
आइतवार , भाद्र २०, २०७८
भैरहवा, २० भदौ ।
रूपन्देहीको मर्चवारी गाउँपालिकाका उपाध्यक्ष सुनिता कलवारले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) रोजेकी छन् । जनता समाजवादी पार्टी, नेपाल (जसपा) विभाजन भई महन्थ ठाकुरको नेतृत्वमा दर्ता भएको लोकतान्त्रिक समाजवादी पार्टीमा उपाध्यक्ष कलवारसहित सात जना जनप्रतिनिधि आइतबार जिल्ला निर्वाचन कार्यालय भैरहवा पुगेर लोसपा रोजेका हुन् ।
उपाध्यक्ष कलवारसंगै मर्चवारी गाउँपालिका–७ का वडाध्यक्ष मातिवर कोहार, जिल्ला समन्वय समिति रुपन्देहीका सदस्य छोटे हरिजन, मर्चवारी गाउँकार्यपालिका सदस्य निसा हरिजन, सुनिता हरिजन, वडा सदस्य साधुसरन यादव, जगदीश चौधरीले पनि लोकतान्त्रिक समाजवादी पार्टी रोज्दै निर्वाचन कार्यालयमा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ ।
लोसपा राजेकी गाउँपालिका उपाध्यक्ष कलवारले भनिन्, ‘जहाँ जनता र जनप्रतिनिधिको सम्मान गरी विकास निर्माण कार्यमा अगाडी बढिन्छ, उतै समर्थन गरेकी छु ।’ उनी मर्चवारी गाउँपालिकाको उपाध्यक्षमा तत्कालिन संघीय समाजवादी फोरम, नेपालबाट निर्वाचित भएकी थिइन् ।
यस अघि मर्चवारी गाउँपालिकाका अध्यक्ष केशवनन्द बनियासहित सोही गाउँपालिकाका ४ जना जनप्रतिनिधिले लोसपामा रहने गरी बिहीबार सनाखत गरेका थिए ।
वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनैतिक दल फुटाउने सम्बन्धि ल्याएको अध्यादेशपछि नेकपा एमाले विभाजन भएपछि नेकपा (एकीकृत समाजवादी) पार्टी र जनता समाजवादी पार्टी, नेपाल विभाजन भएपछि लोकतान्त्रिक समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएका छन् । यही भदौ २२ गते कार्यालय समयभित्रको समय दिएर नयाँ दर्ता भएको दल रोज्न चाहने जनप्रतिनिधिको हकमा निर्वाचन कार्यालयमा पुगि सनाखत गर्ने समय–सीमा तय भएको छ ।
निर्वाचन आयोगका अनुसार प्रदेश सांसदको हकमा प्रदेशका निर्वाचन कार्यालय र जिल्लाको हकमा सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा जनप्रतिनिधि आफैँ पुगेर सनाखत गर्नुपर्ने हुन्छ ।
सनाखत गर्न नेपाली नागरिकताको प्रमाण–पत्र वा निर्वाचन आयोगले जारी गरेको मतदाता परिचय–पत्र र निर्वाचन आयोगले प्रदान गरेको निर्वाचित जनप्रतिनिधिको प्रमाण–पत्र वा सम्बन्धित स्थानीय तहको प्रमाणित परिचय–पत्र अनिवार्य रहेको जिल्ला निर्वाचन अधिकारी अयोध्या भण्डारीले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij