
आइतवार , भाद्र २०, २०७८
काठमाडौं, २० भदौ ।
नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले पार्टी जुनसुकै प्रतिकूलतासँग जुध्ने पार्टी भएको बताएका छन् । पार्टीको जिल्ला कमिटीले बनेपामा अयोजना गरेको जिल्लास्तरीय बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका पोखरेलले एमाले पहिलाजस्तो थियो अहिले पनि उस्तै रहेको बताए ।
“एमालेमा बीचको केही समय धमिलो मात्रै भएको हो, अहिले सङ्लो छ, पार्टीभित्र र बाहिरी प्रतिकूलतासँग जुध्ने पार्टीलाई केही चोइटिँदा केही फरक पर्दैन”, उनले भने । एमाले नीति र घोषणापत्रका आधारमा चलेको र चलिरहने उल्लेख गर्दै पोखरेलले अबको पार्टी नेतृत्वको संरचनामा तीन पुस्ता समेटिने बताए । उनले भने “अबको नेतृत्व पाको, अधवैशे र युवापुस्ताको समिश्रण जिम्मेवारीमा हुन्छ ।”
नेता पोखरेलले वरिष्ठ नेता मावधकुमार नेपाल आफैँ दुर्दशातर्फ लागेको आरोप लगाउँदै पार्टीभित्र रहँदा पराजित भएर निर्वाचितसँग समान अधिकार मागेर हास्यास्पद परिस्थिति निर्माण गरेको स्मरण गरे । “अब नेपालमा पुनः एमाले लिड पार्टी हुनेछ, गठबन्धन धेरै समय टिक्दैन”, उनले भने । उनले पार्टी सदस्यता विस्तार गरी पार्टी निर्माणतर्फ लाग्न आग्रह गरे ।
एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले हाल विचारमा नभई नेतृत्वको संघर्ष भइरहेको उल्लेख गर्दै राम्रो/नराम्रो नेतृत्व धु्रवीकरण हुने बताए । उनले भने, “हामी पार्टी एकताको निरन्तरतामै छौँ, अबको निर्वाचनमा जनताले जनादेश, परमादेश र अध्यादेशको फैसला गर्नेछन् ।” कम्युनिष्ट आन्दोलन आँधी–तुफानझैँ गर्जेर अघि बढाइने पूर्वमन्त्रीसमेत रहनुभएका रायमाझीले जिकिर गरे ।
एमाले केन्द्रीय सदस्य एवं सांसद गोकुल बाँस्कोटाले आफूमाथि लागेको आरोपको छानबिन गर्न र कारबाहीको दायरामा ल्याउन चुनौती दिए । “मप्रतिको आरोप पुष्टि गरेर जेलमा राख, म सजाय भोग्न तयार छु”, पूर्वमन्त्री समेत रहेका बाँस्कोटाले भने । उनले आगामी निर्वाचनमा स्थानीय तहका सबै स्थान एमालेले जित्ने गरी संगठन निर्माणमा लाग्न आग्रह गरे ।
सो अवसरमा सांसद नवीना लामा, संविधानसभा सदस्य रामहरि सुवेदी, एमाले जिल्ला अध्यक्ष अशोक ब्याञ्जू, बागमती प्रदेशसभा सदस्यद्वय चन्द्र लामा र गोमा भुर्तेल, पार्टीका केन्द्रीय नेता रेशम लामा, नेता चुडामणि चौलागाईँ, राजन भुर्तेल, इन्द्रबहादुर तामाङ, नारायण बानियाँ, रीता ढकाल लगायतले संगठन निर्माणमा लाग्न आग्रह गरेका थिए । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij