२०८२, भाद्र ११ गते

Aug 27 2025 | २०८२, भाद्र ११ गते

बाढीप्रभावित बिरामीको घरदैलोमै रामग्राम नगरपालिकाको उपचार सेवा

आइतवार , भाद्र १३, २०७८

  • 2.8K
    Shares
  • 2.8K
    Shares
  • परासी, १३ भदौ ।
    नवलपरासीको रामग्राम नगरपालिकाले वडा नम्बर १ स्थित सहुवाटिकरका बाढीप्रभावित व्यक्तिहरुको स्वास्थ्य परीक्षण गरेको छ । नगरपालिकाको स्वास्थ्य शाखाका रेपिड रेस्पोन्ज टीमले, उक्त क्षेत्रमा बाढीको दुर्गन्ध र दुसित पानी सेवनका कारण स्वास्थ्यमा समस्या देखिएका व्यक्तिहरुको घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण गरी उपचार सेवा प्रदान गरेको हो ।

    बाढी आएपछि सरसफाइ तथा स्वच्छ पानीको अभावमा विभिन्न रोगहरुको संक्रमण बढ्ने सम्भावना रहेकाले नगरपालिकाले तत्काल सचेत गराउन र उपचार सेवा प्रदान गर्न स्वास्थ्यकर्मीहरुको यस्तो टीम तयार गरेको नगरप्रमुख नरेन्द्र कुमार गुप्ताले जानकारी दिए ।

    स्वास्थ्य शाखा प्रमुख रामनरेश रायको नेतृत्वमा उक्त आरआरटी टीमले आइतबार वडा नम्बर १ सहुवाटिकरका ६५ जना पुरुष र ४५ जना महिला गरी कुल ११० जनाको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरेको स्वास्थकर्मी बलराम सापकोटाले जानकारी दिए । यो टीमले भोलि अर्को बाढीप्रभावित वडाहरुमा गइ उपचार सेवा प्रदान गर्ने र रोगहरुप्रति सचेत गराउने छ । यसरी बाढीप्रभावित गाउँगाउँमा पुगेर स्वास्थ्यमा समस्या देखिएका बाढीप्रभावितहरुलाइ निःशुल्क रुपमा घरदैलोमै उपचार सेवा प्रदान गरिरहेकाले यसको चौतर्फी प्रसंशा र माग समेत भइरहेको छ । 

    यो टीमले बाढीको प्रकोपले उत्पन्न हुने विभिन्न रोगहरुको बारेमा आम नागरिकलाई सचेत गराउने, सरसफाईमा ध्यान दिन लगाउने, उपचार सेवा प्रदान गर्दै आएको सापकोटाले जानकारी दिए । उक्त टीममा स्वास्थ्यकर्मी रामनरेश राय, बलराम सापकोटा, सुरज गौतम, अनिल खड्का, पुनम जयसवाल लगायत स्वास्थ्यकर्मीहरु छन् ।