images

आइतवार, बैशाख २३ गते २०८१

ग्रामीण क्षेत्रका विद्यार्थीहरुलाई रेडियो सहयोग

ग्रामीण क्षेत्रका विद्यार्थीहरुलाई रेडियो सहयोग

images
images
images
आइतवार, भाद्र २० २०७८
आइतवार, भाद्र २० २०७८
  • ग्रामीण क्षेत्रका विद्यार्थीहरुलाई रेडियो सहयोग

    भैरहवा, २० भदौ । 
    लायन्स क्लब अफ बुटवल सनसाईनले जिल्लाको ग्रामीण क्षेत्रका विद्यार्थीहरुलाई पठनपाठनमा सहज होस् भन्ने उद्धेश्यले आवश्यक सामग्री रेडियो सहयोग गरेको छ । पश्चिम पहुनी माध्यामिक विद्यालयका ४२ जना विद्यार्थीहरुलाई एक÷एक सेट रेडियो प्रदान गरिएको बुटवल सनसाईनको अध्यक्ष आरती खरालले बताइन् । उनले भनिन्,‘कोरोना महामारीको कारण भौतिक रुपमा उपस्थित भएर विद्यालयले पठनपाठन सञ्चालन गर्न सकेको छैन । यस्तो अवस्थामा ल्यापटप तथा मोबाइलमार्फत अनलाइन कक्षा पनि लिन असमर्थ भएका विद्यार्थीहरुको लागि रिड नेपालले रेडियो शिक्षा कार्यक्रम चलाएको रहेछ । विपन्न परिवारका धेरै विद्यार्थीले रेडियो समेत किन्न नसक्दा उक्त शिक्षा लिन पनि वञ्चित भएको खबर पाएसंगै हामीले रेडियो किनेर विद्यार्थीलाई वितरण गरेका हौं । ’

    images
    images
    images

    रेडियो पाएसंगै कक्षा ४ देखि कक्षा ८ सम्म उक्त विद्यालयमा अध्ययनरत ४२ जना विद्यार्थी प्रत्यक्ष लाभान्वित भएका छन् ।  वि.सं. २०१६ सालमा स्थापना भएको पश्चिम पहुनी मावि तिलोत्तमा नगरपालिका वडा नम्बर ६ पूर्व पहुनीमा रहेको छ । उक्त विद्यालयको पठनपाठनलाई प्रभावकारी बनाउन विद्यालय व्यवस्थापनले विभिन्न संघ–संस्थासंग सहकार्य समेत गर्दै आएको छ । 

    विद्यालयका प्रधानाध्यापक दुर्गा नारायण श्रेष्ठले लायन्स क्लब अफ बुटवल सनसाईनको सहयोगले विद्यार्थीको एक घर, एक रेडियो अभियानलाई टेवा पुगेको बताए । उनले भने, ‘हामीले विद्यार्थिको पठनपाठन गराउने विभिन्न विधि अपनाएका छौं । कक्षा ४ सम्म टोलटोलमा पुगेर शिक्षकले होमवर्क दिने गरेका छन् भने कक्षा ५ देखिमाथि अनलाइन कक्षा चल्छ । कक्षा ५, ६ र ७ का धेरै विद्यार्थी अनलाइनमा आउन सकेनन् । तर कक्षा ८, ९ र १० का ६० प्रतिशत सहभागी छन् ।’

    प्रअ श्रेष्ठका अनुसार रिड नेपालले तिलोतमा नगरपालिका भित्र १९ विद्यालयमा मेरो रेडियो, मेरो भविष्य कार्यक्रम सञ्चालन गरेको छ । इन्टरनेट, मोबाइल, ल्यापटप किनेर अनलाइन कक्षामा सहभागी हुन नसकेका विद्यार्थीको लागि उक्त कार्यक्रम प्रभावकारी हुने देखिन्छ । लायन्स क्लब अफ बुटवल सनसाईनको ४२ थान रेडियो सहयोगसंगै पश्चिम पहुनिमा अध्ययनरत करिब सबै विद्यार्थी पठनपाठनबाट वञ्चित नहुने देखिएको  छ । 

    रिड नेपालले रेडियो कार्यक्रम सुरु गरेसंगै १५ थान रेडियो दिएको थियो ।  विद्यालयले ५ थान थपेर सुरुमा २१ थान रेडियो बितरण गर्यो । त्यसपछि  रोटरी क्लब अफ बुटवल चौतारिले ४० थान रेडियो सामग्री दिएको थियो भने शनिबार ४२ थान रेडियो लायन्स क्लब अफ बुटवल सनसाइनले सहयोग प्रदान गरेको छ ।  रेडियोमा विहान ८ बजेदेखि ९ बजेसम्म र सांझ साढे ५ बजेदेखि साढे ६ बजेसम्म रेडियो कार्यक्रम पाठ्यक्रममा आधारित भएर सञ्चालन हुने गर्दछ । 

    रेडियो हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ नेपालका भाइस डिष्ट्रिक गभर्नर नवराज न्यौपानेले शिक्षाको क्षेत्रमा लायन्स क्लब अफ बुटवल सनसाइनले गरेको सहयोग महत्वपूर्ण भएको बताए । उनले भने, ‘आर्थिक अभावको कारण अनलाइन क्लास लिन नसकेको विद्यार्थीको लागि रेडियो कार्यक्रम सञ्चालन भयो । तर त्यही रेडियो समेत किन्न नसकेकै कारण धेरै विद्यार्थी पढाईबाट वञ्चित भएपछि सहयोगी भावले बुटवल सनसाइनले जुन कार्य गर्यो त्यसको जति प्रशंसा गरे पनि कम हुनेछ ।’

    लायन्स क्लब ३२५ बी २ का प्रमुख सल्लाहकार उमंग देवकोटाले कोभिडका कारण समग्र क्षेत्र प्रभावित भइरहेको बेला सबैभन्दा बढी असर विद्यालयमा परेको बताए । उनले महंगो नेट, महंगो मोबाइल वा ल्यापटप किनेर आफ्ना बालबालिकालाई पढाउन नसकेका मजदूर तथा विपन्न परिवारका बालबालिकाको पढाईमा सहयोग पुर्याउने कार्यमा लायन्स क्लब अफ बुटवल सनसाईनले गरेको सहयोग शिक्षाको क्षेत्रमा अतुलनीय रहने बताए । 

    रेडियो हस्तान्तरण कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सुकदेव न्यौपानेले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको पठनपाठनमा सहयोग पुर्याउने गरी गरेको सहयोग उल्लेखनीय भएको बताए । लायन्स क्लब अफ बुटवल सनसाईन स्थापनाकालदेखि नै ग्रामीण क्षेत्रको समुदायमा रहेर सेवा गरिरहेको क्लबको संस्थापक अध्यक्ष जमुना पाण्डेले बताइन् ।

    गीता न्यौपानेको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खुमबहादुर थापा, बुटवल सनसाईनका प्रथम उपाध्यक्ष रश्मी अर्याल, सचिव संकल्प हमाल लगायतले बोल्दै रेडियो माध्ययमबाट चलिरहेको पठनपाठनलाई उपयोग गर्ने गरी लायन्स क्लब अफ बुटवल सनसाईनले सहयोग गरेको बताए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij