
सिद्धार्थनगरमा ७६ प्रतिशतले लगाए खोप
बिहिवार , जेठ २७, २०७८
भैरहवा, २७ जेठ ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित भएको भन्ने समाचारप्रति नगरपालिकाको ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार ६२ वर्षदेखि ६४ वर्ष उमेर समूहका नागरिकलाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको पहिलो मात्राको भेरोसेल खोप लगाउने कार्यक्रम रहेको थियो । सोही अनुसार नगरपालिकामा खोप कार्यक्रम स्थगित नभएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकामा ४ खोप केन्द्रमार्फत सञ्चालन गरिएको कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको नगरप्रमुख हरि प्रसाद अधिकारीले बताए ।
छुटेका केही स्वास्थ्यकर्मी र काठमाडौं उपत्यकामा पहिलो डोज लगाएका व्यक्तिहरुले स्वीकृत लिएर सो क्रममा खोप लगाएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत पिताम्बर पाठकले बताए । सोही प्रसंगलाई लिएर विवाद भएको भन्ने कुरा बाहिर आए पनि त्यस्तो नभएर सामान्य अवस्था रहेको पाठकले स्पष्ट पारे ।
अन्य पालिकाको कुरासंग सिद्धार्थनगरलाई पनि जोड्नु दुःखद भएको उनले बताए ।
सिद्धार्थनगर नगरपालिकामा भानु मा.वि., भैरहवा नमुना मा.व., युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल रानीगाउँ र नगर स्वास्थ्य केन्द्र सि.न.पा वडा नम्बर १० मा सेन्टर सञ्चालन भएको थियो । सिद्धार्थनगरमा १ हजार ४५ जनालाई खोप लगाउने लक्ष्य राखिएकोमा ७९७ जनाले उक्त खोप लगाएका छन् । सिद्धार्थनगरमा ७६ प्रतिशतले खोप लगाएको स्वास्थ्य कार्यालय, रुपन्देहीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij