
मंगलवार , आषाढ १, २०७८
भैरहवा, १ असार ।
बसन्तपुर बायोग्यास एण्ड अर्घानिक फर्टिलाईजर प्रा.लि.ले खाना पकाउने बायोग्यास उत्पादन सुरु गर्न लागेको छ । रुपन्देहीको ओमसतिया गाउँपालिकाको वडा नम्बर–४ बसन्तपुरमा हुन लागेको उद्योगले दैनिक ५०० के.जी. एलपिजी बराबरको बायो ग्यास अर्थात ४० सिलिन्टर ग्यास उत्पादन गर्ने उद्योगका सञ्चालक मोहित यादवले बताउँछन् । । सञ्चालक यादवका अनुसार बायो ग्यास उत्पादन सुरु भएपछि गाउँपालिकाका ३ सय घरपरिवारको भान्सामा खाना पकाउने ग्यास पाइप जडान गरिने र दोस्रो चरणमा गाउँपालिका सबै घरको भान्सालाई सिलिण्डररहित बनाउने योजना रहेको छ ।
बायोग्यास प्लाण्टका प्राविधिक कन्सल्टेन्ट रेनर्जी इञ्जिनियरिङका निर्देशक ई. संदिप यादवले उद्योग स्थापना र ग्यास पाईप जडान कार्य संगसंगै हुन लागेकाले प्राविधिक रुपमा उत्पादन र उपभोगलाई मध्यनजर गरेर कन्सल्टेन्सीले नापजाँच गरी डीपीआर तयार गरिसकेको जानकारी दिए ।ई. यादवले उत्पादनसंगै उद्योगको योजना अनुसार ग्यासलाई सिधै घरघरको भान्सामा पुर्याउने कामलाई कसरी सरलीकरण गर्न सकिन्छ भन्ने छलफलमा आफूहरु रहेको बताए ।
करिब १० करोड लागतमा निर्माण हुन लागेको बायोग्यास प्लान्टले आफ्नो उत्पादन सुरु गरेसंग भारतीय एलपी ग्यासको मागमा समेत कमी आउने अपेक्षा भएको ओमसतिया गाउँपालिकाले जनाएको छ ।
दैनिक २० टन (गोवर, कुखुराको सुली, सडेगडेको कच्चापदार्थ, होटल तथा सुपर मार्केटहरुमा उत्पादन भएका कच्चापदार्थ जन्य फोहोरहरु ) कच्चापदार्थ खपत गर्ने यो उद्योगको स्थापनासंगै जिल्लाको आधुनिक उद्योग हुने बायोग्यास प्लाण्टका प्राविधिक कन्सल्टेन्ट रेनर्जी इञ्जिनियरिङले दावी गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij