२०८२, श्रावण १ गते

Jul 17 2025 | २०८२, श्रावण १ गते

सिद्धार्थनगर नगरपालिका उपप्रमुख काफ्ले नेकपा एकीकृत समाजवादीमा 

सोमवार , भाद्र २१, २०७८

भैरहवा, २१ भदौ ।
सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा काफ्लेले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) रोजेकी छन् । उनले सोमबार भैरहवास्थित जिल्ला निर्वाचन कार्यालय रुपन्देही पुगेर नवगठिन नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेकी छन् । स्थानीय निर्वाचनमा काफ्ले नेकपा एमालेबाट सिद्धार्थनगर नगरपालिकाको उपप्रमुखमा निर्वाचित भएकी थिइन् ।

उपप्रमुख काफ्लेसहित बुटवल उपमहानगरपालिका–१८ का वडा सदस्य गोपाल नेपाल, वडा नम्बर २ का वडा सदस्य सुनिल शाक्य, वडा नम्बर ३ का वडा सदस्य चीन बहादुर गुरुङ र तिलोत्तमा नगरपालिका वडा नम्बर ११ का वडा सदस्य यज्ञेश्वर क्षेत्रीले नेकपा (एकीकृत समाजवादी) रोजेर सनाखत गरेको नेकपा (एकीकृत समाजवादी) रुपन्देहीका अध्यक्ष राजु गुरुङले बताए ।

निर्वाचन आयोगले दल रोज्न दिएको समयसीमा भित्र रहेर सोमबार सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा काफ्लेको नेतृत्वमा जनप्रतिनिधिहरुले नेकपा (एस) रोज्नुभएको गुरुङले जानकारी दिए । मंगलबारसम्म समय रहेकोले भोलि पनि जनप्रतिनिधिहरु निर्वाचन कार्यालय पुगेर नेकपा (एस) को पक्षमा सनाखत गर्ने उनले बताए । 

नेकपा (एस) रोजेकी उपप्रमुख काफ्लेले जनताको जनमतको सम्मान हुने गरी आफू अगाडी बढेको बताइन् । ‘दल रोज्ने व्यक्तिगत स्वतन्त्रता र विचारले निर्णय गर्ने हो, कसैलाई पनि मैले अनुरोध गरिन, सबै सचेत नै हुनुहुन्छ, ’उनले भनिन् । केही जनप्रतिनिधिहरु एमालेमा बस्न नचाहे पनि नेकपा (एस)मा समाहित हुन नसकेको आफूले महसुस गरेको उनको भनाइ छ ।

IMG_3343.JPG

वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनैतिक दल फुटाउने सम्बन्धि ल्याएको अध्यादेशपछि नेकपा एमाले विभाजन भएपछि नेकपा (एकीकृत समाजवादी) पार्टी र जनता समाजवादी पार्टी, नेपाल विभाजन भएपछि लोकतान्त्रिक समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएका छन् । यही भदौ २२ गते कार्यालय समयभित्रको समय दिएर नयाँ दर्ता भएको दल रोज्न चाहने जनप्रतिनिधिको हकमा निर्वाचन कार्यालयमा पुगि सनाखत गर्ने समय–सीमा तय भएको छ ।

निर्वाचन आयोगका अनुसार प्रदेश सांसदको हकमा प्रदेशका निर्वाचन कार्यालय र जिल्लाको हकमा सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा जनप्रतिनिधि आफैँ पुगेर सनाखत गर्नुपर्ने हुन्छ ।

सनाखत गर्न नेपाली नागरिकताको प्रमाण–पत्र वा निर्वाचन आयोगले जारी गरेको मतदाता परिचय–पत्र र निर्वाचन आयोगले प्रदान गरेको निर्वाचित जनप्रतिनिधिको प्रमाण–पत्र वा सम्बन्धित स्थानीय तहको प्रमाणित परिचय–पत्र अनिवार्य रहेको जिल्ला निर्वाचन अधिकारी अयोध्या भण्डारीले जानकारी दिए ।