२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

‘स्पेन भ्रमण निकै उपलब्धीमूलक’

आइतवार , श्रावण ३१, २०७८

भैरहवा, ३१ साउन । 
लुम्बिनी सांस्कृतिक नगरपालिका र लुम्बिनी गार्डेन फाउण्डेशनको आयोजनामा स्पेन भ्रमणबारे जानकारी एवं सहकार्य पालिका तथा संघ–संस्थाबीच अन्तरक्रिया कार्यक्रम लुम्बिनीमा सम्पन्न भएको छ । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको नेतृत्वमा १० सदस्यीय टोली २०७७ चैत २३ गते स्पेनको एक्सत्रेमदुरा प्रान्तको कोथेरेस शहर पुगेको थियो । लुम्बिनी गार्डेन प्रोजेक्टको शान्ति सम्मेलनमा सहभागि हुन टोली स्पेन पुगेको थयो ।

सोही भ्रमणबारे जानकारी गराउन अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको लुम्बिनी गार्डेन फाउण्डेशनका संस्थापक उपाध्यक्ष गोविन्द सुवेदीले बताए । ‘कोभिड–१९ का कारण स्पेन भ्रमणबारे जानकारी गराउन सकेका थिएनौै, मुख्यतयाःभ्रमणमा सरसफाई, शिक्षा, स्वास्थ्य, पर्यटन, खेलकुद, कृषिसंग सम्बन्धि सम्झौता भएको थियो, ’उनले भने । स्पेनसंगै युरोपका विभिन्न मुलुकहरुसंग फाउण्डेशनले सम्बन्ध बढाएको र बुद्धभूमिको माटोमा प्रत्येक मुलुकका पर्यटन नेपाल आउनुपर्छ भन्ने उद्देश्यले अगाडी बढेको उनले बताए ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बुद्धभूमि र यहाँको विकासबारे लुम्बिनी गार्डेन फाउण्डेशनले महत्वपूर्ण कार्य गरेको बताए । उनले नेपाल र स्पेनको कुटनीतिक सम्बन्धलाई थप मजबुत बनाउन भ्रमण निकै उपलब्धीमूलक भएको बताए । उनले स्पेन भ्रमण केवल भ्रमण मान नभई नेपाल र स्पेनबीच सम्बन्धलाई घनिष्ट बनाउने उद्देश्य रहेको बताए । उनले बुद्धभुमि लुम्बिनीको विकासका लागि काम अगाडी बढाउने, संस्थागत सम्बन्ध कायम गर्ने जस्ता विषयमा भ्रमण केन्द्रीत भएको जानकारी दिए । सरकारसंग समन्वय गरेर फाउण्डेशन अगाडी बढेको उनको भनाइ थियो । ‘कृषिको क्षेत्रमा पालिकालाई अगाडी बढाउने भन्ने कुरा भएको छ, परिणाम आउन केही समय लाग्न सक्छ, कोभिडले अधिकांश क्षेत्रलाई प्रभावित पार्यो, हाम्रा योजनालाई पनि ठेस पुर्याएको छ,’उनले भने ।

बुद्ध नेपालमा जन्मेका हुन् र नेपालको बारेमा उजार गर्न स्पेनले महत्वपूर्ण भूमिका खेलेको र भ्रमणको प्रत्यक्ष प्रतिफल नै यही भएको अध्यक्ष तिमिल्सिनाको भनाइ थियो । बुद्धसंग सम्बन्धित जति नै गुम्बा र मूर्ति बनाए पनि लुम्बिनीमै मायादेवी मन्दिर र अशोक स्तम्भ रहेकाले अन्य मुलुकमा बनाइएका संरचनाले लुम्बिनी आउन उत्सुकता जगाउने उनले विश्वास व्यक्त गरे । ‘स्पेनमा १०७ हेक्टर जमिनमा विशाल बुद्ध पार्क रहेको र बुद्ध पार्कमा बुद्ध मूर्ति निर्माण गरिएको छ, बुद्ध नेपालमा जन्मिएका हुन भन्ने उल्लेख गरिएको छ, पार्कमा जाने व्यक्तिले बुद्ध र लुम्बिनीको बारेमा जान्ने अवसर पाउँछन र लुम्बिनी आउने चाहना हुन्छ, ’उनले भने ।

प्रतिनिधिसभा सदस्य डा. सूर्य पाठकले भ्रमणले नेपाल र स्पेनबीचको सम्बन्ध थप प्रगाढ भएको बताए । उनले दुई देशको सम्बन्धलाई थप मजबूत बनाइएको बताए ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले लुम्बिनीमा पर्यटकको बसाईको अवधि लम्ब्याउन विभिन्न कार्यक्रमहरु ल्याउनुपर्ने बताए । उनले लुम्बिनी सांस्कृतिक नगरपालिका र कोथेरेस शहरबीच भगिनी सम्बन्ध स्थापित गरिएको बताए । नगरप्रमुख चौधरीले लुम्बिनी सांस्कृतिक नगरपालिकामा १५० शैयाको अस्पतालका लागि प्रस्ताव गरिएको र त्यो स्वीकृत भएको जानकारी दिए ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले लुम्बिनी गार्डेन फाउण्डेशनले महत्वपूर्ण कार्य गरेको बताए । उनले समन्वय र सहकार्यको आवश्यकता रहेकोमा जोड दिए ।
देवदह नगरपालिकाका प्रमुख हिरा बहादुर खत्रीले लुम्बिनी र यससंग जोडिएका देवदह, रामग्राम र कपिलवस्तुमा रहेका पर्यटकीय तथा पुरातात्विक क्षेत्रहरुको प्रचारप्रसार गर्नु भ्रमणको उद्देश्य रहेको बताए । उनले स्पेनका मन्त्री तथा सांसदले लुम्बिनीको भ्रमण गरिसकेको अवस्थामा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको नेतृत्वमा ४ वटा नगरपालिकाका प्रतिनिधिहरुसहितको टोली स्पेन भ्रमणमा गएको बताए । ‘भ्रमणले राम्रो प्रतिफल दिएको विश्वास र अपेक्षा गरेका छौं, ’उनले भने ।

राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाको नेतृत्वमा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन प्रसाद चौधरी, देवदह नगरपालिकाका प्रमुख हिरा बहादुर खत्री, रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ता र कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहसहितको १० जनाको टोली पाँचदिने भ्रमणको लागी स्पेन पुगेको थियो ।

IMG_2179.JPG