
बिहिवार , जेठ २०, २०७८
विकास गौतम
देवदह, २० जेठ ।
देवदह नगरपालिकाको वडा नम्बर ७, ८ र ९ मा पर्ने (सरन खोला र दाउन्ने खोला) मिलेर बग्ने घोडाहा खोलमा अवैध रुपमा नदी दोहन भइरहेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कोरोनाको कारण जारी गरेको बन्दाबन्दी (निषेधाज्ञा) को मौका छोपी देवदह नगरपालिकामा पर्ने खोलाहरुमा अवैध दोहन बढेको हो ।
नगरपालिकाले आम्दानीको नाममा नदीजन्य पदार्थको ठेक्का दिए पनि अनुगमन हुन नसक्दा मापदण्डविपरीत नदीको दोहन बढेको छ । निषेधाज्ञाको बेला मानिसहरुको चहलपहल कम भएको र स्थानीय प्रशासनको ध्यान पनि कोरोना रोकथाम तथा नियन्त्रणमा केन्द्रित भइरहेको मौकामा ठेकदारहरुले सरन र दाउन्ने खोलामा अचाक्ली दोहन गरेका हुन् ।
निषेधाज्ञाको समयमा जनप्रतिनिधि समेतको संलग्नतामा नदीजन्य पदार्थको चरम दोहन भइरहेको स्थानीयले बताएका छन् । देवदह नगरपालिकाले संचालन गरेको राष्ट्रिय परियोजनाको नाममा उनीहरुले जथाभावी नदी दोहन गरेका हुन् । यसरी जथाभावी रुपमा नदीको दोहन गरिएपछि यति बेला खोलामा जताततै ठुल्ठूला खाल्डैखाल्डा परेका छन् ।
नगरपालिकाको ठेक्का सम्झौता भन्दा बाहिर अवैध रुपमा नदी दोहन भइरहदा पनि स्थानीय सरकार रमिते बनेको छ । जसका कारण ठेकेदारहरुको मनपरी झनै बढेको छ । निषेधाज्ञाको समयमा पनि अवैध तवरबाट अन्धाधुन्ध रुपमा नदी दोहन भइरहदा स्थानीय सरकार र सरोकारवाला निकायले दोहनको अनुगमन तथा कारवाहीमा वेवास्ता गरेको उनीहरुको आरोप छ ।
प्राकृतिक सम्पदा र नदीजन्य पदार्थमा यसरी अन्धाधुन्ध उत्खनन् हुनमा नगरपालिकाकै कमजोरी रहेको उनीहरुको टिप्पणी छ । नगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षको टोलीले बुधवार खोला अनुगमन गर्दा स्थानीयले खोलामा मनपरी उत्खनन् र नगर क्षेत्रका विभिन्न ठाउमा जथाभावी डम्पिङ हुँदा समस्या भएको गुनासो पोखेका थिए । तर बिहीवार पनि मनपरी दोहन रोकिएको छैन । नगरपालिकाका जनप्रतिनिधि समेतको नदी दोहनमा संलग्नता रहेकोले घोडाहा खोला ठेकेदारका लागि राम्रो कमाइ खाने थलो वनेको छ ।
देवदह नगरपालिकामा हाल ६ वटा ठेक्कामार्फत निकासीको काम भइरहेको छ । नगरपालिकाका इञ्जिनिएर रवि पाण्डेका अनुसार नगरभित्र हाल चरङ्गे बीच खोला, चरङ्गे ठाडो खोला, रोहिणी खोला, भलुही खोला, सरन खोला र दाउन्ने खोलामा गरी ६ वटा खोलामा ठेक्कामार्फत निकासीको काम भइरहेको छ । तर नगरभित्र चालु अवस्थामा रहेका ठेक्कामा खोलाका स्थानीय प्रतिनिधि एवं प्राविधिकको उल्लेख्य अनुगमन भएको छैन् ।
राष्ट्रिय गौरवको आयोजनाका नाममा विभिन्न ठाउँमा अन्धाधुन्धा डम्पिङ्ग भएका छन् । कारोनालाई कारण देखाउँदै नगरका प्राविधिकहरु निरीक्षण तथा अनुगमन गर्न हिडेका छैनन् जसका कारण अचाक्ली रुपमा नदीको दोहन र खेतीयोग्य जमिनमा अवैध डम्पिङ्ग भएको इञ्जिनियर पाण्डेले स्वीकारेका छन् । उनले ठेक्का सम्झौता अनुसार उत्खनन् पुगेको भए आफूहरु ठेक्का बन्द गर्ने तयारीमा रहेको बताए । नगरपालिकाद्वारा हालसम्म राष्ट्रिय गौरवको परियोजनका लागि कति मात्रामा उत्खन्न भयो भन्ने रेकर्ड समेत छैन् । नगरपालिकाका प्राविधिक लगायत कसैको पनि उपस्थिति खोलामा देखिदैन । फरकफरक नाकाबाट टिप्परहरु कुदिरहेका छन्, रेकर्ड कसरी राख्नु भएको छ भनी सोध्दा उनी भन्छन ‘कति घनमिटर नदीजन्य पदार्थको निकासी भयो भन्ने एकिन विवरण राखिएको छैन् ।
नगरपालिकाले राजस्व उठाउनको लागि सीमित दिनको समय सीमा दिएर करोडौको ठेक्का आह्वान गर्ने र सोही कारण ठेकेदारले कम समयमा आफ्नो लगानी उठाउनको लागि अन्धाधुन्ध उत्खनन् गर्ने गरेको स्थानीय केशव अर्यालले बताए । उनका अनुसार नगरपालिकाले छोटो समयको लागि करोडौ मुल्यमा ठेक्का खुलाउँछ ।
नगरपालिकाले नदीजन्य पदार्थ निकासीको कार्यविधि तथा ऐन निर्माण गर्ने क्रममा राम्रोसंग नबनाई कसरी कार्यविधि मिचेर कार्य गर्न सकिन्छ भनेर चरहरु राखिएको स्थानीय संचारकर्मी केशव पराजुली बताउँछन् । उनले अवैध उत्खनन रोक्नको लागि नगरपालिकाले नदी क्षेत्र भित्रबाट नै कति घनफिट निकासी गर्ने हो त्यसको एकिन गरेर मात्र निकासी गर्नुपर्ने बताए ।
नगरपालिकाले वैशाख २८ गतेदेखि ठेक्का सम्झौता गरी निकासी खुल्ला गरेको हो । कोरोना महामारीको दोस्रो लहरको कारण केही दिन निकासीको काम बन्द गरे पनि पुनः सुचारु गरेको थियो । नगरले राष्ट्रिय गौरवको आयोजनाको नाममा समेत निकासी संचालन गरेपछि हाल घोडाहा खोलाबाट मात्रै ४ दर्जन भन्दा बढी टिप्परले दैनिक ६ देखि ७ टिपसम्म बोक्ने गरेको पाइएको छ ।
जेठ १९ गते बुधबार नगरस्तरीय प्राकृतिक स्रोत अनुगमन समितिले गरेको अनुगमनको क्रममा देवदह नगरपालिकाले नदीजन्य पदार्थको व्यवस्थित रुपमा निकासी गर्न नसकिएको स्थानीयले गुनासो गरेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij