
बुधवार , श्रावण ६, २०७८
काठमाडौं, ६ साउन ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सरकारलाई देशमा राजनीतिक स्थायीत्व, शान्ति सुरक्षा र सबै नागरिकलाई खोप दिने कार्यलाई उच्च प्राथमिकतामा राख्न आग्रह गरेका छन् ।
उनले राप्रपाद्वारा आज हेटौँडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुलुकमा शान्ति, स्थिरता र समृद्धिका लागि जनताको आशाविपरीत अहिलेको धर्मको व्यापक परिवर्तनका साथै बाह्य चलखेलको प्रभावले गर्दा राष्ट्र गम्भिर संकटमा पर्न लागेको बताए । उनले मुलुकलाई स्थिर राजनीतिक प्रजातान्त्रिक संस्कारबाट अघि बढाउन राप्रपा पनि एक वैकल्पिक शक्तिका रुपमा महाधिवेशन मार्गचित्रबाट अघि बढ्ने दृढता व्यक्त गरे ।
सो अवसरमा राप्रपाका केन्द्रीय सम्पादन समितिका सदस्य राजाराम बर्तौला, केन्द्रीय सदस्य नवराज विष्ट, राप्रपा मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटा र सचिव सागर थापाले पार्टीको आगामी महाधिवेशनबाट सक्षम नेतृत्व निर्वाचित गर्न र पार्टीलाई एकढिक्का बनाई लैजान नेता तथा कार्यकर्ता गुटबाट अलग भई पार्टीप्रति निष्ठावान् हुनुपर्ने धारणा व्यक्त गरे । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij