
बिहिवार , श्रावण ७, २०७८
भैरहवा, ७ साउन ।
अग्रज पत्रकार चेतन पन्तद्वारा निर्मित ‘त्रिवेणीदेखि तिलौराकोटसम्मका चराहरु’ वृत्तचित्र सार्वजनिक गरिएको छ । नेपाल पर्यटन पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले बिहीबार बुटवलमा आयोजना गरेको कार्यक्रमकामा उक्त वृत्तचित्र (डकुमेन्ट्री) सार्वजनिक गरिएको हो । पर्यटन प्रबद्र्धनमा टेवा पुगोस् भन्ने उद्देश्यले करिब ३ महिना लगाएर वृत्तचित्र निर्माण गरेको पत्रकार पन्तले बताए । चराहरुको संरक्षण गरेर त्रिवेणीदेखि तिलौराकोटसम्मको क्षेत्रलाई चराको अध्ययन केन्द्र बनाउन सकिने र पर्यटकको बसाई समेत लम्ब्याउन सकिने उनले बताए । ‘यो क्षेत्र चराहरुको स्वर्ग पनि हो, त्यसैले चराहरुको केन्द्रको रुपमा विकास गरी पर्यटन र होटल व्यवसायको प्रबद्र्धनमा लाग्नुपर्छ, ’पन्तले भने ।
नेपाल पर्यटन पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष भुवन कार्कीले होटल तथा पर्यटन व्यवसायी संघ÷संस्थाद्धारा बनाइने वार्षिक कार्ययोजनामा महासंघ सहकार्य गर्न तयार रहेको बताए । उनले पर्यटन पत्रकार महासंघ धेरै काम गर्न बाँकी रहेको बताए । होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठनका संस्थापक अध्यक्ष माधव नेपालले लकडाउनको बेला मानिस घरमा बसिरहेको र कतिपय मानिस कोरोनाबाट संक्रमित भइ अस्पतालमा उपचार गराइरहेको बेला पत्रकार चेतन पन्तले बढो मिहिनेतका साथ वृत्तचित्र निर्माण गर्नुभएको बताए । उनले उर्जावान व्यक्तित्व पन्तको कामको राज्यले मुल्यांकन गर्नुपर्ने आवश्यकता रहेकोमा जोड दिए ।
नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले रुपन्देहीमा चरा हेर्न आउने गरी वृत्तचित्रले प्रचारप्रसारमा योगदान गर्ने विश्वास व्यक्त गरे । पत्रकार महासंघ रुपन्देहीका निवर्तमान अध्यक्ष यानेन्द्र जि.सी.ले वृत्तचित्रको बढी प्रचार गर्ने सके धेरै पर्यटक भित्र्याउन सकिने बताए ।
बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीका महासचिव विमलराज भट्टराईले चराप्रति नागरिकको रुची भएकाले चराको अध्ययन केन्द्र बन्ने र पर्यटकको बसाई लम्ब्याउन सकिने बताए । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष रामप्रसाद गौतमले चरासम्बन्धि वृत्तचित्र पर्यटन प्रबद्र्धनसंग सम्बन्धित रहेको बताए । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघका निवर्तमान अध्यक्ष समुन्द्र जि.सी.ले चरा र मानवबीच सुमधुर सम्बन्ध रहेको बताए । रुपन्देही उद्योग संघका वरिष्ठ उपाध्यक्ष माधव प्रसाद पौडेलले डकुमेन्ट्रीमार्फत यस क्षेत्रको प्रचारप्रसार हुने र विदेशबाट आउने पर्यटकको बसाई लम्ब्याउन सकिने विश्वास व्यक्त गरे ।
नेपाल पर्यटन पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष मीना ढकालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
वृत्तचित्रको नेपाली भाषामा पत्रकार सुरेश पौडेल र अंग्रेजीमा पत्रकार चेन्त पन्तको आवाज रहेको छ ।
।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij