
आइतवार , श्रावण १०, २०७८
काठमाडौँ, १० साउन ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले पार्टी एकतालाई कसैले चाहेर पनि रोक्न नसक्ने बताएका छन्। उनले संयुक्त कार्यदलले तयार पारेको दश बुँदे कार्यदिशा अनुसार नै पार्टी एकढिक्का भएर अघि बढ्ने बताए ।
प्रेस चौतारी नेपालले आज सदरमुकाम तम्घासमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले केही व्यक्तिको अहमताले पार्टीलाई कमजोर बनाउने र गठबन्धन सरकारसँग सहयात्रा गर्दै पार्टी प्रणालीलाई नै कमजोर बनाउने खेल खेलेको टिप्पणी गरे ।
नेता ज्ञवालीले अस्वभाविक गठबन्धनबाट निर्माण भएको वर्तमान सरकार निर्माण हुनुमा पनि एमालेभित्रका केही ठूला नेताको मुख्य भूमिका रहेको बताए । “केही साथी पार्टीमा नबस्न सक्नुहुन्छ, उहाँहरुका अभिव्यक्तिका कारण यति पर पुगिसक्नु भएको छ कि खाना खाँदा पानी खाने ठाउँ पनि बाँकी राख्नुभएको छैन”, ज्ञवालीले भने ।
उनले विगतका सबै कमी कमजोरीलाई बिर्सेर पार्टी एक ढिक्का भई अघि बढने जिकिर गरे। एमाले सत्तामा बस्नु र प्रतिपक्षमा बस्नु कुनै ठूलो कुरा र नौलो विषय नभएको उल्लेख गर्दै उहाँले खेलको नियममा रेफ्रिले निष्पक्ष रुपमा फैसला गरेन भने त्यसले विवाद सिर्जना गर्ने भन्दै नेता ज्ञवालीले बताए ।
गुल्मीदरबार गाउँपालिकाका अध्यक्ष स्वर्गीय अशोककुमार थापाको निधनमा श्रद्धाञ्जलि एवं समवेदना दिन शनिबार गृह जिल्ला पुग्नुभएका ज्ञवालीले आजै एमाले पार्टी कार्यालयमा यहाँका नेता तथा कार्यकर्तालाई पार्टीको आन्तरिक विषय र समसामयिक राजतीतिक घटनाक्रमका बारेमा जानकारी गराएका थिए। रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij