
मंगलवार , आषाढ २२, २०७८
भैरहवा, २२ असार ।
लुम्बिनी प्रदेश सरकारका उद्योग, वन तथा वातावरण मन्त्री कल्पना पाण्डेले समाज परिवर्तनमा लायन्स क्लबको भूमिका महत्वपूर्ण रहेको बताएकी छन् । उनले दुःख परेको स्थानमा लायन्स पुगेको बताइन् । लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले मंगलबार रुपन्देहीको ओमसतिया गाउँपालिका–२ मा आयोजना गरेको वृक्षारोपण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री पाण्डेले खानाको अभावमा छट्पटाइरहेका नागरिकलाई खाना खुवाएर समाज सुधारमा लायन्स क्लबले अग्रणी भूमिका निर्वाह गरेको बताइन् ।
मन्त्री पाण्डेले रोपिएका विरुवाहरुको संरक्षण गर्न आवश्यक रहेकोमा जोड दिइन् । विरुवा संरक्षणको लागि प्रदेश सरकार, स्थानीय सरकार र वृक्षारोपण गरिएको क्षेत्रको गाउँ/टोलबीच समन्वय र सहकार्य आवश्यक रहेको बताइन् । ‘बुद्धको नगरीलाई हरियाली बनाउनुपर्छ, सडक किनारमा गरिएको वृक्षारोपणले गाउँ तथा नगरलाई हरियाली बनाउन सहयोग गर्छ, ’उनले भनिन् ।धेरै सम्भावना बोकेको लुम्बिनी प्रदेशलाई वातावरणमैत्री प्रदेशको रुपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो ।
यस अघि विश्व वातावरण दिवसको अवसरमा असार ८ गते ओमसतिया–२ रुपन्देहीमा वृक्षारोपण गरिएको र वातावरणमैत्री सडक आजको आवश्यकता रहेको उनले बताइन् । त्यस्तै असार १४ गते पश्चिम नवलपरासीको सुनवल नगरपालिका–११ जर्गाहामा एक घण्टामा २० हजार विरुवा रोपिएको जानकारी दिइन् । उनले वृक्षारोपणको लागि आवश्यक विरुवा डिभिजन वन कार्यालय, सामुदायिक वनमार्फत उपलब्ध हुने बताइन् ।
कार्यक्रममा ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुल) ले विभिन्न क्षेत्रमा वृक्षारोपण गरेर गाउँपालिकालाई हरियाली बनाउन लागिपरेको बताए । उनले रोपिएका विरुवाहरुको संरक्षण गाउँपालिकाले गर्ने प्रतिवद्धता व्यक्त गरे । समाजको विकास र प्रदुषणबाट बच्न मानव जीवनको स्वास्थ्यको लागि वृक्षारोपण आवश्यक रहेको अध्यक्ष केवटको भनाइ थियो । बेलहिया–बुटवल सडकखण्ड निर्माण गर्ने क्रममा ओमसतिया गाउँपालिकाको सडक ढिलो निर्माण सम्पन्न भएकोले सोचेअनुरुप वृक्षारोपण गर्न नसकिएको उनले बताए ।
डिभिजन वन कार्यालय रुपन्देहीका प्रमुख बोधराज सुवेदीले सडक छेउछाउमा वृक्षारोपणका लागि विरुवा छान्दा ध्यान दिनुपर्ने बताए । उनले नागरिकलाई विरुवाको कमी नहोस् भन्ने उद्देश्यले विभिन्न नर्सरीहरुमार्फत विरुवा उपलब्ध गराउँदै आएको बताए । लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीका वर्ष २०२१/२२ का अध्यक्ष गोविन्द प्रसाद गिरीले लायन्सको मर्म अनुसार वृक्षारोपण कार्यक्रम गरिएको बताए । उनले रोपिएका विरुवाहरुको संरक्षण गर्न गाउँपालिकाले प्रतिबद्धता गर्नु खुशीको कुरा भएको बताए ।
लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका द्वितीय भाइस गभर्नर नवराज न्यौपानेले रोपिएका विरुवा बचाउने प्रण लिनुपर्ने बताए । उनले ‘हरियो वन, नेपालको धन’ नारालाई सार्थक बनाउन लायन्सले वृक्षारोपण गरेको बताए । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका चिफ एडभाइजर उमंग देवकोटाले लायन्स क्लब अफ भैरहवा ग्रीन सिटी कोरोना महामारीमा पनि अग्रणी संस्थाको रुपमा अगाडी बढेको बताए ।
कार्यक्रम संयोजक लक्ष्मी थापाको स्वागत तथा लायन्स क्लब अफ भैरहवा ग्रीन सिटी वर्ष २०२१/२२ का सचिव थानेश्वर पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा ८० वटा विरुवा रोपिएको क्लबका उपाध्यक्ष मनोज क्षेत्रीले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij