अर्घाखाँची, २३ असार ।
प्रतिमान–नीमा स्मृति प्रतिष्ठान, भैरहवाले सन्धिखर्कस्थित जिल्ला अस्पताल अर्घाखाँचीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ । प्रतिष्ठानले अक्सिजन सिलिण्डर ५ थान, अक्सिजन रेगुलेटर ५ थान ,अक्सिजन कन्सेन्टे«टर, ५ थान, आइसीयू बेड १ थान, सेनिटाइजर ५० लिटर, ५ सय थान सर्जिकल मास्क, मेडिकल टेन्ट सेट १ थान, फेससिल्ड १ सय थान सर्जिकल ग्लोब्स १ सय थान लगायतका स्वस्थ्य सामाग्री कोरोना अस्पताललाई प्रदान गरेको हो ।
कोरोना भाइरसको लहर अझै पनि कायम रहेकाले त्यसलाई मध्यनजर गर्दै अमेरिकास्थित प्रोजेक्ट होपको सहयोगमा अस्पतालको आवश्यकता अनुसार स्वास्थ्य सामग्री वितरण गरिएको प्रतिष्ठानका निर्देशक धर्म बहादुर केसीले जानकारी दिए ।
हस्तान्तरण कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्बर शर्माले अहिलेसम्म जिल्लामा धेरै संघ–संस्था स्वास्थ्य सामाग्री वितरण गर्न आएता पनि अस्पताललाई तत्काललाई आवश्यक सामाग्री छ भनेर नआउने गरेकोमा प्रतिमान–नीमा स्मृति प्रतिष्ठान अस्पतालको आवश्यकता अध्ययन गरी स्वास्थ्य सामाग्री प्रदान गरेकोमा धन्यवाद समेत दिए ।
अस्पतालका प्रमुख डा. कपिल गौतमले एक महिनासम्मको अध्ययनपछि अन्य संघ–संस्थाले दिएको स्वास्थ्य सामग्री भन्दा फरक सामाग्री अस्पतालमा भित्र्याउन सफल भएको बताए ।
कार्यक्रममा सन्धिखर्क नगरपालिकाका उपप्रमुख ठाकुर कुमार विक, अस्पताल विकास समितिका अध्यक्ष श्रीकृष्ण भुसाल लगायतले बोलेका थिए । जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।