निरन्तर स्वास्थ्य क्षेत्रमा निस्वार्थ भावनाले २५ वर्षसम्म सेवा गरेका स्वयंसेविकाहरुलाई सेवाबाट विदा गरिएको हो ।
नगरप्रमुख हरि प्रसाद अधिकारीले स्वास्थ्य स्वयंसेविकाले पुर्याएको योगदानको चर्चा गरेका थिए । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले स्वयंसेविकाको भूमिका र कर्तव्यका बारेमा चर्चा गरेका थिए ।
कार्यक्रममा नगरपालिकाका सामाजिक विकास समिति संयोजक तथा वडा नम्बर ५ का अध्यक्ष चेत बहादुर क्षेत्री, नगरका स्वयंसेविका संघका अध्यक्ष लक्ष्मीदेवी पाण्डे, इन्दिरादेवी क्षेत्रीले लगायतले बोलेका थिए ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पिताम्बर पाठकको स्वागत मन्तव्य तथा सूचना अधिकृत देव ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
यसैबीच स्वयंसेविकाहरुलाई परिचयपत्र प्रदान गर्ने तथा काममा सहयोग गरेको भन्दै स्वयंसेविका संघले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनी र सामाजिक विकास समिति संयोजक चेत बहादुर क्षेत्रीलाई मायाको चिनो प्रदान गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij