
बुधवार , श्रावण १३, २०७८
भैरहवा १३ साउन। लुम्बिनी प्रदेशकी उद्योग वन तथा वातावरण मन्त्री कल्पना पाण्डेको स्वास्थ्यमा सुधार आएको छ। काठमाण्डौको नर्भिक अस्पतालमा उपचाररत मन्त्री पाण्डेको स्वास्थ्यमा सुधार आएको अस्पतालले जनाएको छ।
गत आईतबार एक्कासी स्वास्थयमा गंभिर समस्या आई अस्पताल भर्ना भएकी पाण्डे खतरामुक्त रहेको अस्पतालले जनाएको छ। अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाका अनुसार मन्त्री पाण्डेको स्वास्थ्यमा सुधार आएपछि आईसीयू कक्षबाट बुधबार बिहान नर्मल वार्डमा सारिएको छ। न्युरोसम्बन्धी रोग जिडिएसबाट गम्भीर बिरामी भएकी मन्त्री पाण्डे गत आइतबारदेखि अस्पतालको आईसीयू कक्षमा उपचाररत थिइन्।
जनसम्पर्क अधिकृत बास्तोलाले भने, ‘उहाँको स्वास्थ्य अवस्था खतरामुक्त छ। आजै बिहानदेखि उहाँलाई नर्मल वार्डमा राखेर उपचार गराइरहेका छौं।’ आइतबारदेखि दुवै खुट्टा नचल्ने भएपछि मन्त्री पाण्डेलाई भैरहवामा रहेको भीम अस्पतालबाट बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल हुँदै थप उपचारका लागि नर्भिक अस्पतालमा लगिएको थियो।
उनलाई न्युरोनसम्बन्धी रोग जिडिएस भएको चिकित्सकहरुले बताएका छन्। मन्त्री पाण्डेलाई चिकित्सक पंकज जलान र यादव भट्टको टीमले उपचार गरिरहेको अस्पतालले जनाएको छ।
चिकित्सकका अनुसार कोभिड–१९ को खोप लगाएपछि उनीमा यस्तो समस्या देखिएको थियो। तर, खोपको असरले नै यस्तो भएको भन्ने एकिन पुष्टि भने भएको छैन्।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij