२०८३, बैशाख ८ गते

Apr 21 2026 | २०८३, बैशाख ८ गते

भीम अस्पतालका स्वास्थ्यकर्मी अनशनमा

बुधवार , भाद्र १६, २०७८

  • 4.6K
    Shares
  • 4.6K
    Shares
  • भैरहवा, १६ भदौ । 
    भैरहवास्थित भीम अस्पतालका स्वास्थ्यकर्मी बुधबार आमरण अनशनमा बसेका छन् । अस्पतालमा कार्यरत कर्मचारीमाथि भइरहेको अन्याय-अत्याचारकाविरुद्ध अनशनमा बस्न बाध्य भएको अस्पतालमा कार्यरत अहेव गोपाल उपाध्यायले बताए । अस्पताल विकास समिति मातहत कर्मचारीलाई नेपाल सरकारले तोकेबमोजिम सेवा सुविधा दिनुपर्ने आफूहरुले माग गर्दै आए पनि त्यो मागको सुनुवाइ हुन नसकेको उपाध्यायले बताए ।

    अस्पताल विकास समितिले मंगलबार आयोजना गरेको धन्यवाद ज्ञापन तथा सम्मान कार्यक्रमको टिप्पणी गर्दै यहाँ कार्यरत केही कर्मचारीले सामाजिक संजालमा कर्मचारी आचरणविरुद्ध नकारात्मक तथा भ्रामक विषय पोष्ट तथा कमेन्ट गरेको भन्दै मंगलबार अस्पताल प्रशासनले तीन जनालाई स्पष्टीकरण सोधेको थियो । ‘आफू स्वयं कर्मचारी रहेको अवस्थामा सामाजिक संजालमा के कति कारणले नकारात्मक कुराहरु पोष्ट गरेको भन्दै ३ दिनभित्र लिखित स्पष्टीकरण पेश गर्न जानकारी गराइन्छ, अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. शकुन्तला गुप्ताद्वारा सोधिएको स्पष्टीकरणमा उल्लेख छ ।

    स्पष्टीकरण सोधिएको भोलिपल्टै यहाँ कार्यरत स्वास्थ्यकर्मीहरुले आमरण अनशन सुरु गरेका छन् । आफूहरुले उठाएको माग सम्बोधन नभएसम्म अनशन जारी राख्ने नेपाल सिएमए संघका केन्द्रीय उपाध्यक्ष समेत रहेका स्वास्थ्यकर्मी गोपाल उपाध्यायले बताए । अनशनमा १५ जना स्वास्थ्यकर्मी सहभागि भए पनि अस्पतालको सेवा प्रवाह भने बन्द नभएको उपाध्यायले बताए ।

    अस्पतालमा कार्यरत अहेव तथा नेपाल सिएमए संघ रुपन्देहीका अध्यक्ष शशिकान्त उपाध्यायले स्वास्थ्यकर्मीको गुनासो र माग अस्पताल प्रशासनले सम्बोधन गर्नुको साटो स्पष्टीकरण सोधेको बताए । उनले स्वास्थ्यकर्मीको माग पुरा नभएसम्म आन्दोलन निरन्तर सञ्चालन हुने बताए ।

    यता अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले अस्पतालमा कार्यरत केही कर्मचारीले सामाजिक सञ्जालमा जथाभावी  पोष्ट गरेकाले मेडिकल सुपरिटेण्डेण्टद्वारा स्पष्टिकरण सोधिएको बताए । अध्यक्ष भण्डारीले कोरोना महामारीमा अस्पताललाई सहयोग गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको बताए ।