
प्रदर्शनकारी र प्रहरीबीच झडप
आइतवार , जेठ २३, २०७८
सैनामैना, २३ जेठ । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री राजेन्द्र महतोले संविधान विरोधी अभिव्यक्ति दिएको भन्दै रुपन्देहीको सैनामैनामा प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री राजेन्द्र महतोको पुत्ला जलाइएको छ । सैनामैना नगरपालिका वडा नम्बर ४ मुर्गियास्थित पुर्व पश्चिम सडकखण्डमा नेकपा (माओवादी केन्द्र) निकट योंग कम्युनिष्ट लिग (वाइसीएल) सैनामैना नगरसमितिले आइतबार विरोध प्रदर्शन गर्दै ओली र महतोको पुत्ला जलाएका हुन् ।
प्रधानमन्त्री ओलीले एकपछि अर्को राष्ट्रघाती काम गर्दै गएको तथा उपप्रधानमन्त्री महतोले बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने अभिव्यक्ति दिएका कारण उनीहरुको पुत्ला जलाइएकोे वाइसीएल सैनामैना नगरसमितिका अध्यक्ष गोविन्द खरेलले जानकारी दिए ।
प्रधानमन्त्री ओलीको असंवैधानिक कदमको विरोध गर्दै आन्दोलन गर्दै जाने उनको भनाइ छ । पुत्ला जलाउनु अघि प्रदर्शनकारीले सरकारविरुद्ध नाराबाजी गरेका थिए ।
प्रदर्शनमा माओवादी केन्द्र रुपन्देही जिल्ला सचिवालय सदस्य भोला बस्याल, माओवादी केन्द्र जिल्ला सदस्य दिपक भण्डारी, तेजेन्द्र सुवेदी, सैनामैना नगर सचिवालय सदस्य दिपक अधिकारी, सदस्यहरु दिपक पछाई, युवा नेता दिपक सुनार तथा वाइसीएल नगर सचिव केशव विश्वकर्मा, सैनामैना वडा नम्बर १ का संयोजक भुवन क्षेत्री, वाइसीएल पूर्व क्षेत्रीय सदस्य सुरज भट्टराई लगायतको उपस्थिति रहेको थियो । त्यस क्रममा प्रहरी र वाइसीएल समूहबीच केही समय धकेलाधकेल समेत भएको थियो । प्रहरीले स्थितिलाई नियन्त्रण गर्दा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij