
बिहिवार , आश्विन १, २०७७
समाजको विकासक्रममा यसको संरचना र दैनिक मानवीय कृयाकलापमा हुँदै गएको परिवर्तनसँगै समाजमा घट्ने घटना तथा अपराधहरूको रूप र प्रकृति पनि परिवर्तन र परिमार्जन हुँदै जाने गर्दछ । लोक कल्याणकारी राज्यको लक्ष्य समुन्नत, न्यायपूर्ण तथा समृद्ध सामाज निर्माण गर्ने हुन्छ । समाजमा देखापर्ने विकृत मनोवृत्तिको कारण आपसी झै–झगडा, हिंसा, हत्या, बलात्कार, विस्फोट, लागूपदार्थ दुव्र्यसन जस्ता परम्परागत अपराधहरूका साथै तेजाब वा एसिड आक्रमण जस्ता नौला प्रकृतिका घटनाहरू पनि घट्ने गरेका छन् । केहीवर्ष अघिसम्म नेपालमा विरलै सुनिने भएपनि पछिल्लो समयमा आएर एकाएक एसिड आक्रमण जस्तो अमानवीय क्रूर अपराधको संख्यामा उल्लेख्य वृद्धि हुन गएको पाइन्छ । एसिड एक प्रकारको रसायन, क्षर वा अम्ल हो । सामान्यतयाः यस्तो आक्रमणमा सल्फुरिक वा नाइट्रिक एसिड प्रयोग हुने भएपनि कहिलेकाहीँ हाइड्रोक्लोरिक एसिड पनि प्रयोग हुने गरेको देखिएको छ । यो अम्ल व्याट्री तथा इन्भर्टरहरू, औद्योगिक कलकारखाना, सुन, चाँदी व्यवसाय, धातुको निर्माण, उत्पादन वा गरगहना, मुर्ति वा भाँडाको व्यवसायमा पनि रसायनको रूपमा प्रयोग हुन्छ । यसको व्यापक प्रयोगको कारण बजारमा सरल र सुलभरूपमा एसिड उपलव्ध हुन्छ ।
एसिडको सर्वसुलभता र तरलरूपमा हुने भएकोले स–सानो बोत्तलमा राखी सजिलैसँग लिएर हिड्न मिल्ने भएकोले गौँडा, गल्ली, एकान्त र साँघुरो स्थान, अँध्यारो वा पीडितलाई लक्षित गरी आक्रमण गरेपछि सजिलै उम्कन, भाग्न सक्ने वातावरणमा लुकिछिपि अनुहार तथा शरीरका भागमा छ्यापी यो अपराध हुने गर्दछ । एसिड आक्रमणको तरिका वा ‘मोडस ओपरेण्डी’ हेर्दा अन्य अपराधको तुलनामा यो अपराध गर्न सजिलो हुने भएकोले तुनात्मकरूपमा हालको समयमा अपराधीहरूले यो पद्धति बढी अप्नाउने गरेको पाइन्छ । हत्या बाहेकका मानव शरीर विरुद्धका अरू अपराधमा पीडितको घाउ वा खत निको हुने वा पूर्वावस्थामा फर्किन सक्ने सम्भावना बढी हुन्छ भने यो अपराधमा पीडितको सौन्दर्य वा अनुहारमा आक्रमण हुने भएकोले अनुहार कुरूप हुनेभई पीडितको हुलिया नै सधैँको लागि बिग्रने वा जिन्दगीभरी दाग वा खोट बोकेर हिड्नुपर्ने हुन्छ । कहिलेकाहिँ व्यवसायिक वा व्यक्तिगत दुस्मनी साँध्न पुरुषउपर समेत एसिड आक्रमण हुने भएपनि खासगरी महिलाहरू नै यसको लक्षित वर्ग हुन् । पीडितलाई शारीरिक मात्र नभई मानसिकरूपमा पनि थप पीडा र्पुयाउने दूरासयका साथ यस्तो अपराध हुने गर्दछ । रिसको आवेग, हिँसा, निजी कुण्ठाको अभिव्यक्ति वा प्रेम प्रस्ताव अस्वीकार गरेका कारण वा अन्य सम्बन्धमा निरन्तरता नदिएका कारण यस्ता घटनाहरू हुने गरेको तथ्याङकले देखाउछ ।
गत साउन १९ मा विविसि। नेपाली सेवाद्वारा नेपाल प्रहरीको हवाला दिँदै प्रसारित समाचारका अनुसार विगत ७ वर्षमा १८ महिला र ४ पुरुषमाथि एसिड आक्रमण घटना भएको तथ्याङ्क पाइन्छ । हालै नेपाल प्रहरीका महानिरीक्षकले संसदको कानून, न्याय तथा मानव अधिकार समितिमा दिएको जानकारीका अनुसार धेरै एसिड प्रहार बदला लिनेको लागि हुने गरेको र पछिल्लो १७ वटा एसिड आक्रमणमध्ये ८ वटा बदला लिनको लागि नै भएको एवं २ वटामा जग्गा विवाद, १ वटामा सम्पत्ति र ५ वटा घटनामा एसिड प्रहारको कारक तत्व प्रेम सम्बन्ध भएको र प्रदेश २ मा सबैभन्दा धेरै ६ वटा घटना भएको प्रहरीको तथ्याङ्कले देखाएको छ।
एसिड आक्रमणका पछाडि विविध कारण पाइएपनि खासगरी घरायसी विवाद, प्रेम सम्बन्धमा कटुता, दाइजो प्रस्ताव पूरा नगर्नु जस्ता मुख्य कारणहरू देखिने गरेका छन् । तेजाब प्रहार गरी पीडितको अनुहार तथा शरीरलाई कुरूप बनाउने, ज्यानै लिने वा केवल तर्साउने लगायतका उद्देश्यले यस्ता घटना हुने गरेको पाइन्छन । परापूर्वकालदेखि नै महिला तथा युवतीहरूको अनुहार र सौन्दर्यलाई शक्ति र सामथ्र्यको पर्याय मानिन्छ । युवती वा महिलाको सौन्दर्यकै कारण विश्वमा ठूला ठूला युद्ध भएको इतिहास पाइन्छ । महिलाको यस्तो शक्तिलाई क्षय वा नष्ट गर्ने पराजित मनसाय एसिड आक्रमणकारीमा रहने गरेको देखिएको छ । नेपालको तथ्याङ्क हेर्दा एसिड आक्रमणका घटना हिमाली वा पहाडी क्षेत्रको तुलनामा तराई क्षेत्रमा, ग्रामिण भेकको तुलनामा शहरी क्षेत्रमा बढी हुने गरेको देखिन्छ । एसिड आक्रमण अधिकांश चिनेजानेका, आफन्त, तथाकथित प्रेमी भनिएका व्यक्तिबाट नै हुने गरेको मुद्दाको अनुसन्धान वा अदालतको फैसलाको अध्ययनबाट पाइएको छ । जैविक रूपमै महिला वा बालबालिका कोमल हृदयका हुने भएकोले प्रेमको नाममा सहजै विश्वासमा पर्ने वा नातागोता वा आफन्तको भरोसा गर्ने भएकोले विश्वासको दूरूपयोग वा तथ्यको भ्रममा पारी उनीहरू माथि त्यस्ता कुकृत्यहरू वा अपराध हुने गर्दछन् ।
एसिड सर्भाइभर ट्रस्ट इन्टरनेशनल (एएसटिआइ) का अनुसार बेलायत विश्वमा सबैभन्दा बढी एसिड आक्रमणका घटना दर्ता हुने मुलुकका रूपमा रहेको उल्लेख छ । सन् २०१८ को वर्षभरिमा बेलायतमा ३१० एसिड आक्रमणका घटना दर्ता भएको तथ्याङ्क पाइन्छ । त्यसपछि क्रमशः भारत, बङ्गलादेश, कोलम्बिया, र पाकिस्तानमा क्रमशः २२८, १५०, १०० र ५७ वटा एसिड आक्रमणका घटना हुने गरेको देखिन्छ । उक्त संस्थाको विवरण अनुसार विश्वभरी नै एसिड आक्रमण ८० प्रतिशत महिलाहरूमा हुने र करिव ६० प्रतिशत एसिड आक्रमणका घटनाहरू रिपोर्टमा नआउने तथ्याङ्क समेत देखाइएको छ । त्यस्तै यस दशकमा विश्वभरी नै यस्ता घटनाहरू ९० प्रतिशतले वृद्धि भएको पाइएको जनाइएको छ । यसले गर्दा एसिड आक्रमण सम्बन्धी अपराधको भयावहता देखाउँछ । बजारमा एसिडको सहज प्राप्यता, यससम्बन्धी छुट्टै कानूनको अभाव र कानूनी छिद्रको खोलमा अपराधी सहजै उम्कन सक्ने सम्भावना, क्षणिक आवेग वा उत्तेजना, जनचेतना र सुरक्षाको कमी जस्ता कारणले एसिड आक्रमणका घटनाहरू बढ्दै गएका छन् । सहजै विश्वासमा पर्नु, नजिकका आफन्तहरूबाट धोका वा अविश्वास र जोखिम पहिचान हुन नसक्नु जस्ता कारणले पनि यस्ता घटनाहरू हुने गरेको देखिएको छ ।
यस्ता अपराध पहिले नघट्ने र घटेपनि अत्यन्त न्यून मात्रामा हुने भएकोले अपराध संहिता, २०७४ आउनुपूर्व मुलुकी ऐनको प्रावधान अन्तर्गत यस्ता अपराधहरूलाई हेर्ने गरिन्थ्यो र अधिकांशमा कुटपिटको महल अन्तर्गत मुद्दा चलाउने गरिन्थ्यो । अपराधको बढ्दो मात्रा र गाम्भीर्यता हेरी अपराध संहिता, २०७४ को परिच्छेद९१२ ज्यानसम्बन्धी कसूर अन्तर्गत दफा १९३ को कानूनी व्यवस्था अनुसार “कसैले कसैलाई तेजाब वा यस्तै प्रकारका अन्य रासायनिक, जैविक वा विषालु पदार्थ प्रयोग गरी वा छर्किई वा त्यस्तो पदार्थले पोली, डामी, दली, घसी वा जिउमा पीडा गराउने वा अनुहार वा शरीरको कुनै अङ्ग कुरूप पार्ने काम गरे गराएमा कसूरको प्रकृति हेरी अनुहार कुरूप पारेमा ५ वर्षदेखि आठवर्षसम्म कैद र १ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिबाना र शरीरको अन्य अङ्ग कुरूप पारेमा वा शरीरमा पीडा र्पुयाएमा ३ वर्षदेखि ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म जरिबाना हुने” प्रावधान छ । अन्य अपराधमा क्षतिपूर्तिबापत भनी स्पष्ट उल्लेख गरिएको रकममात्र पीडितले पाउने तर जरिबाना शीर्षकमा जम्मा भएको रकम सरकारी कोषमा जाने एवं सोको पचास प्रतिशतसम्म रकम पीडित राहत कोषमा जम्मा गर्ने प्रावधान भएकोमा यसरी जरिबानाबापत प्राप्त पूरै रकम पीडितलाई क्षतिपूर्तिबापत दिनुपर्ने फरक व्यवस्था छ ।
एसिड आक्रमणको असर
तेजाब वा एसिडको आक्रमणको असर शारीरिकमात्र नभई यसबाट पीडितमा गम्भीर मानसिक आघातसमेत पर्न जान्छ । पीडितहरू जीवनभरी प्रताडित हुन्छन् । कतिपय अवस्थामा त आक्रमणको कारण ज्यानै जान्छ भने कतिपय अवस्थामा यसको पीडा वा मनोवैज्ञानिक असरको कारण पीडितले आत्महत्या गर्ने समेत घटना सार्वजनिक हुन्छन् । यस्ता घटनामा बाँचेको अवस्थामा पनि अपराधीको कुकृत्यका कुरूप छाप बोकेर जीवन व्यतीत गर्नुपर्ने हुन्छ । एसिड आक्रमणका कारण घाइते वा पीडित भएकाहरूको रोजगारी गुम्ने, समाजमा हेयको पात्र बन्नुपर्ने, विवाह नहुने, वैवाहिक जीवनमा दरार आउने, पति पत्नीबीच शारीरिक सम्बन्ध स्थापित नहुने, पारिवारिक माया ममता नपाउने, यथोचित मानवीय व्यवहारबाट बिमुख हुनुपर्ने जस्ता पीडा वा बाध्यताबाट गुज्रनुपर्ने हुन्छ । तेजाब आक्रमणसम्बन्धी अपराधलाई मानव सभ्यतामा कङ्कका रूपमा लिइन्छ । यस्ता अपराधले समुदायमा खासगरी महिला तथा बालबालिकाहरूमा असुरक्षा बढ्न जाने, जसको परिणामतः हौसला र उत्साहमा कमी आउने हुन्छ । यस्ता अपराधबाट पीडितहरू मनोसामाजिक रूपमा कमजोर हुने, मानसिक विचलन हुनसक्ने देखिएको छ । त्यस्तै आक्रमण पछिको जीवन कष्टप्रद हुने, रोजगारी र जीविकोपार्जनका उपायहरू गुम्ने हुँदा परनिर्भरता पनि बढेको देखिन्छ ।
समाधानका उपाय
एसिड आक्रमण नियन्त्रण गर्ने पहिलो उपाय जनचेतना वृद्धि गर्नु नै हो । आपराधिक मनोवृत्तिका व्यक्तिहरूमा यसको ज्ञान दिनसकेमा अपराध नै रोकथाम हुनजाने भएकोले यो नै उत्तम प्रिभेन्टिभ मेजर हो । त्यसपछि यसको सहज प्राप्यता सर्वसुलभता नियन्त्रण गर्नु हो । बजार र पसलमा सजिलै एसिड वा तेजाब खरिदबिक्री हुनसक्ने वा प्राप्त हुन सक्ने भएकाले यसको बिक्री व्यापारमा कोटा प्रणाली वा लाइसेन्स वा अनुमति लिनै पर्ने बाध्यात्मक व्यवस्था गर्ने र यसको प्रयोगमा वैज्ञानिक नियन्त्रण पद्धति अप्नाइ स्थानीय प्रशासनको नियमित अनुगमन पनि हुनुपर्ने देखिन्छ । विक्रीवितरण वा प्रयोगमा हेलचक्रयाइँ वा नियम उल्लङ्गन गर्नेलाई कानूनी कारबाहीको दायरामा ल्याउन सके दूरूपयोगमा कमी आउने देखिन्छ । अर्को यस दुस्कर्मका कारण र असरका बारेमा लक्षित वर्ग खासगरी जोखिम समूहका बालबालिका, युवती तथा महिलाहरूमा व्यापक प्रचार९प्रसार र जनचेतना अभिबृद्धि गर्नु पर्ने देखिन्छ । जोखिम क्षेत्र पहिचान गरी विशेष कार्यक्रमहरू आयोजना गर्ने र सुरक्षा सतर्कता, सुरक्षाको प्रत्याभूति बढाउने उपाय पनि अबलम्बन गर्नु आवश्यक छ । प्रहरी वा सुरक्षा निकायको पेट्रोलिङ बढाउने, स्थानीय स्वयंसेवक वा स्थानीय निकायका पदाधिकारीको भूमिका अभिवृद्धि गराउने नियन्त्रणको वा कन्ट्रोलिङ मेजर हो । अर्को महत्वपूर्ण उपाय भनेको मौजूदा कानूनी प्रावधान अपराधको संवेदनशीलता र अन्य मुलुकमा प्रचलनमा रहेको कानूनको तुलनामा उदार देखिएकोले यसमा संशोधन गरी कडा बनाउनुपर्ने माग जताततैबाट उठिरहेको छ ।
एसिड आक्रमणबाट ज्यान गएको वा अनुहार नै जली रदाको लागि कुरूप भउको खण्डमा आक्रमणकारीलाई अपराधको गाम्भीयर्ता हेरी जन्मकैदसम्म सजायको व्यवस्था हुनुपर्ने देखिन्छ । यस्ता मुद्दाको कारबाही र किनारा सङक्षिप्त कार्यविधि अपनाइ गर्नुपर्ने कार्यविधि कानूनमा सुधार गर्नुपर्ने देखिन्छ । पीडितलाई अन्तरिम राहत र क्षतिपूर्तिको व्यवस्था गरी पीडितलाई अधिकाधिक मात्रामा क्षतिपूर्ति भराउने कानूनको अपरिहार्य देखिएको छ । हाल कोरोना संक्रमणबाट विश्व समुदाय नै पीडित भै रहेको अवस्था छ । मुलुक लकडाउन, निषेधाज्ञा वा कफ्र्यूको शब्दजालको अवस्थाबाट गुज्रेको ६ महिनाभन्दा पनि बढी भइसकेको छ । यही असोज १ गतेबाट लामो दूरीका यातायात चल्ने सरकारी ऐलान भएपनि यसको प्रभावकारिता परिक्षण हुन बाँकी नै रहेको अवस्था छ । मुलुकका औगिक प्रतिष्ठान, कलकारखाना, व्यापारिक कारोबार ठप्प भएको कारण कमाइ गर्ने स्रोतहरू सुकेको अवस्थामा अपराधको संभावना पनि बढी हुने अपराधशास्त्रीय दृष्ट्रिकोण भएकोले यसको चुनौति भयावह छ । नेपालमा हाल संसद ठप्प छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाका अधिवेशनहरू चालु अवस्थामा छैनन् । जसको कारण तत्काल मौजुदा कानूनमा संसोधन वा नयाँ कानून निर्माण गर्ने संभावना नरहेकोले नेपालको संविधान, २०७२ को धारा ११४ अनुसार मन्त्रिपरिषदको सिफारिसमा तत्काल राष्टपतिले अध्यादेश जारी गर्नु अपरिहार्य भइसकेको छ ।
अन्तमा, विश्वमा भइरहेको एसिड आक्रमणको वृद्धि सँगसँगै नेपालमा पनि यसको रफ्तारमा बढोत्तरी भएको पाइन्छ । यसको निराकरण र समाधानको लागि एसिडको सहज प्राप्यता, एसिड प्रयोगको नियमन र अनुगमनमा वैज्ञानिकता बढाउने, मानिसहरूमा नैतिक र आध्यात्मिक शिक्षा दिई एङ्गर मेनेजमेन्टको माध्यमबाट क्षणिक आवेशलाई नियन्त्रण गर्न उर्जा प्रदान गर्नु, बदला, प्रतिकारको भावना निमिट्यान्न पार्न सामाजिक संघ संस्थाहरूको भूमिका पनि आवश्यक देखिएको छ । हालको लचिलो कानूनी व्यवस्थाको कारण कानूनी छिद्रको फाइदा उठाउने मौका नदिनको लागि एसिडको बिक्रीबितरण र प्रयोग लगायत आक्रमणकारीलाई सजाय गर्ने कडा कानूनी व्यवस्था जरुरी छ । नेपाल मानव अधिकारमा विश्वास गर्ने लोक कल्याणकारी मुलुक भएकोले पीडितको अधिकारको सम्मान गरी आधुनिक समाजको कलङ्कको रूपमा रहेको मानवता विरुद्धको एसिड आक्रमणको अपराधलाई निराकरण गरी महिला र बालबालिकाको आत्मसम्मानको रक्षा गर्नु राज्यको पहिलो कर्तव्य हो । यो समस्याको समाधान गरी महिला, बालबालिका एवं नागरिकको रक्षा गर्नु सरकारको पहिलो कर्तव्य भएकोले यसको सही र प्रभावकारी सम्बोधन गर्न माथि सुझाएका उपायको अबलम्बनतर्फ सरकारको ध्यान तुरुन्त जाओस । लेखक अधिवक्ता हुनुहुन्छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij