२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नेपाल र मलेसियाबीच पर्यटन प्रवर्द्धन गर्न सहकार्यमा जोड

शनिवार , भाद्र १२, २०७८

काठमाडौं, १२ भदौ ।
नेपाल र मलेसियाबीच पर्यटन प्रवर्द्धन गर्न आपसी सहकार्यका गर्ने सन्दर्भमा नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) डा. धनन्जय रेग्मी र नेपालका लागि मलेसियाका फस्ट सेक्रेटरी (चार्ज दी अफेयर्स) मोह्द फाजेल अबु हसनबीच भेटवार्ता भएको छ । मलेसियन राजदुतावासमा आयोजित भेटमा दुवै देशले स्वास्थ्य मापदण्ड पालना गर्दै एकअर्को देशको पर्यटन प्रवर्द्धनको लागि सहकार्य गर्ने सकिने कुरामा जोड दिइएको हो । 

भेटका क्रममा दुवैदेशका कुटनीतिक व्यक्ति, सेलिब्रेटी, सञ्चारकर्मीहरुको मैत्रीपूर्ण भ्रमणको कार्यक्रमलाई निरन्तरता दिने र पर्यटनका राम्रा अभ्यासहरु आदान प्रदान गर्न सकिने विषयमा  छलफल भएको थियो ।

बोर्डका कार्यकारी प्रमुख (सिइओ) रेग्मीले कोभिड–१९ ले गर्दा समग्र पर्यटन क्षेत्र प्रभावित भएको अवस्थामा डिजिटल मार्केटिङमा जोड दिँदै बिटुबीका माध्यमबाट दुवै देशको पर्यटन प्रवर्द्धन गर्न सकिने धारणा राखे । उनले नेपालका विभिन्न क्षेत्रमा पूर्ण खोप कार्यक्रम सम्पन्न भएकोले हिमाल आरोहण र ट्रेकिङ गर्ने क्षेत्रमा पर्यटक लैजान खासै समस्या नभएको बताए । उनले मलेसियामा नेपालको प्रवद्र्धन गर्न त्यहाँस्थित सरकारी सञ्चारमाध्यम र नेपालमा मलेसियाको प्रवर्द्धन गर्न नेपालको सरकारी सञ्चारमाध्यमहरुबीच सहकार्य गर्न सकिने उल्लेख गरे । 


मलेशियन राजदूतावासका फस्ट सेक्रेटरी मोह्दफाजेल अबु हसनले नेपाल र मलेसियाबीच विभिन्न कोणले सुमधुर सम्बन्ध रहेको बताउँदै कोभिडकै बीचमा  स्वास्थ्य मापदण्ड पालना गरेर पर्यटनलाई सुचारु गर्ने सकिने विषयमा आफुहरुले पनि छलफल गरिरहेको बताए । उनले मलेसिया नेपालीको श्रम गन्त्वय मात्र नभएर पर्यटकीय दृष्टिले समेत महत्वपूर्ण रहेको उल्लेख गर्दै आपसी सहकार्यबाट दुवै देशको पर्यटन विकास गर्ने सन्दर्भमा आफुले प्रसास गर्ने धारणा राखे । 

त्यस्तै नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले नेपालले मलेसियामा आयोजना हुने विभिन्न मार्टमा सहभागिता जनाउँदै आएको बताउँदै कोभिडकाबीच पनि स्वास्थ्य मापदण्ड पालना गरेर पर्यटनलाई चलायमान बनाउन सकिने बताए । उनले अहिलेको अवस्थामा अनलाईन मार्केटिङका माध्यमबाट पर्यटन प्रवर्द्धनको लागि काम गर्न सकिने बताए । नेपाल पर्यटन बोर्डले काभिडकै बीचमा पनि नेपालको पर्यटनलाई कसरी प्रवर्द्धन गर्न सकिन्छ भनेर विभिन्न देशका राजदुतहरुसंग निरन्तर भेटघाट तथा छलफल गरिरहको छ । बोर्डले यसअघि कतार, थाइल्याण्ड र श्रीलंका राजदूतसँग भेटघाट तथा छलफल गरेको बोर्डका मिडिया कन्सल्टेन्ट टीपी भुसालले जानकारी दिए ।