images

आइतवार, बैशाख २३ गते २०८१

मेरो पनि होइन र यो देश ?

मेरो पनि होइन र यो देश ?

images
images
images
शुक्रवार, श्रावण १ २०७८
शुक्रवार, श्रावण १ २०७८
  • मेरो पनि होइन र यो देश ?

    भैरहवा । 

    images
    images
    images

    नेपाल, चार जात छत्तिस वर्णको साझा फुलवारी भनी उति बेला पृथ्वीनारायण शाहले भनेका थिए, यो कुरा पुस्तकमा पढ्न पाइन्छ । देश विभिन्न कालखण्डबाट गुज्रदैगुज्रदै अहिलेको यो अवस्थामा आएको छ । त्यसका लागि विभिन्न समयमा वा कालखण्डहरुमा कसै न कसैको केही महत्वपूर्ण योगदान पक्कै पनि रहेको छ । कतिले आफ्नो ज्यान गुमाए होलान्, कतिले आफन्त गुमाए होलान्, कतिले सबै परिवार पनि गुमाए होलान, कोहीले सम्पत्ति गुमाए, कोही देशै छाडेर हिड्न बाध्य भए । यो सबै परिवर्तनको कारक भनेको जनता र कारण जनताको स्वतन्त्रता थियो तर अहिले त्यो भएको छ त ? अवश्य छैन यहाँ त कारक पनि नेताको सुख र कारण पनि नेताकै सुख भएको देखिन्छ । 

    एउटा गित थियो मेरो पनि होइन र यो देश मेरो पनि होइन र ? भन्दै प्रश्न गरेको सोही गितले । यस्ता गितहरुले नेपालको वास्तविकता बताएको जस्तो लाग्छ । यहाँ नेतालाई चैन र जनतालाई ऐन भन्ने उखान चरितार्थ भएको छ । गोपाल महिष पाल हुँदै मल्लदेखि शाहसम्म आइपुग्दा नेपालमा के कस्ता परिवर्तनहरु भए ? शाह शासनकालमा शासन सत्तालाई १०४ वर्षसम्म आफ्नो कब्जामा लिएका राणाहरुदेखि प्रजातन्त्र भन्दै उफ्रने नेताहरु र हाल गणतन्त्रसम्मको इतिहास हेर्ने हो भने खै के खै के जस्तो देखिन्न र देशको परिवर्तन ? २०४७ सालको संविधान बनाउने तत्कालिन नेता र २०७२ को संविधान बनाउने नेताहरुमा केही परिवर्तन थियो र ? मात्र व्यवस्था फेरियो तर फेरिएन हाम्रो नियति । नेताहरु एकले अर्कोलाई गाली गर्दै समय बिताइरहेका छन् । परिवर्तनका नाराहरु गाउँगाउँमा घन्काउँदै हिड्छन् तर परिवर्तनलाई संस्थागत गर्ने कुरातर्फ कुनै ध्यान दिएको पाइँदैन । विकासको नाममा भएका कंक्रिटका केही भवन र महिना दिन नबित्दै भत्कने कालोपत्रे सडकबाहेक अरु के नै देख्न पाइन्छ । प्राकृतिक विपत्ति त कसैले छेकेर छेक्न मुस्किल पर्दछ तर त्यसको रोकथाम गर्ने उपाय र पीडित जनतालाई सुरक्षित गर्नेसम्मको सोच भएको देखिदैन ।

    वास्तवमा नेपालीले २००७ र २०४७ सालमा जुन उत्साहका साथ देशको परिवर्तनको लागि आफ्नो जिउज्यान दिएर लागेका थिए, त्यसै गरी २०६२/०६३ सालको जनआन्दोलनमा पनि सहभागि लिएकै हुन् । ठूलो आशा र भरोसाका साथ युवादेखि बालबालिका र वृद्धवृद्धाहरु समेत उत्तिकै उत्साह र जोशको साथ अग्रपंक्तिमा सडकमा उभिएका थिए । हामी सबैको आशा थियो कि नेपाल अब परिवर्तनको दिशामा अगाडि बढेको छ, अब शान्ति समृद्धि, जनताको सामाजिक, मानसिक र भौतिक विकासको चाहना र आजसम्म विभिन्न कालखण्डमा नपाएको न्यायको पक्षमा अब नेपालको राजनीतिक दल सबै एकै ठाउँमा उभिएर देशलाई विकसित देशको सूचीमा सूचीकृत गर्नेछन् । अब हाम्रा छोरा नातिले निःशुल्क शिक्षा, स्वास्थ्य सुविधा पाउनेछन्, कुनै पनि छोरी चेलीहरु बलात्कृत हुनुपर्ने छैन, कोही पनि जनता निराशामा जिउनुपर्ने छैन, देशमा आर्थिक सम्वृद्धि हुनेछ जस्ता सपनाहरु मनमा खेलाउँदै नेपालीहरु रमाउन थालेका जस्तो देखिन्थ्यो ।

    २००७ सालपछि हामीले पढेको इतिहास भनेको २०१५ सालपछि राजाले केही काम गर्न दिएनन्, २०३६ को जनमत संग्रहमा विभिन्न दलको धोकाको कारण निर्दलीय व्यवस्थाको जित भयो । २०४७ पछि पनि राजाकै हालीमूहाली भयो अनि राजा संविधान भन्दा माथि भए वा नेपाली कांग्रेस धेरै सत्तामा बसे पनि कुनै काम गर्न सकेन, यस्तैयस्तै अरुलाई दोष दिने कथा भन्दै गर्दा २०५२ पछि त माओवादी द्वन्द्वका कारण त्यसैको व्यवस्थामा लाग्नुपर्यो अनि कसरी काम गर्ने ? त्यसपछि सुरु भयो दोस्रो जनआन्दोलन जसको बलमा द्वन्द्व पनि व्यवस्थापन भो संविधान भन्दा माथिका राजालाई पनि हटाएर गणतन्त्र नेपाल स्थापना भयो अब के को समस्या भनेको त त्यहाँ पछि त झन भन्दा झन ठूलो पो देखिन थाल्यो । वर्गिय राजनीतिलाई आफ्नो मुख्य आधार मानेको कम्यूनिष्टहरुको उदय यसरी भयो किन वर्षमा खहरेको भेल सरी जताततै नै उनीहरुको गुणगान हुन थाल्यो, हरेक जाति, पिछडा वर्ग, दलित, किसानहरु, आवाजबिहीनहरुको आवाज बन्न पुगे नेपालका कम्यूनिष्टहरु । विभिन्न चुनावमा करिबकरिब २÷३ सांसद, सात प्रदेशमा ६ वटामा पूर्ण बहुमतसहित अधिकांश स्थानीय तहहरुमा जित निकाल्न सफल भयो नेपाल कम्यूनिष्ट पार्टी ।

    जनताको विश्वास र भरोषाको केन्द्र, अब जनतामा आशा पलाएको थियो कि देश अब त बन्छ बन्छ । तत्कालिन नेकपा अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालन थाले । उनी आफू र आफ्ना निकटलाई मात्रै लिएर अघि बढ्न खोजे । त्यसको परिणाम दुईदुई पटक संसद विघटनको खेल भयो र देशलाई अस्थिरतातर्फ उन्मुख गराएर छाडे । स्थानीय, प्रदेश र केन्द्र सरकार सबैतिर पूर्ण बहुमत हुँदाहुँदै पनि आफ्नो पार्टीलाई व्यवस्थापन गर्न नसकि देशलाई नै बन्दी बनाउने खेल खेल्दै जाने र अझ अरुलाई गाली गर्न पछि नपर्ने कस्तो राजनीति गरेका हुन् ? के नेकपाको एकता अरुले टुटाई दिएको हो ? के सरकारलाई काम गर्न विपक्षी दलले रोकेको थियो ? के विदेशीले नेपालमा चलखेल गरेर संसद् विघटन गरेको हो ? नत्र पूर्ण बहुमत हुँदाहुँदै पनि किन हरेक कुरामा अध्यादेश ल्याउनुपर्ने बाध्यता गरायो ? के संवैधानिक नियुक्ति संसदीय सुनुवाई बिना गर्नुपर्ने थियो ? देशको प्रधानमन्त्री संसदीय समितिमा किन उपस्थित नभएको ? सांसदलाई किन हरेक विषयवस्तुमा बोल्न बन्द गरियो ? जब सर्वोच्च अदालतले संसद् विघटन कानूनसम्वत छैन भन्दाभन्दै दोस्रो पटक पुनः संसद विघटन किन भयो ? के यी र यस्ता प्रश्नको जवाफ जनताले नखोज्ने अब ? पार्टीभित्रको द्वन्द्वलाई मिलाउन नसक्ने अनि देशीविदेशी शक्तिले मेरो सरकार ढाल्यो भन्न ग्राहो हुँदैन नेताज्यू ? जनता महंगीको मारमा परिरहेको बेला खै राहत ? हप्तै पिच्छे पेट्रोलियम पदार्थको मूल्य बढाउँदै जानु परेको किन ? खै पानीजहाज ? खै रेल ? खै समृद्ध नेपाल सुखी नेपालीको नारा पुरा गरेको ?

    अन्त्यमा, हामी नेपालीहरुको भाग्य सधैभरी यस्तै नेताहरुको स्वार्थी राजनीतिक दाउपेचमा नै लाग्ने हुने हो कि प्रगतिको पथमा लम्कदै शान्ति अमनचैनका साथ जीवन जिउने हो प्रश्न कसलाई गर्ने ? नेपालीको छोरो भएर जन्मिएपछि त्यसको केही न केही दोषी त म पनि पक्कै हुँला । किनकी मैले म र मेरो दल भन्दा माथि कहिल्यै सोचिन, मेरो दलका नेताले जे गरे पनि त्यसैलाई राम्रो भन्दै गए, म जातीय विभेद भो भन्दै कराउँदै गए तर आफूबाट त्यो विभेद हटाउन सकिन, म राष्ट्रियता भन्दै हिडे् तर राष्ट्रियताको महत्व बुझ्न सकिन, विपक्षीले गरेका राम्रो सुझावलाई पनि मैले कालो झण्डा देखाउँथे, नेताले भने म आज पनि सडकमा ओर्लिएर टायर बाल्न पछि पर्दैनन् जब कि मलाई थाहा छ टायर बाल्नको लागि पेट्रोलको आवश्यक पर्छ त्यसको मूल्य कति छ भनी, मलाई यो पनि थाहा छ बजार भाउ बढेर आकाश छुन थालिसक्यो, त्यसमा पनि कोरोनाको कारण अर्थतन्त्र चलायमान हुन सकेको छैन, मेरै घर कसरी चलेको छ त्यसको पीडा छँदैछ र पनि म महंगी र भ्रष्टाचारलाई रोक्नुपर्छ भनी आवाज उठाउन सकेको छैन किनकी त्यसको लागि मैले मेरो पार्टीको निर्णय पर्खनुपर्छ ।

    कमसल सामग्रीको प्रयोग गरी निर्माण कार्य भएको देखेको छु, ठेकेदारले राम्रो काम गर्नुपर्छ भनौ आफ्नै नेताको कम्पनीहरु काम गरिरहेका छन् कसरी विश्वास नगरौं, यी र यस्ता दुविधाकाबीच मेरो राष्ट्र र त्यसका हामी नागरिकहरु निरासा बोकी क्षितिजमा देखिएको मृगतृष्णा हेरि हिडिरहेका छौ । अब म बोल्नै पर्छ, नेपालको दुई तिहाइको सरकार भए पनि जनताको लागि कुनै पनि काम गर्न नसकेको कुरा, राष्ट्रको अभिभावक बनि बसेको राष्ट्रपतिले बिना सुझबुझ देखाएको अर्कमन्यता, सरकारले गरेका हरेक राष्ट्रघाती वा नियम मिचि गरिएका क्रियाकलापको साक्षी बसी त्यसको पक्षमा उभिनु उहाँको गल्ती हो । अरुलाई गाली गरी राष्ट्रवादी देखाउने व्यक्ति र राजनीतिक दलले जे गरे पनि कार्यकर्ता सबैसबै नै यो देशलाई बन्धक बनाउने व्यक्तिहरु हुन् । यी र यस्तै कुरा गर्ने, गलतलाई गलत र सहीलाई सहि भन्न पाउने मेरो अधिकारलाई कसैले प्रश्न गरे म भन्न चाहन्छु “मेरो पनि होईन र यो देश मेरो पनि होइन र ?” ।। नेपाल आमाको जय ।।।


    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij