२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

एमालेद्वारा रुपन्देही जिल्लाभर सदस्यता नवीकरण अभियान

मंगलवार , आषाढ २९, २०७८


बुटवल, २९ असार ।
नेकपा एमालेले रुपन्देही जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा संगठित सदस्यता नवीकरणका लागि पार्टी परिचालन अभियान चलाएको छ । पार्टीका केन्द्रीय सदस्य दधिराम न्यौपानेको नेतृत्वमा एमाले रुपन्देहीले संगठीत सदस्यता नवीकरणका लागि अभियान सञ्चालन गरेको हो । सोही क्रममा एमालेले पाँचवटै निर्वाचन क्षेत्रमा क्षेत्रीय भेला सम्पन्न गरेको छ ।

क्षेत्र नम्बर १ को धकधई, २ को बुटवल, क्षेत्र नम्बर ३ को भैरहवा पार्टी कार्यालय, ४ को मर्चवार र क्षेत्र नम्बर ५ को सैनामैना, गैंडहवा, कन्चन र लुम्बिनीमा अलग अलग भेला सम्पन्न गरिएको एमाले रुपन्देहीका सह–संयोजक तेजेन्द्र केसीले जानकारी दिए । 

भेलाहरुमा पार्टी केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला सह–इञ्चार्ज एकराज बिश्वकर्मा, जिल्ला संयोजक शिवराज सुवेदी, सह–संयोजक तेजेन्द्र केसी, जिल्ला सचिव विश्वराज बराल (अनुप), जिल्ला सचिवालय सदस्य यज्ञ गैरे, नेताहरु हितराज पन्थी, नरबहादुर थापा, रामचन्द्र यादव लगायतले मुलुकको विद्यमान समसामयिक राजनीतिक अवस्थाका बारेमा चर्चा गर्दै पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

त्यस्तै सबै निर्वाचन क्षेत्रहरुमा क्षेत्रीय कमिटी संयोजकहरुको अध्यक्षतामा बसेको बैठकले संगठीत सदस्यता साउन ६ गतेसम्म नवीकरण गर्ने, पार्टीका वडा भेलाहरुको आयोजना गर्ने र विकास निर्माणका कामको निगरानी गर्ने निर्णय पनि गरेको छ । बैठकले सदस्यता नवीकरणका लागि आम कार्यकर्ता पंक्तिलाई आह्वान गरेको पार्टीका जिल्ला सह–संयोजक केसीले जानकारी दिए । साथै बुटवल उपमहानगरपालिका वडा नम्बर १३ को क्यालेन्डर मंगलबार विमोचन गरिएको केसीले बताए ।