
मंगलवार , श्रावण ६, २०७७
भैरहवा, २२ असार ।
भैरहवामा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अवधि डिसेम्बरसम्म लम्ब्याइएको छ । चीनबाट आउनुपर्ने उपकरण र प्राविधिक जनशक्ति आउन ढिलाइ हुँदा निर्माण अवधि पाँचौ पटक थपिएको हो ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार चौथो पटक विमानस्थल निर्माणको अवधि थपिएको हो । यस अघि नदीजन्य सामग्रीको अभावले अवरोध पुगेको विमानस्थलको निर्माणमा अहिले भने उपकरण र प्राविधिक जनशक्ति अभाव ढिलाइको मुख्य कारण बनेको छ । अब भने थपिएको समय भित्रै निर्माण कार्य सम्पन्न हुने प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए
३१ मार्च २०२० मा निर्माण सक्ने लक्ष्य राखिएकोमा असहज परिस्थितिका कारण काममा ढिलाइ हुँदा नौ महिना म्याद थप भएको उनले बताए । प्राधिकरणका अनुसार डिसेम्बरमा निर्माण सकिएमा त्यसपछि सञ्चालनपूर्वको तयारीका लागि करिब तीन महिना समय लाग्नेछ । अव बीचमा कुनै अवरोध नभए नौ महिनाभित्र विमानस्थलमा व्यावसायिक उडान हुने पोखरेलले बताए ।
विमानस्थल विस्तार आयोजनाका अनुसार बन्दाबन्दीको अवधिमा विमानस्थल निर्माणको करिव तीन प्रतिशत भौतिक प्रगति थपिएको छ । अहिले विमानस्थलको भौतिक प्रगति ९१ प्रतिशत पुगेको छ । राष्ट्रिय गौरवका आयोजनामध्ये गौतमबुद्ध विमानस्थल नै पहिलो आयोजनाको रुपमा निर्माण सम्पन्न हुने तयारीमा पुगेको छ ।
आयोजनाका अनुसार अहिले रनवे लाईट जडानको काम अन्तिम चरणमा पुगेको छ भने टर्मिनल भवनमा एयर कण्डिसन तथा अन्य उपकरण जडान सम्बन्धि कार्य जारी छ । बन्दाबन्दीकै बीचमा करिव पाँच करोड रुपैयाँ मुआब्जा वितरणमा खर्च भएको आयोजनाले जनाएको छ । विमानस्थल निर्माणमा अहिले २९ चिनियाँसहित २७५ चिनियाँ कामदार खटिएका छन् ।
बन्दाबन्दी भएपछि करिब एक महिना भने विमानस्थल निर्माणको काम पुरै रोकिएको थियो । तर राष्ट्रिय गौरवको आयोजना निर्माणका लागि सरकारले काम अगाडि बढाउन निर्देशन दिएसँगै विमानस्थल निर्माणका लागि स्थानीय प्रशासनसंगको समन्वयमा निर्माण कम्पनीले कामलाई साढे दुई महिनादेखि निरन्तरता दिएको छ ।
चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएशनले सन २०१४ डिसेम्बर ३१ मा छ अर्व २२ करोड ५१ लाख २० हजार दुई सय २७ रुपैयाँमा ग्लोबल टेण्डरमार्फत विमानस्थल निर्माणको ठेक्का लिएको थियो ।
सन् २०१७ डिसेम्बरसम्म निर्माण सम्पन्न गर्नुपर्ने सुरुको सम्झौता थियो । एसियाली विकास बैंकको क्रृण सहयोगमा निर्माण भइरहेको यो विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्दा ठूलो हुनेछ । जुन ७८७ बिघा क्षेत्रफलमा निर्माण भइरहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij