२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

अनुसन्धानात्मक लेख प्रतियोगितामा उत्कृष्ट तीनजना पुरस्कृत

तीन पत्रकारलाई पर्यटन पत्रकारिता पुरस्कार

आइतवार , आषाढ २०, २०७८

भैरहवा, २० असार ।
बृहत्तर लुम्बिनी पर्यटन प्रवद्र्धनमा संचार क्षेत्रको भूमिका विषयक खुल्ला अनुसन्धानात्मक लेख प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल सिद्धार्थनगर–९, भैरहवाकी गीतादेवी शर्मा, द्वितीय भएका सिद्धार्थनगर–८ का शशि पन्थी र तृतीय स्थान हासिल गरेका लुम्बिनी बौद्ध विश्वविद्यालयका डा. निङमा शेर्पालाई पुरस्कार प्रदान गरिएको छ । पन्थी बुटवल टुडे दैनिक र रेडियो नेपालका संवाददाता समेत हुन् ।
 
आइतबार भैरहवामा आयोजित कार्यक्रममा शर्मालाई नगद ३० हजार, पन्थीलाई २० र शेर्पालाई १० हजार रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको हो । लुम्बिनी प्रदेश सरकार उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले आयोजना गरेको खुल्ला अनुसन्धानात्मक लेख लेखनमा मूल्यांकन समितिले प्रथम, द्वितीय र तृतीय स्थान छनौट गरेको थियो ।
 
यस्तै, निर्देशनालयले भैरहवालाई कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएका प्यूठानका पत्रकार प्रकाश न्यौपाने, नवलपरासीका गोपीराम ज्ञवाली र कपिलवस्तुकी स्वेता गिरीलाई पर्यटन पत्रकारिता पुरस्कारबाट सम्मानित गरेको छ । निर्देशनालयले पत्रकारितामार्फत् लुम्बिनी क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याएको भन्दै तीनै जनालाई नगद १०/१० हजार रुपैयाँसहित प्रमाणपत्रले सम्मानित गरेको हो ।
 
न्यौपाने न्यूज २४ टिभी र लुम्बिनी टिभीका भैरहवा संवाददाता तथा पब्लिक कुरा डटकमका सम्पादक हुन् । ज्ञवाली गोरखापत्रका नवलपरासी सम्वाददाता हुन् भने गिरी पत्रकार महासंघ कपिलवस्तु शाखाकी उपाध्यक्ष छन् ।
 
उनीहरु सबैजनालाई उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डे लम्साल, मन्त्रालयका सचिव डा.राजेन्द्र केसी, निर्देशनालयका निर्देशक यमबहादुर कुंवर लगायतले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए ।
 
यस्तै, अनुसन्धानात्मक लेख मूल्याङ्कन समितिका संयोजक प्राडा गितु गिरी, सदस्य  वसन्त विंडारी, डा. बालकृष्ण चापागाईं र डा.हरिध्वज राईलाई पनि उक्त अवसरमा सम्मान गरिएको थियो ।