
आइतवार , आश्विन १०, २०७८
भैरहवा, १० असोज ।
अन्तर्राष्ट्रिय शान्ति दिवसको अवसरमा लुम्बिनी प्रदेश स्काउटले बुद्ध जन्मस्थल लुम्बिनी मा आयोजित साइकल र्याली कार्यक्रम सम्पन्न गरेको छ । शान्तिको मुहान, बुद्धत्वको विकास भएको स्थल लुम्बिनीबाट विश्व शान्ति र वातावरणमैत्री मानव क्रियाकलापको सन्देश दिने भन्दै साइकल र्याली गरिएको लुम्बिनी प्रदेश स्काउटले जनाएको छ ।
लुम्बिनी प्रवेशको मुख्यद्वारबाट साइकल र्याली सुरु गरी विभिन्न स्थानको परिक्रमा गरिएको थियो । र्याली लुम्बिनीका पर्सा चोक–बसपार्क–शान्तिदिप हुँदै मायादेवी मन्दिर परिसर म्म पुगेको थियो । त्यहाँ संक्षिप्त कार्यक्रमको आयोजना गरी र्याली समापन गरिएको थियो । उक्त कार्यक्रममा बोल्दै स्काउट प्रदेश संयोजक दिनानाथ भट्टराईले विश्वभर शान्तिको सन्देश छर्ने लुम्बिनीबाट स्काउट अभियानको सन्देश फैलाउन र शान्तिको सन्देश दिन साइकल र्यालीको आयोजना गरिएको बताए । लुम्बिनी विश्व शान्तिको मुहानको रुपमा विश्वलाई नै शान्तिको सन्देश दिइरहेका र बुद्धका सन्देशलाई सबैले पालना गर्न जरुरी रहेको उल्लेख गर्दै संयोजक भट्टराईले लुम्बिनीको सरसफाईमा पनि विशेष ध्यान दिन उक्त कार्यक्रमको आयोजना गरिएको बताए ।
विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीले विश्व शान्ति प्रवद्र्धन गर्न महत्वपूर्ण खेलेको र यो नेपालिको मात्र नभइ सारा विश्वको गौरवको प्रतीक मानिन्छ । अहिले लुम्बिनी गुरुयोजना पूरा हुने चरणमा रहेको छ । लुम्बिनीलाई केन्द्रमा राखेर यस क्षेत्रको समग्र पर्यटन विकासका काम भइरहेका छन् । लुम्बिनीको सन्देश प्रवाह गर्न, शान्तिो प्रेरणा लिन र सरसफाईमा सचेतना जगाउन स्काउटले यस क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।
यसअघि नेपाल स्काउटले लुम्बिनी केन्द्रित विशेष सरसफाई कार्यक्रम गरेको र उक्त कार्यक्रमकै अर्को सिलसिलाका रुपमा साइकल र्याली गरिएको स्काउटका प्रदेश अधिकृत तारा पुरीले जानकारी दिए । साइकल र्यालीमा १ सय ५० वटा साइकल सहभागी थिए । लुम्बिनीमा सरसफाई लगायतका कार्यक्रमलार्य यसपटक पनि निरन्तरता दिइएको प्रदेश स्काउटका अधिकृत पुरीको भनाइ छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij