
मंगलवार , आषाढ २९, २०७८
भैरहवा, २९ असार ।
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ, नेपाल सिद्धार्थनगर, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) क्षेत्र नम्बर ३ र भैरहवा बहमुखी क्याम्पस कमिटीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पुतला दहन गरेको छ । राष्ट्रिय युवा संघ र अनेरास्ववियुले मंगलबार भैरहवाको बुद्ध चोकमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन गर्दै प्रधान्यायाधीश जबराको पुतला जलाएको हो ।
सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरी शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको विरोधमा युवा संघ र अनेरास्ववियुले प्रदर्शन गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियुका केन्द्रीय सदस्य भीम भण्डारीले सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शनलाई अझ सशक्त बनाउने चेतावनी दिए । त्यस्तै एमालेका युवा नेता वाई.पी. आचार्य (सुशान्त) ले सर्वोच्च अदालतको फैसलाविरुद्ध राष्ट्रिय युवा संघ र अनेरास्ववियु आन्दोलनमा उत्रिएको बताए ।
प्रर्दशनका क्रममा अनेरास्ववियु भैरहवा बहमुखी क्याम्पस अध्यक्ष सागर न्यौपाने, युवा संघका नेताहरु कृष्ण मल्ल, सुवास पाण्डे, रोशन गुरुङ, अमित शुक्ला, विवेक भण्डारी लगायतले सर्वोच्च अदालतको फैसलाविरुद्ध नाराबाजी गरेका थिए । सोही क्रममा प्रहरीले पुत्ला दहन रोक्ने प्रयास गरेको थियो । पुत्ला दहन गर्ने क्रममा आगोले हात पोल्दा एमालेका युवा नेता वाई.पी आचार्य (सुशान्त) सामान्य घाइते भएको युवा संघका नेता मिलन दर्लामीले बताए ।
सर्वोच्च अदालतको फैसलाविरुद्ध आगामी दिनमा पनि आन्दोलनलाई निरन्तरता दिने अनेरास्ववियुका केन्द्रीय सदस्य सरोज ठकुरीले बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij