२०८२, श्रावण १ गते

Jul 17 2025 | २०८२, श्रावण १ गते

रापप्रपा जिल्ला समायोजन घोषणा

वैकल्पिक शक्तिका रूपमा राप्रपाको उदय : अध्यक्षद्वय राणा र थापा

आइतवार , भाद्र २७, २०७८

भक्तपुर, २७ भदौ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई अध्यक्षले अब राप्रपा कहिल्यै नफुट्ने घोषणा गरेका छन् । भक्तपुरको कमलविनायकमा आज राप्रपा भक्तपुर जिल्ला समितिले आयोजना गरेको राप्रपा जिल्ला समायोजन घोषणासभामा केन्द्रीय अध्यक्षद्वय पशुपति शमशेर राणा र कमल थापाले कार्यकर्तामाझ अब पार्टी कहिल्यै नफुट्ने घोषणा गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष राणाले कांग्रेस र कम्युनिष्टको सरकारले देशका लागि केही गर्न नसकेको आरोप लगाउँदै भने, “कम्युनिष्टको दुईतिहाइ सरकार आन्तरिक विवादमै तीन टुक्रा भयो, अहिलेको गठबन्धन सरकारले दुई महिना बित्न लाग्दा पनि सरकारलाई पूर्णता दिन सकेको छैन, देशलाई ठूला दलले केही गर्न नसकेको भन्दै यतिखेर नेपाली जनताले वैकल्पिक शक्ति खोजिरहेको छ, जनताको शक्तिका रूपमा उदाउने अवसर राप्रपालाई आएको छ ।”

अध्यक्ष थापाले भने, “बहुदलीय व्यवस्था आएपछि यी दुई दलले शासन गर्दै आएका छन्, परिवर्तनका नाममा राष्ट्रिय पहिचान र धर्म संस्कृतिमाथि नै आँच आउने गरी धर्म निरपेक्ष घोषणा गरियो, त्यसैका आडमा अहिले सनातन धर्म, संस्कृतिमाथि आक्रमण भइरहेको छ, हिन्दू र बौद्ध धर्ममाथि प्रहार गर्दै लोभ, लालच, प्रलोभन देखाएर धर्म परिवर्तन गराइरहेका छन्, यसलाई जोगाउनु छ ।”

अहिले राष्ट्रियता कमजोर भएकाले विदेशी चलखेल बढेको भन्दै अध्यक्ष थापाले भने, “नेपाल अहिले विश्वकै शक्ति राष्ट्र चीन, अमेरिका, भारत, युरोप लगायतका देशको रणनीतिक योजनाको चपेटामा परेको छ, एमसीसी नेपाली जनताको हितमा भन्दा पनि बाह्य शक्तिको स्वार्थमा रहेको छ ।”
कार्यक्रममा राप्रपाका केन्द्रीय नेताहरु बुद्धिमान तामाङ, टंक ढकाल, विक्रम पाण्डे, दिनेश श्रेष्ठ, रवीन्द्रप्रताप शाह, युवती कार्की, रामहरि थापा, रामेश्वर थापा लगायतले राप्रपा एकताले नेतादेखि कार्यकर्तासम्म ऊर्जा थपेको बताए  । रासस