२०८२, श्रावण २ गते

Jul 18 2025 | २०८२, श्रावण २ गते

पत्रकार चौहानको छोराछोरीलाई लुम्बिनीका मुख्यमन्त्री केसीले व्यवस्थापन गर्ने 

शनिवार , आश्विन २, २०७८

भैरहवा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले उपचारका क्रममा मृत्यु भएका पत्रकार बिन्दु कुमार चौहानका छोराछोरीको व्यवस्थापन गर्ने बताएका छन्।  

शनिबार परिवारलाई समवेदना दिन लुम्बिनी साँस्कृतिक नगरपालिका वार्ड नम्बर ११ मोगलहा चोक चौहान परिवारको निवासमा पुगेका मुख्यमन्त्री केसीले दयनीय आर्थिक अवस्था देखेपछि उनका छोराछोरीलाई व्यवस्थापन गर्ने बताएका हुन्। 

चार छोरा, तीन छोरी र श्रीमतीका अभिभावक चौहानको भदौ २९ गते उपचारको क्रममा भैरहवा स्थित मेडिकल कलेजमा निधन भएको थियो।चौहानको मृत्यु पछि उनको परिवार आर्थिक रुपमा बिचल्लीमा परेको छ। २०५५ सालबाट पत्रकारिता शुरु गरेका चौहान नेपालका विभिन्न मिडियामा निरन्तर काम गर्दै आएका थिए। उनी पुर्ण रुपमा श्रमजीवी थिए। जनयुद्धकालमा सुरक्षाकर्मीबाट समेत यातना झेलेका चौहान, निडर र साहसी पत्रकारका रुपमा कलम चलाउदै आएका थिए। 

निमोनियाका कारण स्वास्थ्यमा जटिल समस्या आएपछि सरकारी अस्पताल खोज्दै तौलिहवा अस्पताल हुदैं प्रादेशिक अस्पताल बुटवल पुर्याइएको थियो। प्रादेशिक अस्पताल बुटवलमा उनको स्वास्थ्य अवस्था गम्भीर भएको थाहा पाएपछि नेपाल पत्रकार महासंघ रुपन्देही शाखा, लुम्बिनी प्रेस क्लब र प्रेस संगठन नेपालको पहलमा सुविधा सम्पन्न अस्पताल मेडिकल कलेज भैरहवामा उपचारका लागि लगिएको थियो। 

तर उनको स्वास्थ्य अवस्था निकै जटिल भएका कारण अस्पतालमा भर्ना भएर उपचार शुरु भएको दुई दिनपछि २९ भदौमा मृत्यु भएको थियो। आर्थिक अभावका कारण सुबिधा सम्पन्न निजि अस्पतालमा उपचार गर्नको लागि लैजान नसकेको परिवारले सरकारी अस्पताल खोज्दा खोज्दै समयमा उचित उपचार नपाएर पत्रकार चौहानको निधन भएको परिवारले दुखेसो गर्दै आएका छन्। 

आफ्नो पत्रकारिताको जीवनभर निस्वार्थ सेवामा लागिरहका चौहान आफ्नो व्यक्तिगत रुपमा भने आर्थिक उन्नति गर्न सकेका थिएनन्। माओवादी नेता पम्पा भुसाल संगसंगै काम समेत गरेका चौहानलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समेत नजिकबाट चिन्दछन्। ४९ वर्षीय चौहानको निधनसंगै उनको परिवारले आर्थिक झमेला व्यहोरिरहेको छ।