
मंगलवार , आश्विन ५, २०७८
बुटवल । नेकपा एमाले बुटवल उपमहानगर कमिटिले ज्योतिनगर क्षेत्रको पहिरो नियन्त्रण र व्यवस्थापनमा चासो देखाउन संघ र प्रदेश सरकारसँग माग गरेको छ। बुटवलमा पत्रकार सम्मेलन गर्दै एमाले बुटवल उपमहानगर कमिटिले पहिरोग्रस्त क्षेत्रको जोखिम स्थानीय सरकारको ग्रीपबाट बाहिर गएकोले संघ र प्रदेश सरकारले चासो देखाउनुपर्ने बताएको हो।
"ज्योतिनगरको पहिरो स्थानीय सरकारको नियन्त्रण भन्दा बाहिर गयो, स्थानीय सरकारले मात्रै पहिरो नियन्त्रण गर्न र राहत दिन सक्दैन, संघ र प्रदेश सरकारको ध्यान जानुपर्छ, यसको व्यवस्थापनमा अर्बौ रकम खर्च हुने अवस्था आईसकेको छ।" बुटवल उपमहानगर कमिटिका अध्यक्ष बाबुराम पन्थीले भने, "बुटवलमा एमाले नेतृत्वको सरकार छ, स्थानीय सरकार गम्भीर छ, पार्टी पनि गम्भीर छ, हामी स्वयम्सेवक परिचालन गर्न तयार छौ।"
संघ र प्रदेश सरकारका योजनामा समेत बुटवल उपमहानगरको आलोचना हुने गरेकोमा असन्तुष्टि जनाउँदै उनले भने, "जुन सरकार अन्तरगतका योजना हुन्, ती सरकारलाई नै जवाफदेही बनाउनु जरूरी छ, यसमा मिडियाले समेत गम्भीर चासो देओस्।" उनले सोमबार ज्योतिनगर पहिरोले क्षति नपुराओस् भनेर सावधानी अपनाउन र सुरक्षित बनाउन अवलोकन गर्न गएको बुटवल उपमहानगरपालिका प्रमुखसहितमाथि भएको आक्रमणको आलोचना गरे।उनले आक्रमण गर्ने व्यक्तिविरूद्ध मुद्दा नचलाउने बताए।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij