मंगलवार , आषाढ २२, २०७८
वासिङ्टन, २२ असार ।
संयुक्त राज्य अमेरिकामा गत जुन महिनामा निजी क्षेत्रबाट ६ लाख ९२ हजार नयाँ रोजगारी थप भएको छ । अघिल्लो महिनाको तुलनामा भने यो वृद्धि केही सुस्त देखिएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।अमेरिकी स्वचालित तथ्यांक प्रशोधन (एपीडी) का प्रमुख अर्थशास्त्री नेला रिचर्डसनले गत जुन महिनामा पनि श्रम बजार निकै सुदृढ देखिएको बताए । उनले सन् २०२१ को शुरुआतदेखि करिब ३० लाख नयाँ रोजगारी सिर्जना भएको जानकारी दिए ।
रिचर्डसनले कोभिड–१९ का कारण सर्वाधिक असर परेको सेवा क्षेत्रले निरन्तर प्रगति गरिरहेको छ बताए । होटल, पर्यटन क्षेत्र खुला हुँदै गएका कारण आम रुपमा अर्थतन्त्रमा चहलपहल बढेको छ, उनले भने । जुन महिनामा ६ लाख २४ हजारले सेवा क्षेत्रमा नयाँ रोजगारी पाएको एपीडीले जनाएको छ ।
ठूला व्यवसाय तथा मझौला कम्पनीहरुले जुन महिनामा २ लाख ४० हजारलाई रोजगारी दिएका छन् भने साना कम्पनीहरुले २ लाख १५ हजार नयाँ रोजगारी सिर्जना गरेका छन् । रासस
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij