
शनिवार , आषाढ १२, २०७८
अर्घाखाँची, १२ असार ।
लुम्बिनी प्रदेश सरकारका उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले प्रदेश सरकारबाट वन ऐन पारित नहुँदा काम गर्न समस्याका भएको गुनासो प्रदेशभरीका १२ वटा जिल्लाबाट आएकाले संसदबाट तत्कालनै वन ऐन पारित गरिने बताएकी छन् । गृह जिल्ला अर्घाखाँचीमा विभिन्न कार्यक्रममा सहभागी हुन आएकी पाण्डेले अर्घाखाँचीको सीमाना क्षेत्रमा अतिक्रमण गरिएको करिब १२ हजार हेक्टर वन क्षेत्रफलमा आफ्नै कार्यकालमा काडे तार लगाउने बताएकी छन् ।
सोही क्रममा डिभिजन वन कार्यालय अर्घाखाँचीले ११ महिनाको अवधिमा कुल बजेट ७ करोड ५ लाख ३० हजारमध्ये ५ करोडको ९१ लाख ६३ हजारको कार्यसम्पादन भएको डिभिजन वन कार्यालय अर्घाखाँचीका प्रमुख मोहन प्रसाद श्रेष्ठले जानकारी गराएका थिए । प्रतिशतका हिसाबले ७९ प्रतिशत कार्यक्रम सम्पन्न भएको उनले जानकारी गराएका थिए ।
त्यस्तै उद्योग, वन तथा वातावरण मन्त्री पाण्डेले जिल्लाको छत्रदेव गाउँपालिका वडा नम्बर २ मा रहेको बल्कोट प्राथमिक स्वास्थ केन्द्रलाई ६ थान अक्सिजन सिलिन्डर २५ थान पीपीई, फेस शिल्ड ४५ थान, २५ थान सेनिटाइजर र १ हजार सर्जिकल माक्स प्रदान गरेकी थिइन् ।
मन्त्री भई पहिलोपटक गृह जिल्ला आएकी पाण्डेलाई जिल्लाको छत्रदेव गाउँपालिाकामा पनि सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा गाउँपालिकाका अध्यक्ष लेखनाथ पोखरेल, गाउँपालिका उपाध्यक्ष तुल्सा देवी श्रेष्ठ, वडा नम्बर २ का अध्यक्ष राजेश पन्थी, वडा नम्बर ३ का अध्यक्ष तेज प्रसाद खनाल लगायतको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij