
आइतवार , जेठ ३०, २०७८
सैनामैना, ३० जेठ ।
इलाका प्रहरी कार्यालय मझगांवाका प्रमुख प्रहरी निरीक्षक सुरजजंग क्षेत्रीको सक्रियतामा ‘मास्क बैँक’ स्थापना भएको छ । कोभिड नियन्त्रण तथा रोकथामका लागि खटिएका व्यक्ति तथा नागरिकहरुको सुरक्षाका लागि रुपन्देहीको मर्चवारी सडकखण्ड अन्तरगत मझगांवाँमा ‘मास्क बैंक’ आजदेखि सञ्चालनमा ल्याइएको हो ।
‘हुनेले दिएर जाउँ, नहुले लिएर जाउँ’ भन्ने नारा सहित निःशुल्क मास्क उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको मास्क बैंकको आइतबार इलाका प्रहरी कार्यालय मझगावाँका प्रहरी निरीक्षक सुरजजंग क्षेत्रीले उद्घाटन गरेका छन् ।
विभिन्न व्यक्ति तथा संस्थासंगको समन्वय र सहयोगमा संकलन गरिएको मास्क तथा सेनिटाइजरले निषेधाज्ञाको बेला अत्यावश्यक काममा निस्किएका नागरिक तथा सुरक्षामा खटिएका सुरक्षाकर्मीहरुले निशुल्क मास्क प्रयोग गर्न पाउने छन् ।
मास्क बैंकका लागि कोटहीमाई गाउँपालिकाबाट ३ हजार मास्क, लायन्स क्लब अफ लुम्बिनी मर्चवारबाट ३ हजार मास्क, माहुरी हुम रुपन्देहीबाट १ हजार लगायत विभिन्न संघ-संस्थाहरुबाट स्वास्थ्य सामाग्री जुटेको र अन्यबाट पनि सहयोग आउने प्रहरी निरीक्षक सुरजजंग क्षेत्रीले बताए । नागरिकलाई शान्ति सुरक्षा संगै स्वास्थ्य सुरक्षा दिनु पनि प्रहरीको दायित्व भएको भन्दै सामाजिक कार्यप्रति मझगांवा प्रहरी तत्पर रहेको प्रहरी निरीक्षक क्षेत्रीले बताए । मास्क बैंक स्थापना गर्ने कार्य सराहनीय रहेको लायन्स क्लब अफ लुम्बिनी मर्चवारका संस्थापक सचिव चन्दन तिवारीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij