
आइतवार , आषाढ ६, २०७८
रुपन्देही, ६ असार ।
लुम्बिनी प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा समर्थन गरेका दुई जना सांसदलाई जनता समाजवादी पार्टी नेपाल (जसपा) प्रदेश संसदीय दल, लुम्बिनी प्रदेशले फेरि स्पष्टीकरण सोधेको छ । यस अघि जेठ ३१ गते सांसदद्वय सहसराम यादव र पूरमति ढेंगा मगरलाई सोधिएको सात दिने स्पष्टीकरणको जवाफ नआएकोले २४ घण्टाभित्र पुनः स्पष्टीकरण मागिएको संसदीय दलका नेता तथा लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले बताए ।
संसदीय दलका नेता सन्तोष कुमार पाण्डेयको अध्यक्षतामा आइतबार बुटवलमा सम्पन्न बैठकले दुवै सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय भएको प्रमुख सचेतक तथा प्रदेश सरकारका उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले जानकारी दिइन् ।
जेठ २९ गते जसपा संसदीय दलको बैठकबाट वर्तमान सरकारको नीति तथा कार्यक्रमको पक्षमा समर्थन गर्ने ह्वीप जारी भए पनि उक्त नीति तथा कार्यक्रमको विपक्षमा समर्थन गर्ने दुईजना प्रदेशसभा सदस्यलाई स्पष्टीकरण सोधिएको संसदीय दलले जनाएको छ ।
यसअघि जनता समाजवादी पार्टीको तर्फबाट प्रदेशसभामा दलको नेता बनेका सहसराम यादव रहेकोमा गत वैशाख ५ गते बसेको संसदीय दलको बैठकले यादवलाई हटाएर सन्तोष कुमार पाण्डेयलाई दलको नेता बनाइएको प्रमुख सचेतक पाण्डेले जानकारी दिइन् । पछिल्लोपटक दलको नेता चयन भएका पाण्डेयले प्रदेशसभामा रहेका दुईतिहाई बढी सदस्यको निर्णयबाट आफू दलको नेता चयन भएको बताएका छन् ।
पार्टीका ४ सांसद सन्तोष कुमार पाण्डेय, विजय बहादुर यादव, कल्पना पाण्डे र सुमन शर्मा रायमाझी मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्को सरकारमा सहभागि भएपछि जसपाका सांसदहरु दुई कित्तामा विभाजित छन् । यस अघि प्रदेश सरकारमा सहभागि भएका ४ जना मन्त्रीलाई सांसदबाट पदमुक्त गरिएकोमा सर्वोच्च अदालतको अन्तरिम आदेशपछि थामिएको छ । प्रदेशसभामा जसपाको आधिकारिताको विवाद कायम छ । उपेन्द्र यादव पक्षधर दुई जना सांसद विपक्षीको टेबलमा बसेका छन् । महन्थ ठाकुर पक्षीय ४ जना सांसद भने सरकारमा सहभागि छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij