२०८२, श्रावण २ गते

Jul 17 2025 | २०८२, श्रावण २ गते

मर्चवारी गाउँपालिकाका अध्यक्ष बनियाले रोजे लोसपा

बिहिवार , भाद्र १७, २०७८

भैरहवा, १७ भदौ ।
रुपन्देहीको मर्चवारी गाउँपालिकाका अध्यक्ष केशवनन्द बनियाले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेका छन् । अध्यक्ष बनियासहित मर्चवारी गाउँ कार्यपालिका सदस्य सदस्य पुनम मिश्रा, सुनिता हरिजन र राजेश हरिजनले पनि जनता समाजवादी पार्टी विभाजनपछि महन्थ ठाकुरको नेतृत्वमा बनेको लोसपा रोजेका हुन् ।

बनियासहित मर्चवारीका चार जना जनप्रतिनिधिले बिहीबार जिल्ला निर्वाचन कार्यालय रुपन्देहीमा पुगेर लोसपामा रहने गरी सनाखत गरेका छन् ।
अध्यक्ष बनियासंगै गाउँकार्यपालिका सदस्यले निर्वाचन कार्यालयमा सनाखत गरेको रुपन्देहीका जिल्ला निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीले जानकारी दिए । 

लोसपा रोजेका केशवनन्द बनिया तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट मर्चवारी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । 
बनियासंगै गाउँपालिकाका अन्य जनप्रतिनिधिहरुले पनि लोसपा रोज्ने पार्टीका लुम्बिनी प्रदेश कार्यकारिणी सदस्य रामु यादवले बताए ।
‘लोसपा रोज्ने अन्य जनप्रतिनिधि आइतबार सनाखत गर्न निर्वाचन कार्यालय आउनुहुन्छ, ’नेता यादवले भने ।

वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनैतिक दल फुटाउने सम्बन्धि ल्याएको अध्यादेशपछि नेकपा एमाले विभाजन भएपछि नेकपा (एकीकृत समाजवादी) पार्टी र जनता समाजवादी पार्टी, नेपाल विभाजन भएपछि लोकतान्त्रिक समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएका छन् । 

सोही अनुसार नै यही भदौ २२ गते कार्यालय समयभित्रको समय दिएर नयाँ दर्ता भएको दलमा लाग्ने जनप्रतिनिधिको हकमा निर्वाचन कार्यालयमा सनाखत गर्ने समय सीमा तय भएको छ । 

प्रदेश कमिटीको हकमा प्रदेशका निर्वाचन कार्यालय र जिल्लाको हकमा सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा जनप्रतिनिधि आफै पुगेर सनाखत गर्नुपर्ने हुन्छ । 

सनाखत गर्न नेपाली नागरिकताको प्रमाणपत्र वा निर्वाचन आयोगले जारी गरेको मतदाता परिचयपत्र र निर्वाचन आयोगले प्रदान गरेको निर्वाचित जनप्रतिनिधिको प्रमाणपत्र वा सम्बन्धित स्थानीय तहको प्रमाणित परिचयपत्र अनिवार्य रहेको जिल्ला निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीले जानकारी दिए । उनले भदौ २२ गते कार्यालय समयभित्र सनाखतको अन्तिम समयावधि तोकेको र अहिलेसम्म लोकतान्त्रिक समाजवादी पार्टीको लागि मात्र सनाखत गर्न आएको बताए । नेकपा एमाले विभाजनपछि बनेको अर्को दल नेकपा (एकीकृत समाजवादी) पार्टीका तर्फबाट अहिलेसम्म कोही पनि सनाखतको लागि कार्यालयमा नआएको भण्डारीले बताए । 

240899702_3010520182553974_3828227006334992626_n.jpg