२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कोरोना महामारीमा लैङ्गिक हिँसाको जोखिममा महिला 

बुधवार , भाद्र २४, २०७७

अनिता शर्मा ‘अनु’  
यो ब्रह्माण्डमा रहेका चरचचर जगत प्रकृति वा अदृष्य शक्तिको नियन्त्रणमा भएको विश्वास गरिन्छ । विभिन्न युगमा हैजा, स्मलफक्स, इन्फ्लुएन्जा, मेनेन्जाइटिस, पोलियो, एलो फिभर, टि.बि, प्लेग, स्प्यानिस फ्लु, हङकङ फ्लु, स्वाइन फ्लु, जिका भाइरस, मन्कीपक्स, सार्स जस्ता विभिन्न नाम दिइएका महामारीले विश्व त्रहीमाम भएको इतिहास साक्षी छ । 

महामारीलाई अङग्रेजीमा एपिडेमिक र प्यान्डेमिक दुवै अर्थमा चिनिन्छ । कुनै एक क्षेत्र, जनसंख्या र समुदायका ठूलो संख्याका मानिसहरूमा फैलने सरुवा रोगलाई एपिडेमिक र त्यही एपिडेमिक धेरै देश वा महादेशमा फैलियो भने त्यसैलाई प्यान्डेमिक भनिन्छ । 

हाल विश्व एकप्रकारको नौलो भाइरसले आतङ्कित छ जसलाई सार्स(सिओभि) वा नोभेल कोरोना भाइरसको नामले पनि चिनिन्छ । सर्वप्रथम सन २०१९ डिसेम्बरमा चीनको उहानमा फेला परेको यो भाइरसलाई विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस डिजिज २०१९ नाम दिएको छ जसलाई छोटकरीमा “कोभिड १९” भनिन्छ । ल्याटिन भाषाको “क्राउन” मुकुट वा “रेथ” मालाबाट आयतित कोरोना शब्द जर्मन भाषाको “गारल्याण्ड” वा “रेथ” मालाबाट प्रचलनमा आएको मानिन्छ । पहिलोचोटी “कोरोनाभाइरस” शब्दावलीको प्रयोग सन १९६९ मा इन्फर्मल गु्रप अफ भाइरोलोजिष्टले आफ्नो जर्नल नेचर टु डेजिग्नेट द न्यू फेमिली अफ भाइरसमा गरेको थियो ।

चौधौँ शताब्दीमा ७५(२०० मिलियन मानिसको ज्यान लिएको प्लेग रोगपछि यो विश्वमा भयावह रूपमा फैलँदै गइरहेको छ । कोभिड १९ लाई सन २००२ नोभेम्बरमा चीनकै फोसान शहरमा देखापरेको सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम सार्स सिओभि रोगको अर्को संस्करण पनि मानिन्छ जसले विश्वमा ७७४ मानिसहरूको ज्यान लिएको थियो । नोभेल कोरोनाभाइरस स्वासप्रश्वाससम्बन्धी सरूवा रोग हो । यो महामारीको कारण हालसम्म विश्वका २१६ मुलुकका २७,०९७,३५७ भन्दा बढी व्यक्ति सङ्क्रमित र ८८४,३३६ भन्दा बढीको मृत्यु भइसकेको छ । अमेरिकामा मात्रै ६,४३२,१५४ भन्दा बढी सङ्क्रमित र १९२,८५० भन्दा बढीको मृत्यु तथा छिमेकी मुलुक भारतमा ४,११८,५८३ भन्दा बढी सङ्क्रमित र ७०,७१२ जना मृत्यु भइसकेको कहालीलाग्दो अवस्था छ । गत जनवरी ३० सम्म केवल अन्तराष्ट्रीय सरोकारको जनस्वास्थ्य सङ्कटमात्र मान्दै आएको विश्व स्वास्थ्य सङ्गठनले २०२० मार्च ११ मा आएर भने यसलाई प्यान्डेमिक नै घोषणा गर्न बाध्य भयो ।
 
नेपालमा कोभिड १९ लकडाउन देखि निषेधाज्ञासम्म

नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क हेर्दा हालसम्म ४६,२५७ जनामा सङ्क्रमण पुष्टि भएको र २८९ जनाको मृत्यु भइसकेको छ । यो कुल जनसंख्या २,९९,२६,३२९ मध्ये ७,६८,३४५ अर्थात जम्मा २ दशमलब ५६ भन्दापनि कम प्रतिशत व्यक्तिमा गरिएको पिसिआर परीक्षणको नतिजा भएकोले परीक्षणको दायरा बढाएको खण्डमा डरलाग्दो तथ्याङ्क आउन सक्छ ।
 
कोभिड १९ लाई एक किसिमको आतङ्कको रूपमा लिई नेपाल सरकारले २०७६ चैत ११ गतेदेखि १८ गतेसम्म राष्ट्रव्यापी लकडाउन घोषणा ग¥यो । छिमेकी राष्ट्र भारतमा पनि सोको भोलिपल्टै २१ दिने लकडाउनको घोषणा भयो । भारतमा हाल लामो दूरीका रेल तथा यातायात खुलेपनि नेपालमा बीचमा जोरबिजोर प्रणालीको परीक्षण हुँदै स्थानीय तहमा जिल्ला र क्षेत्रगत रूपमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९३० तथा सङ्क्रामक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी निषेधाज्ञा घोषणा गरेको अवस्था छ । 

सुरुमा लकडाउन घोषणा गरी सुस्ताएको सरकार स्वास्थ्य सामाग्री खरिद काण्डमा लागेको भ्रष्ट्राचारको आरोपको प्रतिरक्षा गर्नेमै अधिकांश बर्बाद ग¥यो । पिसिआर परीक्षणलाई भन्दा बेलायत, भारत लगायत विश्वका अन्य मुलुकले प्रतिबन्ध लगाएको तथा विश्व स्वास्थ्य सङ्गठन र आफ्नै स्वास्थ्य अनुसन्धान परिषदले समेत अविश्वासनीय मानेको आरडिटी परीक्षणमा स्वास्थ्य मन्त्रालयले जोडबल लगायो । एकातर्फ परीक्षणको अविश्वासनीयता अर्कोतर्फ नक्कली किटको कारण आरडटी परीक्षणले जनमानसमा अन्यौल र आतङ्क नै सिर्जना र्गयो । पछि स्वास्थ्य क्षेत्र र जनस्तरबाट भएको व्यापक विरोध सँगसँगै काठमाडौँ जिल्ला अदालतका एकजना माननीय न्यायाधीशले त सुनुवाइको लागि अदालतमा पेस गरिने प्रतिवादी र सुरक्षाकर्मीको आरडिटी परीक्षण गरेको रिपोर्टलाई मान्यता नदिई आरटिपिसिआर रिपोर्ट नै अनिवार्य गर्ने आदेश गरेपछि भने सरकार आरडिटी परीक्षणको नाटक बन्द गर्न बाध्य भयो । 

कोभिड ११ को त्रासदीले जनजीवन त्रस्त्र र आतङ्कित रही कोठा, घरभित्र थन्किन बाध्य छ । स्कुल, कलेज, उद्योगधन्दा, कलकारखाना, पसल निजीक्षेत्र लगायत सम्पूर्ण व्यापार व्यवसाय बन्द भएकोले आर्थिक कृयाकलाप शून्यप्रायः छ । वैदेशिक रोजगारीमा भारत गएका नेपालीहरू खुला सीमानाको कारण नेपाल फर्किसके भने खाडी लगायत तेस्रो मुलुकमा गएकामध्ये उडान पाउने केही भाग्यमानीहरू नेपाल फर्किसकेका छन भने विदेशमा रहेका पनि रोजगारी गुमाएर नेपाल फर्कने उडानको प्रतिक्षामा छन । जनजीविकाका सबै पहलुहरू ठप्प छन, जनता राहतको प्रतिक्षामा छन, सरकार भने लकडाउन वा निषेधाज्ञाको भुलभुलाइ वा शब्दजालमा भाषा फेरिफेरि सत्ताको लुछाचुँडी र आन्तरिक पार्टीगत किचलोमा मस्त छ । 

महिलाको विश्वव्यापी अवस्था
विश्व नै कोरोना महामारीको कारण बन्दीप्रायः अवस्थामा रहेको बेला आय आर्जनको स्रोत, रोजगारी गुमेका वा व्यवसाय बन्द भएका जनसङख्याको ठूलो हिस्सा आर्थिक रूपमा आइसियूमा छ । यस्तो परिस्थितिमा आधा आकास ढाकेका महिला वर्गको स्थिति त झन दयनीय छ । 

गत मे ४ मा संयुक्त राष्ट्रसंघद्वारा प्रकाशित वल्र्ड पपुलेसन प्रस्पेक्टका अनुसार विश्वका २०१ मध्ये १२५ देशहरूमा पुरुषभन्दा महिलाको जनसंख्या बढी र पुरुषको अनुपात १३ मुलुकहरूमा ९० र ४२ देशहरूमा ९५ भन्दा घटी छ । पुरुषको तुलनामा महिलाको उच्च अनुपात भएका विश्वका सर्वोच्च १० मुलुकहरूमा यूरोपका ५, उत्तर अमेरिकाका ३ र एशियाका २ वटा छन । एशियामा नेपालको लैङ्गिक अनुपात सवभन्दा कम ८४.५५ छ, जसलाई हङकङ ८४.७८ ले पछ्याइराखेको छ । 

पपुलेसन ओडोमिटरका अनुसार विश्व स्वास्थ्य सङ्गठनले त आफ्नो वेव पोर्टलमा कोभिड १९ मा हुनसक्ने महिला विरुद्धको हिँसाबारे सचेतान फैलाउन तस्वीर सहितको जानकारीमूलक सामाग्री राखेको छ ।  “कोभिड १९ ले महिलामा पारेको असर” शीर्षकमा संयुक्त राष्ट्रसंघ महासचिवद्वारा सार्वजनिक पोलिसी ब्रिफमा स्वास्थ्यदेखि अर्थतन्त्र, सुरक्षादेखि सामाजिक संरक्षणसम्मका हरेक तह र तप्कामा महिला र बालिकाहरू केवल लिङ्गकै कारण प्रताडित भएको उल्लेख छ । यसले उनीहरूलाई उपलब्ध गराइनुपर्ने प्राथमिकताका मापकहरू मात्र नभई तात्कालिक राहतदेखि लामो अवधिको प्रत्युपलब्धीका प्रयासहरू सुझाएको छ ।

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषले महामारीको सङ्कटमा महिला र बालिका बढी जोखिममा हुने भन्दै जनस्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा महिलाहरूको असमान प्रतिनिधित्व भएकोले उनीहरू रोगसँग अनाच्छादित हुने खतरा बढी हुने, तनाव, सीमित चलायमानता र जीविकोपार्जनमा गतिरोध जस्ता कारण महिला र बालिकाउपर लिङ्गमा आधारित हिँसा र शोषणको भेद्यता बढ्न गएको, स्वास्थ्य प्रणालीले महिलाको लैङ्गिक र प्रजनन स्वास्थ्य सेवा, परिवार नियोजनमा पहुँच, जन्मपूर्वको हेरचाह र अन्य संवेदनशील सेवाका स्रोतहरूलाई दिशान्तर गर्दै गएको उल्लेख गरेको छ ।

युएन ओमनद्बारा कोभिड १९ को सम्बोधनमा हालै सार्वजनिक महिला र बालिका विरुद्धको हिँसासम्बन्धी पोलिसी ब्रिफ नं.१७ ले विगत १२ महिनामा १५ देखि ४९ उमेर समूहका झण्डै १८ प्रतिशत महिला र बालिका घनिष्ठ साथीद्बारा भौतिक वा यौनिक हिँसामा परेका, महिलाले जीवनभरमा अनुभव गरेको यौन साथीको हिँसाको अङ्क त झन ३० प्रतिशतले बढ्न सक्ने, परिवार, समुदाय र बृहद समाजबाट हुने हिँसामध्ये यौन साथीद्बारा हुने हिँसा महिलाले खेप्नुपर्ने लिङ्गमा आधारित हिँसाको चित्रण गरिएको छ । अहिलेको डिजिटल युगमा त साइबर हिँसा सामान्य भएर आएको छ । यूरोपबाट प्राप्त तथ्याङ्कले त १५ वर्ष माथिका प्रत्येक दशमा एक महिलाले कुनै न कुनै प्रकारको अनलाइन हिँसा अनुभव गरेको देखाउँछ । 

कोभिड १९ सिर्जित घरमा बस्ने उर्दीका कारण उत्पन्न महिला विरुद्धको हिँसाले अर्को भाइरसको स्थान लिएको पाइन्छ । अहिले विश्वको आधाभन्दा बढी जनसंख्या लकडाउनमा भएसँगै घरेलु हिँसा महामारीको पहिलो हप्तामा ह्वात्तै बढ्न गएको पाइयो । थुनाजस्तो बसाइ र तनावले उल्लेखनीय सुरक्षा, स्वास्थ्य र मौद्रिक चिन्ताले थप लैङ्गिक हिँसा बढाएको तथ्याङ्क पाइन्छ ।
कोभिड १९ को सुरुआतसँगै हिँसाको उजुरीसहित हेल्पलाइनमा फोनगर्ने महिलाको संख्यामा बढोत्तरी भएको तथ्याङ्कले देखाउँछ । ट्यूनिसियामा लकडाउनको पहिलो दिनमै यो तथ्याङ्क पाँचगुणा बढेको र बेलायतमा लकडाउन अवधिको पहिलो हप्तामा राष्ट्रिय घरेलु हिँसा हेल्पलाइनमा फोन गर्ने महिलाको संख्या २५ प्रतिशत र वेवसाइट भिजिट गर्नेको संख्या १५० प्रतिशतले बढेको तथ्याङ्क युएन ओमनले सार्वजनिक गरेको छ ।  

नेपालमा महिला र बालिकाको अवस्था
केन्द्रीय तथ्याङ्क विभागद्बारा प्रकाशित वार्षिक घरपरिवार सर्वेक्षण ०७१÷७२ ले नेपालको श्रम बजारमा १० वर्षभन्दा माथि उमेर समूहका ७७.२ प्रतिशत भएको र कुल रोजगारीमा ६९.४ प्रतिशत कृषिक्षेत्रको योगदानमध्ये सोको ८१ प्रतिशत महिलाको श्रममा निर्भर रहेको छ । नेपालमा बेरोजगारीको कहालीलाग्दो अवस्था छ । भारत बाहेकका खाडी, मलेसिया र अन्य मुलुकहरूमा करिब ४०  लाखभन्दा बढी नेपाली रोजगारीको खोजिमा विदेशिएको अनुमान गरिन्छ । महिलाहरू जापान, जर्मनी, इजरायल जस्ता तुलनात्मक सुरक्षित मुलुकबाहेक साउदी अरेबीया, कुवेत, कतारजस्ता खाडी मुलुकहरूमा घरेलु कामदारमात्र नभई अफ्रिकाको केन्याजस्ता अत्यन्त असुरक्षित गन्तव्यमा मानव तस्करको माध्यमबाट जान विवस भएको पुष्टि मिडिया रिपोर्टिङबाट हुने गरेको छ । अदालतमा पर्ने मुद्दाहरूबाट पनि विभिन्न गैरकानूनी मार्गबाट विदेश पुगी अलपत्र भएका महिलाहरू मानव बेचबिखन मुद्दाको पीडित वा जाहेरवाला बनी आउने गरेको तथ्याङ्क पाइन्छ ।    

कोरोना महामारीको कारण आर्थिक क्षेत्र धारासायी भई रोजगारी गुमाएर, काम गर्दै आएको कम्पनी वा प्रतिष्ठान बन्द भएर, कम्पनी मालिक वा साहूको शोषणमा परेका महिलाहरूको संख्या उल्लखनीय छ । वैदेशिक रोजगारीको कारण सृजित पारिवारिक विखण्डनको कारण सबभन्दा मर्कामा पर्ने वर्ग भनेको महिला र केटाकेटी नै हो । गत चैत ११ मा सुरु भएको लकडाउन स्वरूप हालको निषेधाज्ञा अवतारसम्म आइपुग्दा पाँचमहिना व्यतीत भइसकेको छ । यो अवधिमा अन्य समयमा अधिकांश समय घर बाहिरै बिताउने पुरुष, हाउसवाइफ, कामकाजी महिला र स्कुले बालबालिकाहरू समेत कोठा वा घरकै साँगुरो घेरामा थुनिएर बस्नु परेको बाध्यताको गलत फाइदा नजिककै नातेदार, यौनसाथी, सहपाठी लगायतले उठाएको वा यौनहिँसा गरेको घटना कुनै न कुनै रूपमा सर्वजनिक भएका पाइन्छन् ।

नेपालमा पनि क्वारेन्टिनमा बसेको महिलालाई बलात्कार गर्ने, सुरक्षाकर्मीद्वारा नै व्याभिचारको शिकार हुनुपरेका प्रतिनिधिमूलक समाचार नेपाली मिडियाले पनि सार्वजनिक गर्दै आएको पाइन्छ । लकडाउनको एक महिनाको अवधिमा घरेलु हिंसाका १०९४ मुद्दा दर्ता भएको तथ्याङ्क  नेपाल प्रहरीको कार्य एवं अनुसन्धान विभागले सार्वजनिक गरेको थियो । कोभिड १९ का कारण आर्थिक क्षेत्रमा पर्न गएको असरले आय आर्जनका स्रोतहरू ठप्प हुनगई सृजित तनाव र ट्रामाको अवस्थाले घरेलु वा लैङ्गिक हिँसाको ब्यारोमिटर बढाएको पाइन्छ । क्वारेन्टिन वा आइसोलेसन जस्ता एकान्तबास र नजरबन्द स्वरूपको लकडाउन वा निषेधाज्ञाको कारण पर्न गएको गहिरो मनोवैज्ञानिक असरका कारण यौनिक हिँसा बढ्न गएको छ, जसको प्रत्यक्ष शिकार महिला र बालबालिकाहरू हुने गरेको पाइन्छ । 

समस्याको सम्बोधन
दुईतिहाइ बहुमतका साथ सत्तारोहण गरेको सरकार सार्वजनिक व्यवस्थापनका हर क्षेत्रमा असफलप्रायः हुँदै गइरहेको परिप्रेक्ष्यमा अप्रत्याशितरूपमा देखापरेको कोभिड(१९ को कहरको सही सम्बोधन गर्न नसक्दा सरकारप्रतिको जनताको शेष विश्वास पनि निमिट्यान्न हुन पुगेको छ ।  

कोरोनाको उद्गमस्थल चीन र सङ्क्रमणको भूमरीमा ग्रस्त भारतद्बारा परिवेष्ठित नेपालको भारतसँगको खुला सीमाना, कमजोर जनस्वास्थ्य व्यवस्थापन, सचेतनाको कमी, स्रोत साधन र पूर्वाधारको कमी र कुशासन जस्ता कारणले पनि कोरोनाको जोखिममा उच्च बनाएको छ । शैक्षिक प्रतिष्ठान बन्द भएका कारण महिला तथा बालबालिकाहरू घरायसी कामकाज र अनौपचारिक क्षेत्रको अतिरिक्त जिम्मेवारी वहन गर्न बाध्य छन । 

कोरोना विरुद्धको युद्धमा अग्र मोर्चामा खट्ने नर्स, डाक्टर, पारामेडिक्स, स्वास्थ्य जनशक्तिको होस वा सामुदायिक कार्यकर्ताको होउन् महिलाहरूको हिस्सा विश्वभरमै धेरै छ । यस्ता जोखिमयुक्त काममा खट्दा कोरोना संक्रमणको संभावना ज्यादा हुने गर्छ । त्यस्तै अनिच्छित गर्भ धारण तथा प्रजनन स्वास्थ्य सेवाका निम्ति स्वास्थ्य संस्थामा जानुपर्दा होस् वा घरमै डेलिभरी गर्दा होस यसले थप स्वास्थ्य जोखिम बढाएको छ । 

अन्तमा, मानवजातिको उत्पत्तिदेखि विकासका विभिन्न मोडमा देखापर्ने परिघटनाको एक श्रृङ्खलाको रूपमा वर्तमान कोरोना संक्रमणलाई लिन सकिन्छ ।  मानव जातिले युद्ध, भोकमारी र महामारीजस्ता चुनौतिको सामना गर्दै आएको छ । कोभिड १९ महामारीको अवस्थामा महिला, बालबालिका वर्ग उच्च जोखिममा रहेकोले यसको सम्बोधन गर्न नीतिगत प्राथमिकता, स्वास्थ्य सचेतना अभिबृद्धि र विशेष कार्यक्रम थप गरी जोखिम न्यूनीकरणमा राज्यको सार्थक भूमिका आजको आवश्यकता हो ।