
मंगलवार , आश्विन १२, २०७८
भैरहवा, १२ असोज ।
विगत १० दिनदेखि नगरबाट फोहर उठ्न नसकेपछि नेपाली कांग्रेस सिद्धार्थनगर, समितिले फोहर व्यवस्थापन गर्न माग गर्दै सिद्धार्थनगर नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । फोहोरका कारण नगरमा दुर्गन्ध फैलिएको तत्काल फोहरमैला व्यवस्थापनको माग गर्दै ज्ञापनपत्र बुझाएको छ ।
नेपाली कांग्रेस सिद्धार्थनगरको नवनिर्वाचित सभापति कोशिष बहादुर खड्काले नगर उपप्रमुख उमा काफ्लेलाई ज्ञापनपत्र बुझाउँदै तीन दिनभित्र नगरको फोहोर नउठे त्यसबाट उत्पन्न हुने परिस्थतिबाट नगरपालिका जिम्मेवार हुने चेतावनी दिए ।
कोभिड–१९ का कारण समस्यामा परेका नगरवासी फोहोरको दुर्गन्धले झनै समस्यामा परेको भन्दै सभापति खड्काले फोहोरको दिर्घकालीन व्यवस्थाका लागि नगरपालिका लाग्नुपर्नेमा जोड दिए ।
ज्ञापनपत्र बुझाउन नेपाली कांग्रेस सिद्धार्थनगरको नवनिर्वाचित टिमसहित नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
ज्ञापनपत्र बुझाउनका लागि नगरप्रमुख हरिप्रसाद अधिकारीसंग समय लिएको भए पनि सयम नदिइ बाहिर गएको भन्दै नगरप्रमुखको कार्यकक्ष बाहिर कांग्रेस नेता कार्यकर्ताहरुले केही समय नाराबाजी समेत गरेका थिए । ज्ञापनपत्र बुझ्दै नगर उपप्रमुख काफ्लेले फोहर व्यवस्थापनबारे सहमति भइसकेको बताइन् । उनले फोहोरको विषयमा राजनीति गर्न नहुने भन्दै यस्ता समस्यालाई सबै मिलेर समाधान गर्नुपर्नेमा जोड दिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij