
शनिवार , भाद्र २६, २०७८
बुटवल, २६ भदौ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा तहको अधिवेशन सकिएलगत्तै पालिकाको निर्वाचनको सरगर्मी बढेको छ । कांग्रेसको पालिकाको निर्वाचनको लागि रुपन्देहीको तिलोत्तमा नगर सभापतिको लागि नारायण न्यौपानेले उम्मेदवारी घोषणा गरेका छन् । पार्टीका अग्रज र वरिष्ठ नेताहरुलाई साथमा राखेर उनले आफ्नो टिमको उम्मेदवारी घोषणा गरेका हुन् ।
त्यस्तै उपसभापतिमा अशोक कुमार क्षेत्री र मधुसुदन गैरे, सचिवमा प्रकाश गैरे र शोभा राना मगर, सह–सचिवमा दिनेश कुँवर थारु र केशरी उपाध्यायले पनि उम्मेदवारी घोषणा गरेका हुन् ।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सभापतिका उम्मेदवार न्यौपानेले आफूले संगठनलाई चलायमान बनाउन उम्मेदवारी घोषणा गरेको बताए । उनले पार्टीभित्रको गुटबन्दीलाई अन्त्य गरी संगठनलाई अनुशासित रुपमा चलायमान बनाउने प्रतिवद्धता व्यक्त गरे । न्यौपानेले अग्रजलाई सम्मान र भातृ संगठनहरुलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे । उनले आफूहरु कुनै गुट–उपगुट नभई साझा उम्मेदवारी दिएको बताए ।
सो अवसरमा कांग्रेस रुपन्देहीका पूर्व जिल्ला सभापति रामचन्द्र ढकाल, बाबुराम राना, अष्ठभुजा पाठक, हेमराज अर्याल लगायले सफलताको शुभकामना दिएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij