२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

पार्टी एकताको लागि अन्तिमसम्म प्रयत्न गर्ने खनाल-नेपाल समूहको निर्णय

आइतवार , जेठ २३, २०७८

काठमाडौं, २३ जेठ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेताद्वय नेपाल-खनाल समूहले पार्टी एकताका लागि अध्यक्ष ओली पक्षबाट ईमान्दारीपूर्वक प्रयत्न नभएकोले एकताका अनेक प्रयासहरु असफल भएको आरोप लगाएका छन्।  प्रधानमन्त्री एवं पार्टी अध्यक्ष खड्गप्रसाद शर्मा ओली पक्षले एकताका लागि इमान्दारीपूर्वक प्रयत्न नगरेको भन्दै आफुहरु भने पार्टी नफुटोस् भनेर अन्तिमसम्म प्रयत्न गर्ने निर्णय गरेको सो समूहले जनाएको छ ।

शनिबार काठमाडौंमा बसेको उक्त समूहको भर्चुअल बैठकले अध्यक्ष ओली पक्ष वार्ता भाँड्ने काममा मात्र तल्लिन रहेको समेत आरोप लगाउदै पार्टी एकताका लागि वार्ता र संवादलाई विभिन्न कोणबाट अगाडि बढाउने निर्णय गरेको बैठकमा सहभागि एक नेताले बताए ।

बैठकले संविधान संशोधनका लागि कार्यदल बनाउने सरकारको निर्णय तथा चुरेका ढुंगा, गिट्टी र बालुवा निकासी गरिने विषयप्रति आपत्ति जनाउँदै कोरोना संक्रमितको उपचारमा गम्भीर भएर लाग्न सरकारको ध्यानाकर्षण गराएको छ । 

बैठकले राष्ट्रियताका सन्दर्भमा नवनियुक्त उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्दै सोबारे तत्काल प्रधानमन्त्रीको धारणा समेत माग गरिएको नेता सुरेन्द्र पाण्डेले बताए ।  नेता पाण्डेका अनुसार बैठकमा सहभागिहरुले वर्तमान कामचलाउ सरकार टिकाउन गरिएको मन्त्रीमण्डल हेरफेर सान्दर्भिक नरहेको टिप्पणी समेत गरेका थिए । प्रम ओली सत्तामा टिकिरहने दाउमा खोजीरहने नेता भएको उनिहरुको आरोप थियो ।