२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

वडा सदस्यद्वारा सिद्धार्थ नगरपालिकाको नगर परिषद बहिस्कार 

आइतवार , आषाढ १३, २०७८

भैरहवा १३ असार। 
सिद्धार्थनगर नगरपालिकाको नवौ नगर सभामा पस्तुत भएको बजेटमाथिको छलफल बडा सदस्यहरुले बहिस्कार गरेका छन्। 
असार ७ गते प्रस्तुत भएको नीति तथा कार्यक्रम र १० गते प्रस्तुत भएको बजेटमाथिको छलफल हुने क्रममा नगरप्रमुख हरि प्रसाद अधिकारीले वडा सदस्यहरुले कुनै काम नगरेको बताएपछि आक्रोसित वडा सदस्यहरुले बजेटमाथिको छलफल बहिस्कार गरेका हुन्। 

नवौ नगर सभामा असार ७ मा नीति तथा कार्यक्रम प्रस्तुत भएपनि त्यस दिन नीति तथा कार्यक्रम पारित हुन सकेको थिएन्। नगरसदस्यबाट गुनासो एंव प्रश्नआएपछि नीति तथा कार्यक्रम पारित नभई १० गते बजेट तथा कार्यक्रम प्रस्तुत भएको थियो। नीति तथा कार्यक्रम पास नभइ सिधै बजेट प्रस्तुत गर्न खोज्दा नगर सभासदहरुबाट अबरोध समेत भएको थियो। उनीहरुले अबरोध गरेपछि नगरप्रमुखले नीति तथा कार्यक्रमलाई बजेट संगसंगै छलफलमा लैजाने प्रतिबद्धता जनाएसंगै बजेट प्रस्तुत सुचारु भएको वडा सदस्य उमेश लाटा मगरले जानकारी दिए। 

आज शुरुभएको नीति तथा कार्यक्रममा बिषय सुचिसंगै नगरप्रमुख अधिकारीले सदस्यहरुले ७ गते र १० गते सोधिएका प्रश्नको जवाफ दिने क्रममा वडा अध्यक्षहरुले विहान ६ बजे देखि राती १० बजे सम्म काम गर्ने तर सदस्यहरुले केही काम नगर्ने, प्रत्येक वडा सदस्यले के कति काम गरेको छ सबै रिकर्ड आफूसंग रहेको र यसको हिसाब किताब हुने बताए पछि सदस्यहरुले आफुहरुलाई अपमान गरेको भन्दै छलफल बहिस्कार गरेको वडा सदस्य मगरले उल्लेख गरे। 

त्यस्तै सिनपा वडा नं ४ का वडा अध्यक्ष मुक्तिनाथ यादब (भोला) ले आफ्नै पार्टीबाट विजय वडा सदस्य मोहम्मद आलम अन्सारीलाई ज्यान मार्ने धम्की दिएकोले वडा अध्यक्ष यादवमाथि कार्वाही हुनु पर्ने माग समेत बैठकमा उठेको थियो। 

बैठकमा वडा सदस्य मनि बिकले यादवमाथि कार्वाहीको माग गर्दै सबै सदस्यहरुलाई नगर परिषद वहिस्कार गर्न अनुरोध गरेसंगै सदस्यहरुले मेयरको अभिव्यक्ति प्रती आक्रोश पोख्दै सबै सदस्य बहिष्कार गर्दै हलबाट बाहिरिएका थिए। 

उनीहरुले सभाहल बाहिर आएर नीति तथा कार्यक्रम एंव बजेट कार्यक्रमको कागज जलाउएका थिए। जनताले चुनेको वडा सदस्यलाई नगरप्रमुखले अपमान गरेको भन्दै वडा सदस्यहरु आक्रोसित बनेका छन्।