
बुधवार , भाद्र ३०, २०७८
बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस एमाले फुटाएकालाई प्रधानमन्त्री बनाउने अवस्थामा पुगेको आरोप लगाएका छन्। बुटवलमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमालेबाट बिग्रिएर गएकालाई प्रधानमन्त्री बनाउने अवस्थामा कांग्रेस पुगेको टिप्पणी गरे।
"हाम्रो पार्टीबाट बिग्रिएर कोही गए सरकार बनाइदिएर प्रधानमन्त्री खाइदेउ भन्ने अवस्थामा पुग्यो काङ्ग्रेस", ओलीले भने। भैरहवा विमानस्थल, तिलौराकोटको उत्खनन, शिद्धबाबा को सुरुङ मार्ग, लुम्बिनीको ध्यान केन्द्र सबै एमाले सरकारले बनाएकाले देश विकासका लागि एमालेको विकल्प कोही नभएको उनको दावी थियो। उनले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको पनि आलोचना गरे। परमादेशबाट प्रधानमन्त्री हुनु लोकतन्त्र नभएको ओलीको भनाई थियो।
"अदालतको परमादेशबाट प्रधानमन्त्री हुने लोकतन्त्र हो ? प्रधान न्यायाधीशले प्रधानमन्त्री तोक्ने कुरा लोकतन्त्र हो ?", प्रश्न गर्दै उनले भने। उनले अहिलेको सरकार आउने चुनावसम्म टिक्न मुस्किल हुने दाबी पनि गरे। तर, एमालेले चुनावसम्म अहिलेको सरकार टिकोस् भन्ने कामन गरेको ओलीको भनाई थियो।
"यो सरकार चुनावसम्म पुगोस,हाम्रो कामना हो। हामीले जनताको साथले जित्छौं। सरकारमा बस्नु पर्दैन। १४ महिना एमालेलाई होइन जनताका कष्टका दिन हुने भए", ओलीले भने। अरु नेताहरुको आलोचना गरेका ओलीले आफू निकट नेता विष्णु पौडेलको भने तारिफ गरे। "जनताका दुखमा विष्णु पौडेल लागि पर्छन्, भूकम्पमा घर भत्किँदा छानो ठोक्न आफै पुगेका थिए", ओलीले भने।
उनले देशको सार्वभौमसत्ता जोगाउनका लागि कम्युनिस्ट पार्टी चाहिने बताए। उनले कम्युनिस्ट पार्टी बाहेक अरु कसैले देशको हितमा काम नगर्ने पनि दाबी गरे। उनले एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई ध्वस्त पार्न खोजेको आरोप लगाए। आफूले अनेक अप्ठेरा सहेर पार्टी जोगाएको ओलीको भनाई थियो।
"यो पार्टी ध्वस्त पार्न खोजिएको थियो। प्रतिक्रियावादीको पाउमा चढाउन खोजिएको थियो", उनले भने। ओलीले मन्त्रिपरिषद दुई महिनासम्म पनि बिस्तार नहुँदा अहिलेको सरकार ओइलाएको टिप्पणी गरे।"अहिले सरकार ओइलाएजस्तो लरक्क परेको छ। दुई महिनासम्म मन्त्रिमण्डल बिस्तार गर्न सकेन", उनले भने। ओलीले तत्कालीन नेकपा नफुटेको बरु पुष्पकमल दाहाल प्रचण्ड पार्टीबाट निष्केको दाबी गरे।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij