
सोमवार , भाद्र १४, २०७८
काठमाडौं, १४ भदौ ।
नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले पार्टीलाई आउँदो महाधिवेशनमार्फत नीति, संगठन र नेतृत्वका हिसाबले पुनः व्यवस्थापन गरिने बताएका छन् । महासचिव पोखरेलले आज पत्रकारहरूसँगको भेटघाटमा ‘पार्टीकै नेतृत्वको सरकारलाई पार्टीभित्रकै केही नेताको संलग्नतामा विस्थापन गरिएको’ भए पनि आगामी निर्वाचनमार्फत् नयाँ जनादेशको तयारीका लागि पार्टी पुनःव्यवस्थित हुने बताए । माधवकुमार नेपालसहितका नेताले नेकपा (एकीकृत समाजवादी) गठन गरेको भए पनि एमालेले विधान महासधिवेशन र दशौँ राष्ट्रिय महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ ।
महासचिव पोखरेलले नेकपा (माओवादी केन्द्र) सँगको एकताका क्रममा दुई पार्टीका राम्रा र नराम्रा दुवै पक्ष मिसिएको र गुटबन्दी, अराजकता र उपयोगितावादी शैलीका कारण नेकपा विभाजित हुँदै एकीकृत समाजवादी जन्मने स्थिति पैदा भएको बताए । राष्ट्रिय राजनीतिमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व रहेको एक र सत्ता गठबन्धनमा आबद्ध दलको अर्काे ध्रुव क्रियाशील रहेको टिप्पणी गरे ।
नेपालको वाम आन्दोलनमा आफ्नो लामो समयदेखिको अग्रमोर्चामा भूमिका रहेको सन्दर्भ उल्लेख गर्दै उनले एमाले जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्धि र राष्ट्रिय स्वाधिनताका लागि स्पष्ट मुद्दा बोकेर जनतामा जाने बताए । तपाईँ आउँदो महाधिवेशनमा पार्टीको अध्यक्षको उम्मेदवार हो ? भन्ने पत्रकारको प्रश्नमा महासिचव पोखरेलको जवाफ थियो, “म त्यो पदका लागि डिजर्भ गर्छु तर यो घोषणा गर्ने कुरा भन्दा पनि परिस्थिति, आवश्यकता र कार्यकर्ताको चाहनामा भर पर्छ ।” रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij