
बिहिवार , आषाढ ३, २०७८
भैरहवा, ३ असार ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ को वार्षिक नीति तथा कार्यक्रम र बजेट तयारीसम्बन्धी राय सुझाव संकलन कार्यक्रम बिहीबर भैरहवामा सम्पन्न गरेको छ । कार्यक्रममा सहभागीले सिद्धार्थनगरलाई स्मार्ट सिटीका रुपमा विकास गर्नुपर्ने सुझाव दिएका थिए । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएपछि यस क्षेत्रमा सवारीसाधनको चाप पनि बढ्ने हुनाले ट्राफिक व्यवस्थापनमा पनि जोड दिनुपर्नेमा सहभागिहरुको जोड थियो ।
कार्यक्रममा पूर्व भूमिसुधार राज्यमन्त्री हकिकुल्लाह खाँले समाज शिक्षित नभइ विकास नहुने बताए । उनले शिक्षा र स्वास्थ्यमा जोड दिनुपर्ने स्पष्ट पारे ।
भीम अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले स्वास्थ्य क्षेत्रमा बजेट बढाउनुपर्ने बताए । नमुना एकीकृत विकास परिषद् रुपन्देहीका अध्यक्ष ज्ञानु पौड्यालले आमा सुरक्षा स्वास्थ्य कार्यक्रममा जोड दिनुपर्ने बताइन् । उनले महिला सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्दै सहकारीको वित्तीय साक्षरता एवं नगरपालिकालाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिइन् । जनता समाजवादी पार्टी, नेपाल (जसपा) सिद्धार्थनगरका अध्यक्ष अर्जुन प्रसाद जयसवालले हाटबजारमा व्यवसाय गर्ने साना व्यवसायीको विस्थापित गर्नु दुःखद भएको बताए । उनले नगरका विभिन्न वडा र टोलमा बाटोघाटो ढलको समस्या समाधानमा लाग्न नगरपालिकालाई सुझाव दिएका थिए । गल्लामण्डीका बीच सडकमै विजुली पोल भएकोले त्यसको व्यवस्थापन गर्नुपर्ने उनले बताए । सुझाव संकलन कार्यक्रममा उद्योगी नारायण प्रसाद अग्रवालले भैरहवामै ध्यान केन्द्र बनाएर सञ्चालन गर्नुपर्ने सुझाव दिए ।
कार्यक्रममा स्थानीय कर तथा व्यवसाय कर र घर वहाल कर सम्बन्धी स्ष्पट नीति बनाउन गोविन्द प्रसाद रेगमीले सुझाव दिएका थिए ।
माइती नेपाल भेरहवाका कार्यक्रम संयोजक माया क्षेत्रीले महिला तथा बालबालिका र जेष्ठ नागरिकका बारेमा नीतिमा स्पष्ट दिशानिर्देश गर्नुपर्नेमा जोड दिइन् ।। नेपाली कांग्रेस रुपन्देहीका कोषाध्यक्ष दिपक क्षेत्री न्यौपानेले अन्तर्राष्ट्रिय सिटी सरहको नगर बनाउन भिजन र मिसनमा लाग्न सुझाव दिए ।
नेकपा एमालेका नेता भरत पोखरेलले नीति तथा कार्यक्रममा स्वास्थ्य र शिक्षामा जोड दिनुपर्ने बताए । महिला स्वास्थ्य स्वयंसेविका तथा वडा नम्बर ५ का प्रतिनिधि पुनम जयसवालले स्वयंसेविकाका समस्या समाधान गर्नुपर्नेमा जोड दिदै नगरपालिका कार्यालयको पूर्वतर्फ बाटो सांघुरो भएकाले पर्खाल हटाउनुपर्ने बताइ्न् ।
छलफल तथा राय सुझाव संकलन कार्यक्रममा नेकपा एमालेका नेता चोपलाल आचार्यले टोल विकास समितिलाई सक्रिय बनाउनुपर्नेमा जोड दिए । भौतिक विकास भन्दा सामाजिक विकासमा जोड दिनुपर्नेमा मनोज रिजालले जोड दिए ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सिद्धार्थनगर अध्यक्ष ई.चन्द्रभक्त श्रेष्ठले योजनाबद्ध काम गर्न सुझाव दिए । उनले सडक एक पटक बनाउने र फेरी भत्काउने काम गरिएकोमा दुःख व्यक्त गरे । नेपाल उद्योग वाणिज्य संघका लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले राय सुझाव दिन सभा समारोह नै पर्खनु नपर्ने बताए । उनलेसकारात्मक सोचका साथ व्यक्तिगत रुपमा पनि जहिले पनि सुझाव दिन सकिने बताए । नगरलाई सौन्र्दयकरणका लागि खाली जग्गामा माटो पुरेर सुन्दर बनाउन सकिने शर्माले बताए । सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका निवर्तमान अध्यक्ष कुल प्रसाद न्यौपानेले निम्नवर्गका व्यक्तिको जीवनस्तर उकास्न नसकेसम्म विकास नहुने बताए । संघका कार्यवाहक अध्यक्ष ठाकुर कुमार श्रेष्ठले नगरको क्षेत्र विस्तार गरेर विकासमा फड्को मार्न सकिने बताए ।
सहकारी विज्ञ चन्द्रकान्त भट्टराईले नगरमा निःशुल्क कोराना परीक्षण गराउने व्यवस्था गर्न आग्रह गरे । उनले नगरमा रहेका ५० वटा सहकारीको अनुगमन निरीक्षण गर्नुपर्नेमा जोड दिए । प्रा.डा.गितु गिरीले भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण संबद्र्धनमा पनि जोड दिन आग्रह गरे ।
नेकपा (माओवादी केन्द्र)का नेता फैज अहमद खानले विभिन्न स्थानमा जेव्रा क्रसिङको व्यवस्था नहुँदा दुर्घटना बढेको बताए । उनले बुद्धचोकमा ट्राफिक लाइटको व्यवस्था गर्नुपर्नेमा सुझाव दिए । कार्यक्रममा जीवलाल अर्याल, मिलन बस्नेत लगायतले बोलेका थिए ।
नगरप्रमुख हरिप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनीले नगरपालिकामा वित्तीय व्यवस्थापन प्रणाली र नीति तथा कार्यक्रम र बजेट तयारी सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।
नगर उपप्रमुख उमा काफ्लेको स्वागत मन्तव्य तथा सूचना अधिकृत देव प्रसाद ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । आगामी असार ७ गते नीति तथा कार्यक्रम तथा असार १० गते बजेट पारित गर्ने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij