
शुक्रवार , भाद्र १८, २०७८
भैरहवा, १८ भदौ ।
सतारुढ नेपाली कांग्रेसको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत आज गाउँ/नगर वडा अधिवेशन सुरु भएको छ । हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका जिल्लाका वडामा अधिवेशन आरम्भ हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
करिब ९ लाखको संख्यामा रहेका कांग्रेस क्रियाशील सदस्य पार्टीको गाउँ/नगर वडा अधिवेशनका मतदाता हुन् । क्रियाशील सदस्यहरुले आफ्नो वडाको वडासमिति र क्षेत्रीय प्रतिनिधि चयन गर्नेछन् । वडा अधिवेशनले आफूमध्येबाट सभापति एक, उपसभापति दुई, सचिव दुई र सहसचिव दुई गरी सात पदाधिकारी निर्वाचित गर्ने व्यवस्था छ । यसबाहेक मतदाता संख्याको अनुपातका आधारमा वडा सदस्य र क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् ।
कांग्रेसले १४ औँ महाधिवेशनअन्तर्गत गाउँ÷नगर वडा अधिवेशन भदौ १८ गते, गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन/एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते तोकेको छ ।
त्यसै गरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij