
मंगलवार , जेठ २५, २०७८
सैनामैना, २५ जेठ ।
हेफर इन्टरनेशनल नेपालले रुपन्देहीको सैनामैना नगरपालिकालाई आर्थिक सहयोग गरेको छ । आइसीयू र भेन्टिलेटरसहितको कोरोना विशेष अस्पताल बनाउन हेफर इन्टरनेशनल नेपालले नगरपालिकालाई मंगलबार रु. २६ लाख ५० हजार रुपैयाँ प्रदान गरेको हो । सुविधासम्पन्न अस्पताल नहुँदा कोरोना संक्रमित बिरामीहरुको अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले नगरपालिकालाई आर्थिक सहयोग गरिएको आयोजकले जनाएको छ ।
हेफर इन्टरनेशनल नेपाल बुटवलका प्रबन्धक अनन्तराज सिलवालले सैनामैनाका नगरप्रमुख चित्र बहादुर कार्कीलाई सो रकम हस्तान्तरण गरे । रकम बुझ्दै नगरप्रमुख कार्कीले ठुलो धनराशीको सहयोग स्वास्थ्य क्षेत्रमा लगानी गरिने बताए । यो अभियानमा सबै संघसंस्थाहरुले स्वेच्छाले सहयोग गर्न समेत उनले आग्रह गरे । हेफर लगायत अन्य संघसंस्थाबाट प्राप्त सहयोग रकमले सैनामैनामा संचालित कोरोना अस्पताललाई यथाशिघ्र सुविधासम्पन्न अस्पतालको रुपमा विकास गरिने कार्कीले बताए ।
उक्त रकम हस्तान्त्रण कार्यक्रम हेफर इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा माउण्ट एभरेष्ट सामाजिक विकास कपिलवस्तु, मुहान सहकारी संस्था, उपहार सामाजिक उद्यमी महिला सहकारी संस्था सैनामैनाको समन्वयमा भएको सहकारीका प्रबन्धक तारा भट्टराईले जानकारी दिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij