
बुधवार , भाद्र २४, २०७७
भैरहवा, २४ भदौ ।
तोकिएको समयमा रासायनिक मल आपूर्ति नगरी राज्यलाई मात्रै नभएर किसानलाई समेत धोका दिने ठगहरुलाई जेल हाल्नुपर्ने किसानहरुले माग गरेका छन् ।
कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालको निर्वाचन क्षेत्र रुपन्देही क्षेत्र नम्बर ३ का अगुवा किसानहरुले सरकारी कदमको स्वागत गर्दै बदमासी गर्ने ठेकेदारलाइ आजीवन कारबास पठाउनुपर्ने माग गरेका हुन् ।
उनीहरुले एकै स्वरमा भनेका छन, ‘ल्याउँछु ल्याउँछु भनेर अन्तिम समयमा पनि नल्याउने ठगहरुलाई जेलमा हाल्नुपर्छ । ’
सियारी मिलनचोकका अगुवा किसान डबल बहादुर घर्तिले भने, ‘सम्झौता गरेर धोका दिने ठेकेदारलाई धरौटी जफत गरेर मात्रै हुँदैन, जेल नै हाल्नुपर्छ । सरकारले अझै कडा कदम चाल्नुपर्छ ।’
अर्का किसान दल बहादुर क्षेत्रीले भने, ‘मलखाद, बिउबिजन जस्तो व्यवस्थापनको काम राज्यले आफै गर्नुपर्छ, ठेकेदारलाई दिनु नै हुन्न । ’ क्षेत्रीले धान पसाउने समयमा मलखाद हाल्न नपाउँदा किसानहरु तड्पीरहेको पनि उनले बताए । उनले भने, ‘धान पसाउने बेला भयो , यस्तो बेला युरीया हालिएन भने धान नैै फल्दैन । ’
क्षेत्रीले यस्ता ठेकेदारसंग सम्झौता मात्रै रद्द गरेर नपुग्ने भविष्यमा उनीहरुलाई कुनै पनि ठेक्कामा सहभागी हुन नपाउने गरी कारवाही गर्न पनि आग्रह गर्नुभयो ।
मर्चवारी गाउँपालिकाका किसान रामाशंकर अहिरले समयमै मलखाद नल्याउने ठेकेदारलाई सरकारले गरेको कारवाहीले किसानहरु खुशी भएको बताए । उनले भने, ‘हरेक वर्ष मलखादको समस्या हुन्छ, तर यो पटक कारवाही भएको छ , अर्को पटक त मल ल्याउने सम्झौता गरेकोले धोका दिन्न यति भएपछि । ’
सियारी वडा नम्बर ५ का कृषक मणिराम थारुले गाईभैसीको मलखाद प्रयोग गर्नेतर्फ विस्तारै लागिरहेको बताए । उनले भने, ‘अर्काको देशबाट आउने मलको के भर परेर बस्नु , गाईभैसीको मल हाल्यो ढुक्क । ’
अर्को अगुवा किसान कमला सापकोटालाई पनि यति बेला खेतमा हाल्ने युरिया चाहिएको छ । उनको खेतमा लगाएको धान पसाउन लागेको छ तर मलखादको कमीले भने जस्तो हुर्किन सकेको छैन । युरियाको लागि दौडधुप गरिरहेकी सापकोटाले सहकारीमार्फत डिएपी भने पाइन तर युरिया पाइनन् । साबा, राम, गोरखनाथ जातको विउ लगाएकी सापकोटाले भनिन्, ‘युरिया पाइएकै छैन, धान पसाउने समय भयो । ’
समयमै मलखाद पाउने आशामा ज्ञानविज्ञान सहकारी संस्था र शुद्धोधन सहकारी संस्था गरी दुइर्वटा सहकारीमा आवद्ध रहेकी सापकोटालाई प्रायाप्त मलखाद नहाल्दा यस वर्ष धानको उब्जनी कम हुने डर बढेर गएको छ । उनले भनिन, ‘मल नै राम्रोसंग नहालेपछि के उब्जनी होला र ? ’
किसानलाई चाहिएको बेला मलखाद दिने प्रतिवद्धतासहित ठेक्का लिएर धोका दिने ठेकेदारलाई राज्यले कारवाही गरेको खबर पाएपछि सापकोटा खुशी भएकी छन् । ‘सबै ठेकेदारले विगारेका हुन, कृषि मन्त्रीले ठग ठेकेदारलाई कारवाही गरेको सुनेको छु । त्यस्ता ठेकेदारलाई कारवाही भयो भने अर्को साल समयमै मलखाद पाइएला । ’
उनले भनिन् ‘कृषि प्रधान देशमा किसानलाइ चाहिने मलखाद पु¥याउने जिम्मा राज्यकै नै होला तर अहिलेसम्म हुन सकेन । तर ढिलै भए पनि कृषिमन्त्रीले किसानको पक्षमा कदम चाल्नुभएको छ । ’
धानमा रोप्नु भन्दा पहिले हिलोमा दुईभाग डीएपी र एक भाग युरिया हाल्नुपर्छ । त्यसै गरी धान रोपेको २२ दिनपछि प्रतिकठ्ठा युरिया र जिंक हाल्नुपर्छ । त्यसपछि पसाउने बेला युरिया हाल्नु पर्दछ । यति बेला धान पसाउने समय हो ।
संघीय सरकार अन्तर्गत कृषि मन्त्रालयले धान पसाउने बेला सम्मपनि युरीया मल सप्लाई दिन नसकेको भन्दै दुई ठेकेदार कम्पनीको धरौटी समेत जफत गरेर कालो सूचीमा राख्ने तथा भविष्यमा अन्य ठेक्कामा सहभागी हुन नपाउने गरी कारवाही अगाडी बढाएको छ । मन्त्रालयले शारदा प्रसाद अधिकारीको शैलुंग इन्टरप्राइजेज र हुमनाथ कोइरालाको हानोको मल्टिप्रपोज कम्पनीलाई तोकिएको समयमा मलखाद उपलब्ध नगराएको हुँदा धरौटी सम्झौता रद्द गर्ने, जफत गर्ने र थप कारवाही गर्ने निर्णय गरेको थियो ।
ती कम्पनीहरुले भदौं २० गतेसम्म ५० हजार मेट्रिक टन मलखाद ल्याउने गरी सरकारसंग सम्झौता गरेका थिए । शैलुंग इन्टरप्राइजेजले प्रतिमेट्रिक टन ३२०।२५ डलरमा र हानोको मल्टिप्रपोजले ३९०।९० डलरमा मल ल्याउने गरी सम्झौता गरेका थिए । ठेकेदारले समयमै मलखाद नल्याउँदा यति बेला धान पसाउने बेला किसानहरुले मलखाद खेतमा हाल्न पाएका छैनन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij