
आइतवार , जेठ २३, २०७८
भैरहवा, २३ जेठ ।
नेकपा एमालेका नेता तथा पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि आज सार्वजनिक वक्तव्यमार्फत गर्नुभएको आह्वान सकारात्मक भएको बताएका छन् । आइतबार सामाजिक संजालमा नेता भट्टराईले लेखेका छन्, ‘कार्यदलस्तरको छलफललाई यो वक्तव्यले पुनः निरन्तरता दिन बाटो खुलेको छ । पार्टीका जिम्मेवार नेता कमरेडहरु सम्मिलित कार्यदलले स्पष्ट गर्नुपर्ने र मिलाउनुपर्ने थप विषयहरुलाई समाधान गर्नेछ ।’
सर्वोच्चमा विचाराधिन विषयमा सबै सम्भावनालाई ख्याल गर्दै र मुलत: संविधानको रक्षा, लोकतान्त्रिक प्रक्रियाको निरन्तरता र पार्टी एकताको खातिर एउटा तार्किक निष्कर्षमा पुग्नु उपयुक्त हुने उनको भनाइ छ । अध्यक्षको ओलीको वक्तव्यले पार्टीको शिर्ष नेतृत्वकाबीच सार्थक संवाद हुनेछ र एमालेको एकतालाई अक्षुण राख्न मद्दत पुग्ने अपेक्षा उनले अपेक्षा गरेका छन् । ‘हजार माइलको यात्रा पहिलो पाइलाबाट नै सुरु हुन्छ, भट्टराईले भनेका छन् ।’
एमाले अध्यक्ष केपी शर्मा ओली वरिष्ठ नेता माधव कुमार नेपाल पक्षको माग अनुसार पार्टीलाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाउन राजी भएका छन् । आइतबार पार्टी एकताका लागि आह्वान गर्दै ओलीले माधव नेपाल पक्षको माग अनुसार पार्टीलाई २०७५ जेठ ३ गते पूर्व (जेठ २ गते) माओवादी केन्द्रसंग एकता हुनु अगाडिको अवस्थाबाट अगाडि बढाउन तयार भएको बताएका हुन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij