images

मंगलवार, बैशाख २५ गते २०८१

खुले रुपन्देहीका अधिकांश शैक्षिक संस्था, जोखिमको त्रासमा अभिभावक

खुले रुपन्देहीका अधिकांश शैक्षिक संस्था, जोखिमको त्रासमा अभिभावक

images
images
images
बिहिवार, आश्विन ७ २०७८
बिहिवार, आश्विन ७ २०७८
  • खुले रुपन्देहीका अधिकांश शैक्षिक संस्था, जोखिमको त्रासमा अभिभावक

    बुटवल, ७ असोज । कोरोना भाइरस संक्रमण फैलिएदेखि नै बन्द भएका शैक्षिक संस्थाहरु पछिल्लो समय खुल्न थालेका छन् । दोस्रो लहरको कोरोना महामारीमा ५ महिना बढी बन्द रहेका शैक्षिक संस्थाहरु आंशिकदेखि पूर्ण रुपमा खुल्न थालेका हुन् । २०७८ वैशाखमा कोरोनाको महामारी र जोखिम बढी भएको भन्दै सरकारले लागू गरेको लकडाउन (बन्दाबन्दी÷निषेधाज्ञा) संगै शैक्षिक संस्थाहरु पनि बन्द रहेका थिए । कोरोनाको जोखिम कम भएका क्षेत्रमा नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालयले आफ्नो अधिकार अनुसार निर्देशन दिँदै आएको छ । 

    images
    images
    images

    पछिल्लो करिब १ महिनाको तथ्यांक हेर्दा रुपन्देहीमा कोरोनाको जोखिम कम भएकाले जिल्ला प्रशासन कार्यालय रुपन्देहीले कोरोना संक्रमणको जोखिमको अवस्थालाई मध्यनजर गरी जोखिम कम भएका स्थानीय तहलाई विद्यालय सञ्चालन गर्न अनुमति दिएको हो । जिल्ला प्रशासनले १६ वटै स्थानीय तहरुलाई कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गरी पूर्ण स्वास्थ्य मापदण्ड अपनाएर जोखिम कम भएका स्थानीय तहलाई विद्यालय सञ्चालन गर्न अनुमति दिएको सहायक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए । पौडेलले भने ‘स्थानीय तहले जोखिमको अवस्था कम भएको भए स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न पाउँछन् ।’

    जिल्लाको सबैभन्दा ठुलो पालिका बुटवल उपमहानगरपालिकाले पनि नगरभित्रका सबै विद्यालयहरुलाई निर्मलीकरण गरी सञ्चालना ल्याएको जनाएको छ ।  असोज ४ गतेदेखि निर्मलीकरण सकेर यथाशिघ्र विद्यालय सञ्चालन गर्नको लागि आग्रह गरिएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता राम प्रसाद रेग्मी बताउँछन् । बुटवलमा विद्यालय र विद्यार्थीहरुको संख्या धेरै रहेकाले विद्यालयहरुलाई सिफ्ट अनुसार पठनपाठन गराउने व्यवस्था मिलाउन पनि भनिएको प्रवक्ता रेग्मीले बताए । उपमहानगरपालिकाले तोकेको सबै मापदण्ड पूरा गरे नगरेको अनुगमन गरेपछि मात्रै विद्यालय सञ्चालन गर्न दिइने बताउँदै मापदण्ड पालना भए नभएको अनुगमन समेत हुने उनको भनाइ छ । नगरको निर्देशनसंगै केही विद्यालयहरु सञ्चालनमा समेत आइसकेका छन् ।

    जिल्ला प्रशासनले विद्यालय सञ्चालन गर्नका लागि अनुमति दिएसँगै केही स्थानीय तहले विद्यालय सञ्चालन गर्न अनुमति दिइसकेका छन् । देवदह नगरपालिकाका विद्यालय भदौ २७ गतेदेखि नै सञ्चालनमा आइसकेका छन् भने तिलोत्तमा नगरपालिकाका विद्यालयहरु पनि असोज ४ गतेदेखि नै सञ्चालनमा ल्याइसकेका छन् । सैनामैना र सिद्धार्थनगरका विद्यालय पनि फाट्टफुट्ट सञ्चालन हुन थालेका छन् । 

    जिल्लाका दक्षिणी क्षेत्रको पालिका मर्चवारी गाउँपालिका विद्यालय पनि भदौ ३० गतेदेखि नै शैक्षिक संस्थाहरु सञ्चालनमा आइसकेका छन् । गाउँपालिकाले सिफ्ट अनुसार कक्षा सञ्चालनको व्यवस्था मिलाएको जनाएको छ । कक्षा ६ देखि १० सम्मका विद्यालय बिहान ७ बजेदेखि ११ बजेसम्म र अन्य कक्षाको पठनपाठन १ बजेदेखि ५ बजेसम्म सञ्चालन गर्ने गरी अनुमति गाउँपालिकाले दिएको जनाइएको छ । जिल्लाका अन्य स्थानीय तहहरुमा पनि कोरोना संक्रमणको जोखिमको अवस्थालाई ध्यानमा राखेर विद्यालय सञ्चालन गर्न दिने तयारीमा रहेका छन् । 

    त्रासमै छन् अभिभावक

    स्थानीय एवं संघीय सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरे पनि विद्यालयमा जान विद्यार्थी भने त्रसित छन् । यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नै नेपालमा कोरोना भाइरसको तेस्रो लहर आउने र त्यसले बालबालिकालाई बढी प्रभावित गर्ने आकलन गरिसकेको छ । लामो समयसम्म घरमै बसी अनलाइन कक्षा लिइरहेका विद्यार्थीलाई विद्यालय जाँदा रमाइलो महसुस त भएको छ तर कोरोना यथावत् रहेकाले त्रसित वातावरणमा विद्यालय जानुपर्ने बाध्यता उत्पन्न भएको छ ।

    ‘सानो बच्चा छ, यदी कोरोनाबाट संक्रमण भइयो भने के गर्ने भन्ने चिन्ताले अभिभावकहरुलाई सताउने गरेको छ । हाटबजारमा ठेलामा लत्ताकपडा बेच्ने मञ्जु पौडेलकोमा दैनिक सयौ व्यक्तिहरु आउनेजाने गरेको र आफुले खोप लगाउन नपाएको गुनासो गर्छिन् । आफूसमेत जोखिममा रहेका बेला सानो बालकलाई विद्यालय लैजान थालेपछि चिन्ताले थप सताउन थालेको छ । उनको छोरी बुटवलको नबिन औद्योगिक कदरबहादुर रिता माध्यमिक बिद्यालयमा अध्ययनरत छिन् भने सानो छोरा गार्गी एकेडेमी बुटवलमा । विद्यालयमा आउँदा जाँदा वा त्यस्तैबाट कोरोनाबाट जोखिम बढ्ने त्रास रहेको उनले बताउँछिन् । यस्ता कयौं अभिभावक, विद्यार्थी नियमित विद्यालय सञ्चालनमा आएपछि कोरोना सर्ने डरले विद्यालय जाने वा नजाने भन्ने अन्योलमा छन् ।

    पहिलो लहरको कोरोना संक्रमणका कारण करिब ९ महिना भौतिक रुपमा पठनपाठन बन्द भएको थियो । सरकारले २०७६ चैत ११ गतेदेखि देशव्यापी लकडाउन गरेसँगै विद्यालय पूर्ण रुपमा बन्द भएका थिए । जोखिम कम भएपछि मंसिरको द्रोसो हप्तादेखि भौतिक रुपमा विद्यालय सञ्चालनमा आएका थियो । विद्यालय सञ्चालन भएको ४ महिनामै कोरोनाको द्रोसो लहर सुरु भए पछि विद्यालय बन्द भएका थिए ।

    शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका अनुसार आर्थिक वर्ष २०७६/७७ मा बालविकासदेखि कक्षा १२ सम्म सामुदायिक र संस्थागत विद्यालयमा गरी २ लाख ८९ हजार ७ सय १४ विद्यार्थीहरु रहेका छन् । लामो समयसम्मको कोरोना महामारीका कारण जिल्लामा विद्यार्थीको संख्या एकिन गर्न कठिनाइ भएको कार्यालयले जनाएको छ ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij