२०८२, आषाढ २७ गते

Jul 11 2025 | २०८२, आषाढ २७ गते

सिद्धार्थनगर नगरपालिकाको नयाँ भवन बुद्धत्व झल्कने शैलीमा बन्दै 

सोमवार , श्रावण ११, २०७८

भैरहवा, ११ साउन ।
सिद्धार्थनगर नगरपालिकाले नगरपालिकाको नयाँ भवन बनाउन सोमबार सम्झौता गरेको छ । नगरपालिकाको नयाँ प्रशासनिक भवन बुद्धत्व भल्कने बुद्धगुम्बा शैलीमा निर्माण हुने भएको छ । ५ तल्ले डिजाइन गरिएको भवनमा भुमिगत (अण्डरग्राउण्ड) पार्किङको सुविधा समेत हुनेछ । श्री स्काइ राम सागर जेभीले उक्त भवन ४ अक्टोबर २०२३ मा सम्पन्न हुने गरी १८ करोड ३७ लाख ४९ हजारमा ठेक्का सम्झौता गरिएको नगरप्रमुख हरिप्रसाद अधिकारीले बताए । उनले समयमा काम सकाउन पनि निर्माण कम्पनीका प्रतिनिधिलाई सचेत गराए । नगरप्रमुख अधिकारीले यस अघि पनि बुद्धको नगरी सिद्धार्थनगर बनाउन पर्यटकीय गेट अन्तिम चरणमा पुगेको बताए । नगरका ६ ल्याण्ड सडकमा बुद्धका मुर्ति राखेर पनि नगरको सौन्दर्य बुद्धमय बनाउन लागिएको उनले चर्चा गरे ।

Siddharthanagar (3).jpgSiddharthanagar (5).jpgSiddharthanagar (1).jpg

निर्माण कम्पनी र नगरपालिकाका प्रतिनिधिबीच सोमबार सम्झौता पत्र एक आदानप्रदान गरिएको थियो । सम्झौतामा निर्माण कम्पनीका प्रतिनिधि किशोर न्यौपाने र नगरपालिकाबाट प्रमुख प्रशासकी अधिकृत तुल्सीराम मरासिनीले हस्ताक्षर गरेका हुन् ।

सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ स्थित हाटबजार नजिकै भवन निर्माण हुन लागेको हो । भवन बुद्धधर्ममा आधारित विहार वास्तुकलाको प्रयोग गरी निर्माण हुनेछ । बुद्धको नगरी सिद्धार्थनगरलाई चिनाउन र पर्यटकको नजर पनि जाने गरी भवन निर्माण हुने इञ्जिनियर यमलाल पाण्डेले बताए । उनले बुद्धका अनुयायी र लुम्बिनी आउने पर्यटक पनि सिद्धार्थनगरमा आउने खालको भवन हुने बताए । 

भवन परिसरमा ३२ वटा कार र ४० वटा मोटरसाइकल अटाउने स्थान रहेको वरिष्ठ इन्जिनियर शैलेन्द्रप्रसाद श्रेष्ठले बताए । सम्झौता आदानप्रदान कार्यक्रममा नगर उपप्रमुख उमा काफ्ले, प्रमुख प्रशासकीय अधिकृत तुल्सीराम मरासिनी, वरिष्ठ इञ्जिनियर शैलेन्द्र प्रसाद श्रेष्ठ, इञ्जिनियर यमलाल पाण्डे, जीवन अर्याल, सूूचना अधिकारी देव प्रसाद ज्ञवाली, वडा अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो । 

Siddharthanagar (2).jpg