
शनिवार , जेठ २९, २०७८
सैनामैना, २९ जेठ ।
रुपन्देहीको सैनामैनामा टाउकोमा कालोपट्टी बांधेर युवाहरु सडकमा उत्रिएका छन् । सैनामैनाका क्रियाशिल विभिन्न राजनीतिक दलका भातृ संगठन तथा संघ–सस्थाहरुले सरकारविरुद्ध कालोपट्टी नै बाधेर विरोधमा होमिएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संविधानविपरीत राष्ट्रघाती कदम चालेको र सांघातिक आक्रमण भइरहेको भन्दै सरकारको कडा विरोध गरेका हुन् ।
सुर्खेतमा गएराति भ्रष्टाचारविरुद्ध अभियानमा लागेका सामाजिक अभियन्ता ज्ञानेन्द्र शाहीको समूहलाई सरकारी पक्षबाट आक्रमण भएको आरोप लगाउँदै घटनाको कडा निन्दा गरेका छन् । उक्त घटनालाई लिएर सैनामैनामा विरोध प्रदर्शन समेत गरेका हुन् । ज्ञानेन्द्र शाही र उनको समूहमाथि कुटपिट गर्नेहरुलाई कडा भन्दा कडा कारवाहीको माग समेत गरेका हुन् । उनीहरुले घटनामा संलग्नलाई तुरुन्त कार्वाही नगरे सरकारविरुद्ध आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् । युवाहरुले सरकार वरुद्ध शान्ति सुरक्षा कायम गर, अभियन्ता कुटन पाइँदैन जस्ता नारा समेत लगाएका छन् ।
नेपाली कांग्रेस भातृसंगठन तरुण दल, विपी.स्टडी युथ सर्कल, नेकपा (माओवादी केन्द्र) योंग कम्युनिष्ट लीग (वाइसीएल) सत्य संजाल सैनामैनाको संयुक्त आयोजनामा विरोध कार्यक्रम भएको हो । कार्यक्रममा विपी. स्टडी युथ सर्कल लुम्बिनी प्रदेशकाअध्यक्ष लक्ष्मण गौतम, माओवादी केन्द्र सहायक संगठन वाइसीएलका संयोजक गोविन्द खरेल, विपी.स्टडी युथ सर्कल सैनामैना संयोजक दिपक काफ्ले, कांग्रेस युवा नेता कृष्ण ज्ञवाली, सत्य सञ्जाल सदस्य दिपक पौडेल लगायतले बोलेका थिए ।
ज्ञानेन्द्र शाहीको समूहमाथि सुर्खेतमा गएराति आक्रमण भएको थियो । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१३ करेखोला भन्ने स्थानमा राति ११ बजे आक्रमण भएको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आक्रमणमा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
अभियन्ता शाहीले आफूसहित राजेश महत, कृष्ण पाण्डे, तिलक बस्नेत, नितु खड्का, लोक बहादुर रोकाय, शान्त शर्मा, सीता आचार्य, महेश बीसी र खगेन्द्र बजगाईंमाथि आक्रमण भएको उल्लेख गरेका छन् । ‘हाम्रो नेपाल हामी नेपाली’ अभियानका केन्द्रीय सचिव भिमबहादुर शाहीले करेखोला भन्ने ठाउँमा खाना खाएर बजारतिर फर्किंदै गर्दा मादक पदार्थ सेवन गरेको समूहले आक्रमण गरेको बताए । निषेधाज्ञाको समयमा समस्यामा परेकाहरुलाई सहयोग गर्न भन्दै शाहीसहितको समूह देशका विभिन्न जिल्लामा पुग्दै आएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij